Edukhabar
शनिबार, १६ साउन २०८३
अन्तैवाट

सम्बन्धन नलिई विद्यार्थी भर्ना -

मंगलबार, २७ भदौ २०७४

काठमाडौं २७ भदौ / चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्स मध्यपुर थिमिले शैक्षिक सत्र २०७४/०७५ का लागि प्रमाणपत्र तह नर्सिङ कार्यक्रम सञ्चालन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँग सम्बन्धन, स्वीकृति नै नलिई विद्यार्थी भर्ना गरेको छ ।

चक्रवर्तीले अवैधानिक रूपमा एकै दिनमा ३७ विद्यार्थी भर्ना गरी ९२ लाख ५० हजार संकलन गरेको छ ।

सम्बन्धन तथा स्वीकृत नलिए पनि आइतबार नै पत्रिकामा एक दिने सूचना प्रकाशित गरी तीनवर्षे प्रमाणपत्र तह नर्सिङमा प्रतिविद्यार्थी २ लाख ५० हजार अग्रिम शुल्क लिई भर्ना गराएको हो । ‘एक दिनका लागि मात्र भर्ना खोलेको हो,’ कलेजका लेखा शाखाका विक्रम देउजाले भने, ‘१ सय ३७ विद्यार्थीको आवेदन परेकोमा आइतबार ३७ विद्यार्थी भर्ना भइसके ।’

तीनवटा सिट छात्रवृत्तिका लागि राखिएको उनले बताए । सीटीईभीटीसँग अनुमति नै नलिई कुन आधारमा भर्ना गरिएको भन्ने प्रश्नमा उनले यसबारे आफूलाई थाहा नभएको तर दुई वर्षदेखि अदालतको अन्तरिम आदेशबमोजिम विद्यार्थीलाई परीक्षामा सहभागी गराउने गरेको जनाए । यस वर्ष पनि सीटीईभीटीविरुद्ध अदालत जाने तयारी भएको समेत उनी बताउँछन् ।

यता सीटीईभीटीले भने चक्रवर्तीलाई विद्यार्थी भर्ना गर्न स्वीकृति प्रदान नगरेको र नवीकरणसमेत नगरेको जनाएको छ । सम्बन्धन तथा नवीकरण स्वीकृति नै नगरी सञ्चालन गरिएको कलेजमा विद्यार्थीलाई भर्ना नगर्न सूचना जारी गरेको समेत सीटीईभीटीका सदस्यसचिव पुष्परमण वाग्लेले बताए । विद्यार्थी भर्ना भए त्यसको जिम्मेवार सीटीईभीटी नहुने बताउँदै वाग्लेले भने, ‘विगत दुई वर्ष कलेजले अदालतको आडमा विद्यार्थी भर्ना गराए पनि यस वर्ष कलेज खारेजको विकल्प छैन ।’ कलेजले दुई वर्षयता अवैधानिक रूपमा विद्यार्थी भर्ना गर्ने र अदालतको अन्तरिम आदेशको आडमा सीटीईभीटीमा विद्यार्थीको रजिस्ट्रेन दर्ता गराउने गर्दै आएको छ ।

नर्सिङ कलेजले सम्बन्धन तथा नवीकरणका प्रक्रिया अघि नबढाएको र पटक–पटक विद्यार्थीको प्रयोगात्मक अभ्यासका लागि अस्पताल कहाँ छ भन्दा अस्पताल देखाउन नसकेको सीटीईभीटीले जनाएको छ । सीटीईभीटीको प्रक्रियाबिना कलेज सञ्चालन गर्दा विद्यार्थीको भविष्य अन्योलमा पर्ने बताउँदै सदस्यसचिव वाग्लेले कलेजलाई प्रक्रियामा आउन पत्राचार गरेको भए पनि बेवास्ता गर्दै अवैधानिक रूपमा विद्यार्थी भर्ना गरेको बताए ।

विद्यार्थीको भविष्यलाई ध्यानमा राखेर विगतमा अदालतको अन्तरिम आदेशलाई मानेर सीटीईभीटीले रजिस्ट्रेसन गरिएको र यस वर्ष भने ऐन मिच्ने, एक सय शय्याको अस्पतालमा प्रयोगात्मक अभ्यासका लागि सम्झौता नभएको, पूर्वाधार नपुगेको र नवीकरण नगरेको कलेजको विद्यार्थीको रजिस्ट्रेसन नगर्ने जनाएको छ । चक्रवर्तीले झूटो सूचना जारी गरेर जनमानसमा भ्रम फैलाउँदै विद्यार्थीलाई ठगी गरेको सीटीईभीटी स्तर निर्धारण महाशाखाका निर्देशक जीवनारायण काफ्लेले बताए ।

प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने कलेजका प्रबन्ध निर्देशक दिनेशकुमार सिंहलाई बोलाएर कलेज सञ्चालनका लागि सम्बन्धन तथा नवीकरण स्वीकृति नलिई सञ्चालन गर्नुको कारणसहित प्रतिवेदन विवरण पेस गर्न निर्देशन दिएका छन् । कलेजलाई स्पष्टीकरणसहित तत्काल सीटीईभीटीमा प्रक्रियाबमोजिम स्वीकृति लिनसमेत निर्देशन दिएको पोखरेलले बताए ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया