काठमाडौं ३ असोज / स्थानीयले चन्दा संकलन गरेर विद्यालय धानेका छन् ।
नौबहिनी गाउँपालिका ५ डाम्रीको नेपाल राष्ट्रिय मावि स्थानीयकै सहयोगमा चलेको छ । कक्षा कोठा, विद्यार्थी अनुपातमा शिक्षक दरबन्दी नभएपछि स्थानीयले चन्दा उठाएर विद्यालय धानेको प्रअ नरबहादुर घर्तीले बताए ।
‘अभिभावकले अहिलेसम्म २१ लाख रुपैयाँ चन्दा दिइसकेका छन्,’ घर्तीले भने, ‘मावि चलाउन सबै निजी शिक्षक राखेका छौं ।’ उनले निमावि र प्राविमा २/२ जना राहत र ४ प्राविका अस्थायी दरबन्दी शिक्षकलाई मात्र जिल्ला शिक्षाले तलब दिने बताए । शिक्षक र कक्षा कोठा नभएकाले एउटा कोठामा १ सय ५५ सम्म विद्यार्थी कोचेर राख्न परेको बताए । उनका अनुसार कक्षा एकमा १ सय ५५, दुईमा ९०, तीनमा ८० र चारमा ६५ जना विद्यार्थीलाई एकै ठाउँमा राखेर पठनपाठन गराउने गरिएको छ ।
अभिभावकबाट बर्सेनि चन्दा उठाएर विद्यालय सञ्चालन गर्ने समस्या परेको व्यवस्थापन समिति अध्यक्ष दलराज पुनले बताए । ‘जिल्ला शिक्षामा धेरैपटक कुरा राखेका छांै,’ अध्यक्ष पुनले भने, ‘हाम्रो सुनुवाइ अझैसम्म भएको छैन ।’
चन्दा दातालाई सम्मानसहित जिल्ला शिक्षा अधिकारीलाई विद्यालया अवलोकन गर्ने कार्यक्रम गरेर ध्यानाकर्षण गराएको पुनले बताए । विद्यालयलाई एक जनाले १ लाख १४ हजार रुपैयाँसम्म चन्दा दिएका छन् । स्थानीय दिलराम थापाले १ लाख १४ हजार दिएको अध्यक्ष पुनले सुनाए ।
२०६९ सालमा स्थापना भएको विद्यालयमा अहिलेसम्मा माविको दरबन्दी नभएको विद्यालय परिवारले जनाएको छ । विद्यालयमा ६ सय ३३ विद्यार्थी अध्यनरत छन् । प्रावि दरबन्दीका शिक्षकले प्रअ धानेका छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया