काठमाडौं ३ असोज / विद्यालय आउने किशोरी कक्षा कोठामै बेहोस हुने क्रम बढेपछि पठनपाठनमै समस्या हुन थालेको छ ।
पछिल्लो समय गुराँस गाउँपालिका ३ स्थित सेरी माविमा यो समस्या देखिएको हो । गाउँपालिकाकै सरस्वती माविमा पनि समस्या पटकपटक हुने गरेको छ । किशोरी बेहोस हुने क्रम नरोकिएपछि विद्यालयहरूमा पढाइ नै प्रभावित भएको शिक्षकहरू बताउँछन् ।
स्कुल पढ्न आएका किशोरी एक्कासि बेहोस भएर ढल्छन् । एक जना बेहोस हुनेबित्तिकै अरू पनि ढल्ने गरेको विद्यालयले जनाएको छ । घरमा हुँदा उनीहरूमा यो समस्या नहुने र विद्यालय आउनेबित्तिकै देखा पर्ने गरेको शिक्षकहरूले जनाए । सरस्वती माविमा पनि किशोरीहरू रुने र चिच्याउने समस्या देखिएको वर्षांै भएको विद्यालयले जनाएको छ । एक जना रुने र चिच्याएको सुन्नेबित्तिकै कक्षा कोठामै रहेका अरू पनि त्यसै गर्न थाल्ने शिक्षकहरूले बताए ।
दैलेखका अन्य विद्यालयमा समेत यस्तो समस्या देखा परेको छ । किशोरी बेहोस भएर ढल्नुअघि बेसुरका कुरा गर्ने र बर्बराउने गर्छन् । शान्ति माविका प्रधानाध्यापक विष्णुप्रसाद शर्माले भने, ‘केटीहरू विद्यालयमा एक्कासि बेहोस हुने र त्यसपछि चिच्याउने गर्छन् ।’
छात्रामा अनौठो रोग देखा परेपछि विद्यालयमा पढाइ नै प्रभावित भएको उनको भनाइ छ । यस्तो समस्या देखा पर्न थालेपछि विद्यालय परिसरमा अहिले मन्दिर (माई) को स्थापना गरिएको छ । विद्यालयमै छात्राहरू एक्कासि बेहोस हुने र चिच्याउने गरेपछि धामीझाँक्रीका भनाइअनुसार माईको मन्दिर स्थापना गरिएको शर्माले बताए ।
कुनै पनि किशोरी बेहोस हुनेबित्तिकै विद्यालय परिसरको मन्दिरमा पूजाआजा गर्न थालिन्छ । विद्यालयमा अध्ययनरत छात्रछात्रालाई समेत देउता रिसाएका कारण यस्तो भएको भन्ने शिक्षा दिइएको छ । ‘छात्रामा यस्तो समस्या देखा परेपछि मन्दिर स्थापना गर्यौं,’ उनले भने, ‘अघिल्ला वर्षमा भन्दा यसमा अहिले केही सुधार आएको छ ।’ छात्रा बेहोस हुने, चिच्याउने र रुने समस्याबारे पटकपटक चेतनामूलक कक्षा सञ्चालन गरिएको छ । सामाजिक अभियन्ता पार्वती विशुन्केले विद्यालयमा साताभर बसेर किशोरीलाई चेतनामूलक कक्षा सञ्चालन गरेको बताइन् ।
अनुगमनका क्रममा पुगेका दैलेखका स्थानीय विकास अधिकारी डिलाराम पन्थीले कुनै देवीदेवताको कारण किशोरीमा त्यस्तो समस्या नहुने बताए । ‘उनीहरूलाई यस्तो समस्या देखा परेपछि पुरानै शैलीमा पूजाआजा गर्नु र मन्दिर नै स्थापना गर्नु अस्वाभाविक हो,’ उनले भने, ‘बरु चिकित्सकलाई ल्याएर समस्याबारे जानकारी गराई उपचारमा लाग्न शिक्षकलाई सुझाव दिएको छु ।’
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया