Edukhabar
मंगलबार, १० भदौ २०८२
अन्तैवाट

त्रिवि सेवा आयोगले ६ वर्षदेखि टुंग्याउन सकेन स्थायी र बढुवा प्रक्रिया

विहीबार, २९ भदौ २०७४

काठमाडौं २९ भदौ /०६२ सालका गणितका ‘गोल्ड मेडलिस्ट’ नवराज अधिकारीले ०६९ सालमा त्रिभुवन विश्वविद्यालयमा उपप्राध्यापक पदमा आवेदन भरे । ०७२ सालमा लिखित परीक्षा भयो । उनी उत्तीर्ण पनि भए । तर, अहिलेसम्म अन्तर्वार्ता नहुँदा छटपटिएका छन् ।

लामो समय आंशिक शिक्षकका रूपमा काम गरेका अधिकारी त्रिविमा विज्ञापन भएपछि स्थायी हुने आशामा थिए । अहिले निराश बनेका छन् । ‘लामो समय त्रिविमै पढाइयो,’ अधिकारीले भने, ‘त्रिविको लाचारीले अब के गर्ने भन्ने अन्योल भएको छ, केही व्यक्तिको स्वार्थले हामीले पीडा खेप्नुपरेको छ ।’ अहिले त्रिविमा लिखित परीक्षा उत्तीर्ण गरेको वर्ष दिनसम्म पनि अन्तर्वार्ता नहुने र अन्तर्वार्तामा समेत उत्तीर्ण भएका सयौँ प्रतिस्पर्धी यस्तै छटपटीमा छन् । अंग्रेजीलगायत विषयमा आयोगबाट उपप्राध्यापकमा सिफारिस भएकालाई आचारसंहिताको कारण देखाएर नियुक्ति दिएको छैन ।

विभिन्न विवादका कारण रोकिएको उपप्राध्यापकको भर्नाप्रक्रिया अहिले त्रिवि सेवा आयोग सदस्य नियुक्त नहँुदा अस्तव्यस्त बनेको छ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको बेवस्ताका कारण सयौँ व्यक्ति पीडामा छन् । सदस्य नियुक्ति सिफारिस शिक्षामन्त्रीले गर्नुपर्छ । तर, शिक्षामन्त्री गोपालमान श्रेष्ठले सिफारिस गर्न सकेका छैनन् । आयोग सदस्यको पद ४ असारदेखि रिक्त छ ।

शिक्षामन्त्री निरीह
आयोग सदस्य सिफारिस समितिका संयोजक शिक्षामन्त्री गोपालमान श्रेष्ठ हुन् । उनले सदस्य पद रिक्त हुनेबित्तिकै सर्च कमिटीसमेत बनाइसकेका छन् । तर, प्रधानमन्त्रीका कारण उनी निरीह बनेका छन् । शनिबार बिपी कोइराला लायन्स आइ सेन्टरको वार्षिकोत्सव कार्यक्रममा गठबन्धन सरकारका कारण सरकार अप्ठ्यारोमा परेको बताएका थिए । सिफारिसलाई प्रधानमन्त्रीबाट केही समय पर्खन भनेको बताएका थिए । सदस्यमा कांग्रेस, माओवादी तथा मधेसीबाट आफ्नो भागमा आनुपर्ने दबाब दिएका कारण शिक्षामन्त्रीले सिफारिस गर्न नसकेका हुन् । उनले आफ्नो प्रयास जारी रहेको बताए ।

शिक्षक आक्रोशित
त्रिविमा सेवा प्रवेशका लागि अयोगको परीक्षा दिइसकेका सयौँ उपप्राध्यापक नियुक्ति नभएको र काम ठप्प भएपछि विश्वविद्यालयभित्रका प्राध्यापक आक्रोशित भएका छन् ।

आयोगको परीक्षा उत्तीर्ण गरेका गणित र अंगे्रजी विषयका उपप्रध्यापक आयोगको सदस्य कहिले आउला र अन्तर्वार्ता दिन जाउँला भनी दिन गनिरहेको प्रतिस्पर्धी शिक्षक बताउँछन् । ०७३ साउनमा लिखितको नतिजा आएपछि कतिपयको अन्तर्वार्ता भएको छैन भने कतिपयले अन्तर्वार्ता उत्तीर्ण भए पनि नियुक्ति पाउन सकेका छैनन् । एक वर्षअघि उपप्राध्यापकको लिखित परीक्षामा उत्तीर्ण भएका म्याथम्याटिक्सका शिक्षक जीवन काफ्ले भन्छन, ‘एकदमै अन्योल भएको छ, कुराइको पनि पीडाबोध भएको छ, फ्रस्टेसन भएको छ ।’

ठूलो प्राज्ञिक क्षति भइरहेको छ : अध्यक्ष शर्मा
त्रिवि सेवा आयोगका अध्यक्ष चैतन्य शर्माले आयोग सदस्य नहुँदा सबै काम ठप्प भएको बताए । उपप्राध्यापकको अन्तर्वार्तादेखि प्राध्यापकका वृत्ति विकासमा समेत असर परेको उनले बताए । ‘प्राविधिक विषयमा कतिपयको कतिपयले स्थायी हुने सुनिश्चितता नहुँदा र बढुवा नहुने भएपछि बिदेसिनसमेत थालेका छन्,’ अध्यक्ष शर्माले भने, ‘सरकार विस्तारलगाय काम गर्न आचारसंहिता लाग्दैन तर प्राज्ञिक थलोमा बेवास्ता गर्नु ठूलो क्षति हो ।’ कर्मचारीको विज्ञापन गरेको परीक्षा र प्राध्यापकमा बढुवाका लागि अन्तर्वार्ता लिन नपाउ“दा कतिपय बढुवा नपाएरै अवकाश पाउने अवस्थामा पुगेका छन् ।नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेको खबर ।
 

 

प्रतिक्रिया