काठमाडौं ५ असोज /शिक्षा मन्त्रालयले जिल्लाका ४० विद्यालयलाई २ लाखका दरले ८० लाख रुपैयाँ शैक्षिक सुधार अनुदान दिएको छ ।
भक्तपुरका सामुदायिक विद्यालयमध्येबाट ४० वटालाई शैक्षिक सुधार गर्न अनुदान प्रदान गरिएको जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले बताए । शिक्षा मन्त्रालयले यूएसएआईडीको सहयोगमा सञ्चालन गरेको राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रमअन्तर्गत १ देखि ३ कक्षासम्मका विद्यार्थीको पढाइ, लेखाइ र बुझाइ सीपको विकासका लागि अनुदान दिएको हो ।
जिल्लाका १ देखि ३ कक्षासम्मका १ सय २७ सामुदायिक विद्यालयमध्ये विद्यार्थीको संख्या तथा नेपाली, अंग्रेजी, विज्ञान, गणित र सामाजिक शिक्षामा प्राप्त गरेको प्राप्तांकका आधारमा मूल्यांकन गरी अनुदान प्राप्त गर्न विद्यालय छनोट गरिएको कार्यक्रमका जिल्ला संयोजक सुनीता शाक्यले बताइन् । अनुदानबाट विद्यालयले शैक्षिक सामग्री खरिद, शैक्षिक खेल सामग्री, कक्षाकोठा सजावट, विद्यालयको १–३ कक्षाकोठाको जोखिम व्यवस्थापनलगायत विद्यार्थीलाई आकर्षित गर्ने पठन सामग्री खरिद गर्न सकिने उनले जनाइन् ।
प्रारम्भिक पढाइका रूपमा लिइने कक्षा १ देखि ३ सम्मका विद्यार्थीले नेपाली भाषा शुद्ध पढ्न, लेख्न र बुझेर सिक्न गत शैक्षिक सत्रदेखि राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रम सञ्चालन गरिएको जानकारी कार्यक्रमका फिल्ड अफिसर युवराज दाहालले दिए ।
नियमित नेपाली विषयको पढाइलाई सहज बनाउन विद्यार्थीको रुचि र बुझाइका आधारमा तयार पारिएको नेपाली सहयोगी पुस्तकको पाठ्यक्रमअनुरूप ९० मिनेटको कक्षा सञ्चालन गरिएको उनले बताए ।
पुरानो पाठ्यक्रमअनुसार ४० मिनेटका २ वटा नेपाली विषयको कक्षा सञ्चालन भइरहेकामा निरन्तर ९० मिनेटको नयाँ पाठ्यक्रमसहितको सहयोगी पुस्तकद्वारा पढाउँदा कार्यक्रम प्रभावकारी गराउन सकिने दाहालले बताए । उनले सरकारले शिक्षामा गरेको लगानी व्यावहारिक र परिणाममुखी बनाउन अनुगमन र कारबाही प्रक्रियालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
कार्यक्रमले विद्यालय, विद्यार्थी, अभिभावक र समुदायलाई नै पठन सीप र क्षमता अभिवृद्धिमा सहयोग पुगेको कार्यक्रमका क्षेत्रीय संयोजक राजेन्द्र मानन्धरले बताए ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया