काठमाडौं ७ असोज / विश्वविद्यालयले एमबिबिएस भर्ना पारदर्शी बनाउन पहिलोपटक कलेज सञ्चालक र विद्यार्थीबीच परामर्श सुरु गरेको छ । एमबिबिएस अध्ययनमा आर्थिक अपादरर्शिता बढेको भन्दै केयूले यस वर्षबाट भर्ना पारदर्शी बनाउन परामर्श सुरु गरेको हो ।
केयूअन्तर्गत १० मेडिकल कलेज र एउटा डेन्टल कलेज छन् । यस वर्षको आठ सय ७० सिटका लागि बुधबारदेखि विद्यार्थीसँग परामर्श सुरु गरिएको काठमाडौं विश्वविद्यालय चिकित्सा संकायका डिन प्रा.डा. राजेन्द्र कोजूले जानकारी दिए ।
उनका अनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का प्रा.डा. गोविन्द केसीले एमबिबिएस भर्नामा आर्थिक चलखेल गरी मेरिटका आधारमा विद्यार्थी भर्ना नहुने भन्दै विरोध जनाएका वेला केयूले मेरिटका आधारमा भर्ना गर्न परामर्श गरेको हो । ‘यसअघि सीधै मेडिकल कलेजले विद्यार्थी भर्ना लिने गरेका थिए । उनीहरूले मेरिटमा नलिएर कमजोर विद्यार्थी भर्ना लिन सक्थे । मेरिट बाहिरका विद्यार्थी भर्ना गर्दा आर्थिक चलखेल गरी विद्यार्थीलाई अन्याय भयो । त्यसैले भर्नालाई पारदर्शी बनाउन हामीले अग्रसरता देखाएका हौँ,’ उनले भने ।
आफू पढ्ने कलेज विद्यार्थीले छान्न पाउने
डिन कोजूका अनुसार परामर्शका क्रममा विद्यार्थीलाई कलेज छान्न लगाइनेछ । ‘उनीहरूले आफूले पढ्न चाहेको कलेज छान्नेछन्,’ कोजूले भने, ‘विद्यार्थीले कलेज छानेपछि हामीले शुल्क यति छ भनेर जानकारी दिनेछौँ ।’ उनका अनुसार कलेज सञ्चालकहरू पनि परामर्शमा सँगै हुनेछन् । ‘तोकेको शुल्कमा सम्बन्धित मेडिकल कलेजले भर्ना नलिँदा विगतमा विद्यार्थी अन्योलमा पर्थे । भित्रभित्र धेरै चलखेल हुन्थ्यो । अब हामी केयूबाटै शुल्क तोकेर पठाउँछौँ । त्यसैले विद्यार्थीले दुःख पाउनुपर्ने छैन,’ कोजूले भने ।
कुनै पनि बहानामा विद्यार्थी नठगिऊन् भनेर केयूले मेडिकल कलेज र विद्यार्थीबीच लिखित सम्झौता गराएको छ । सम्झौतासँगै विद्यार्थीले केयूको खातामा दुई लाख रुपैयाँ जम्मा गरेपछि मात्रै विद्यार्थी भर्ना हुनेछन् । केयूले तोकेको शुल्कभन्दा कलेजले एक रुपैयाँ पनि बढी लिन नपाउने व्यवस्था गरेको छ ।
कुन कलेजलाई कति सिट ?
-काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स धुलिखेल ७५
-विराट मेडिकल कलेज विराटनगर ६५
-देवदह मेडिकल कलेज रूपन्देही ४०
-मणिपाल कलेज अफ मेडिकल साइन्स पोखरा १००
-कलेज अफ मेडिकल साइन्स भरतपुर १००
-नेपालगन्ज मेडिकल कलेज कोहलपुर १००
-काठमाडौं मेडिकल कलेज काठमाडौं १००
-नेपाल मेडिकल कलेज काठमाडौं १००
-नोबेल मेडिकल कलेज विराटनगर ९०
-लुम्बिनी मेडिकल कलेज पाल्पा १००
कुन मेडिकल कलेजमा पढ्न कति शुल्क ?
-काठमाडौं युनिभर्सिटी स्कुल अफ मेडिकल साइन्स धुलिखेल ३९ लाख
-विराट मेडिकल कलेज विराटनगर ४२ लाख ९० हजार
-देवदह मेडिकल कलेज रूपन्देही ४२ लाख ९० हजार
-मणिपाल कलेज अफ मेडिकल साइन्स पोखरा ४९ लाख ९० हजार
-कलेज अफ मेडिकल साइन्स भरतपुर ४९ लाख ९० हजार
-नेपालगन्ज मेडिकल कलेज कोहलपुर ४७ लाख ९० हजार
-काठमाडौं मेडिकल कलेज काठमाडौं ४३ लाख ९० हजार
-नेपाल मेडिकल कलेज काठमाडौं ४३ लाख ९० हजार
-नोबेल मेडिकल कलेज विराटनगर ४७ लाख ९० हजार
-लुम्बिनी मेडिकल कलेज पाल्पा ४७ लाख ९० हजार
नयााँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया