काठमाडौं ३१ भदौ /आमसञ्चार र पत्रकारितामा नेपालमा यसै शैक्षिक वर्षदेखि दर्शनाचार्य अर्थात् मास्टर अफ फिलोसोफी (एमफिल) अध्ययन सुरु भएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को आमसञ्चार र पत्रकारिता केन्द्रीय विभागअन्तर्गत २४ विद्यार्थीको भर्ना प्रक्रिया पूरा गरी नयाँ कार्यक्रम आरम्भ गरिएको विभागका प्रमुख प्रा. चिरञ्जीवी खनालले जानकारी दिनुभयो ।
आमसञ्चार र पत्रकारितामा एमफिलको अध्ययन नेपालमै नयाँ सुरुवात हो । विभागका अनुसार सेमेस्टर प्रणालीअन्तर्गत रहेको त्यस कार्यक्रम डेढ वर्षको हुनेछ । छ÷छ महिनाका दुई सेमेस्टरमा सैद्धान्तिक र व्यावहारिक कार्यभारी आठ विषयको पाठ्यक्रम रहेको छ भने तेस्रो छ महिनामा शोधग्रन्थ तयार गर्नुपर्ने छ ।
नयाँ शैक्षिक कार्यक्रमबारे शुक्रबार विभागमा आयोजित अभिमुखीकरण कार्यक्रममा प्रा. खनालले नेपालमा मिडियाको विस्तार सुखद भए पनि प्राज्ञिक अध्ययन अध्यापनको अभाव रहेको त्यसलाई नयाँ कार्यक्रमले सुधार ल्याउनेछ भन्नुभयो । ‘अरू विधाको तुलनामा मिडियाको प्राज्ञिक अनुसन्धानात्मक कार्यमा कमी थियो, मिडिया क्षेत्रमा लामो अभ्यास र अनुभव भएकाहरूकै नयाँ कार्यक्रममा उत्साहजनक सहभागिता रहेकाले यस क्षेत्रलाई नयाँ प्राज्ञिक उर्जा दिनेछ,’ उहाँको विश्वास छ ।
त्यस अवसरमा सहप्राध्यापक प्रवलराज पोखरेलले उच्च अध्ययनलाई ज्ञान उत्पादन गर्ने प्रक्रियाका रूपमा अगाडि बढाउनु जरुरी भएको बताउनुभयो । एमफिल कार्यक्रमका लागि नेपाली मिडिया र सञ्चारका विविध क्षेत्रमा क्रियाशीलहरू नै विद्यार्थीका रूपमा सहभागी रहेको पाइएको छ । त्यस कार्यक्रममा मिडिया अध्ययनलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय समकक्षी कार्यक्रमहरूसँग सहकार्य गर्दै एमफिलको शैक्षिक क्रियाकलाप अगाडि बढाउन विभागलाई सघाउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।
वित्रिले आमसञ्चार र पत्रकारितामा विसं २०३३ सालमा प्रमाणपत्र, २०४१ सालमा स्नातक र २०५८ सालमा स्नातकोत्तर कार्यक्रम आरम्भ गरेको थियो । पूर्वाञ्चल विश्वविद्यालयले स्नातक र स्नातकोत्तरका साथै काठमाडौँ विश्वविद्यालयले पनि स्नातक तहमा मिडिया अध्यन कार्यक्रम अगाडि बढाइरहेको छ ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया