काठमाडौं २ असोज /त्रिभुवन विश्वविद्यालय सेवा आयोगको सदस्यमा कांग्रेस र माओवादीको भागबन्डा नमिल्दा तीन महिनादेखि सम्पूर्ण काम ठप्प भएको छ ।
कर्मचारी तथा शिक्षकको परीक्षा लिने, सिफारिस गर्ने र बढुवा गर्ने अधिकार हुने भएकाले सत्तापक्ष कांग्रेस र माओवादीबीच भागबन्डा नमिलेको हो । यसको असर कक्षामा समेत परेको छ । यसअघिका सदस्य केदार घिमिरेको असार ३ मा समयावधि सकिएपछि आयोगमा दैनिक कामसमेत हुन सकेको छैन ।
आयोगको परीक्षा हेर्ने सदस्य नियुक्त नभएपछि विभिन्न समयमा सञ्चालन भएको उपप्राध्यापकको लिखित तथा अन्तर्वार्ताको नतिजा प्रकाशन हुन सकेको छैन । त्यस्तै लिखित परीक्षा पास भएर अन्तर्वार्ता कुर्ने पनि धेरै छन् । अर्कोतिर लिखित तथा अन्तर्वार्ता उत्तीर्ण गरेर नियुक्ति नपाएकाहरू पनि छन् ।
त्रिवि गणित विभागमा कार्यरत गंगा जीसीले ०७३ साउनमा लिखित पास गरे पनि अहिलेसम्म अन्तर्वार्ता नलिइएको बताए । ‘अन्तर्वार्ता आज होला, भोलि होला भनेर कुर्दाकुर्दै थाकिसक्यौं,’ उनले भने । सदस्य नियुक्तिका लागि शिक्षकहरूले शिक्षामन्त्री र प्रधानमन्त्रीलाई समेत गुहारिसके ।
आयोगले ०७१ मा विज्ञापन गरेर ०७२ चैतमा परीक्षा लिएको थियो । ०७३ असारमा नतिजा आयो । ‘तर, अन्तर्वार्ता भएन,’ गणित शिक्षक जीवन काफ्लेले भने । अंग्रेजी विषयको गत पुसमा भएको अन्तर्वार्ताको नतिजा प्रकाशन भएको महिनौं बिते पनि सफल शिक्षकहरूले नियुक्ति पत्र पाउन सकेका छैनन् ।
नतिजामा चित्त नबुझेर केही उम्मेदवारले सर्वोच्चमा मुद्दा दायर गरेका थिए । त्यसमा सुनुवाइ गर्दै सर्वोच्चले पुन: नतिजा प्रकाशन गर्ने आदेश दिए पनि सदस्य नभएका कारण प्रक्रिया अगाडि बढ्न सकेको छैन । आयोगका अध्यक्ष चैतन्य शर्माले सदस्य नहुँदा सबै काम ठप्प भएको बताए । शिक्षकतर्फ सहप्रशिक्षकदेखि प्रोफेसरसम्म र कार्यालय सहयोगीदेखि प्रशासकसम्मको सम्पूर्ण काम रोकिएको उनले बताए । आयोगमा अध्यक्ष, लोकसेवा आयोगका प्रतिनिधि र मनोनीत एक गरी तीन सदस्य हुन्छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया