काठमाडौं २४ असोज / पाँच दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीको स्वास्थ्य थप कमजोर बन्दै गएको छ । सोमबार मेडिकल टिमले जारी गरेको हेल्थ बुलेटिनमा उनको स्वास्थ्य अवस्था दिनप्रतिदिन कमजोर बन्दै गएको उल्लेख छ ।
केसीको शरीरमा ग्लुकोजको मात्रा सकिँदै गएको र शरीरमा भएको बोसो पग्लिन थालेको बुलेटिनमा उल्लेख छ । उनको ब्लडप्रेसर न्यून देखिएको छ । शरीरमा रहेको बोसो सकिएपछि मांसपेशीहरू टुक्रिने समस्या आउने प्रा.डा. प्रदीपकृष्ण श्रेष्ठले बताए । दुई दिनदेखि केसीलाई टाउको दुख्ने, रिँगटा लाग्ने र मांसपेशी बाउँडिने समस्या देखिएको छ ।
केसीका मागमा चिकित्सक संघको असहमति
डा. गोविन्द केसीले दिनहुँजसो मागका बुँदा फेरबदल गर्न थालेको भन्दै नेपाल चिकित्सक संघले असहमति जनाएको छ । संघ अहिले केसीका मागमा मौन बस्ने भएको छ । यसअघि अनशन बसेलगत्तै समर्थन जनाएको संघले तेह्रौँ अनशनलाई शंकाको दृष्टिले हेरेको छ । नाम उल्लेख नगर्ने सर्तमा एक पदाधिकारीले भने, ‘डा. केसी संघलाई सोधेर अनशन बसेका छैनन् र छोड्दा पनि सोधेका छैनन् । त्यसैले हतारमा संघले ऐक्यबद्धता जनाउनुपर्ने कुनै कारण छैन ।’ केसीले चिकित्सा क्षेत्रभन्दा बाहिर गएर मुद्दा उठाउन थालेकोप्रति संघले आपत्ति जनाएको छ । ‘हाम्रा मागभन्दा बढी अन्य पेसा र व्यवसायसँग आबद्ध छन्, यसमा हामीले बोल्ने अधिकार छैन,’ उनले भने ।
अनशनस्थलबाटै मागका बुँदा थपे केसीले
माथेमा कार्यदलको प्रतिवेदनका आधारमा चिकित्सा शिक्षा विधेयक तत्काल संसद्बाट पास गराउनुपर्ने माग राखेर केसी अनशन बसेका केसीले अनशनस्थलबाटै पाँच माग थप गरेका छन् । ‘यो मेरो मात्रै लडाइँ होइन,’ केसीले भने, ‘तीन करोड नेपालीको विषय हो, कमजोरी नठानियोस् ।’
यस्ता छन् थप पाँच माग
– शिक्षा क्षेत्रलाई चरम पार्टीकरण तथा अयोग्य पार्टी कार्यकर्ता भर्तीकेन्द्र बनाउने गरी जनतालाई झुक्याएर पारित गरिएको शिक्षाविरोधी शिक्षा ऐनको संशोधन तत्काल खारेज गरियोस् । शिक्षामन्त्रीको घृणित स्वार्थमा प्राविधिक शिक्षा ध्वस्त हुने गरी शैक्षिक सत्रको बीचमा आएर गरिएको सिटिइभिटीमार्फत दर्जनौँ कलेजलाई सम्बन्धन दिने निर्णय खारेज गरियोस् ।
– मध्यम र निम्न वर्गका सबै नेपालीका लागि सम्पूर्ण स्वास्थ्य उपचार र विद्यार्थीका लागि शिक्षा गुणस्तरीय, निःशुल्क वा सस्तो र सर्वसुलभ गरियोस् ।
– चिकित्सकहरूको हकहित र सेवा–सुविधाका लागि राखिएका माग पूरा गरियोस् ।
– बर्खास्त गरिएका आयल निगमका प्रमुखमाथि छानबिन गरेर उनले हिनामिना गरेको अर्बौंँ रुपैयाँ असुली कारबाही गरियोस् ।
– बर्खास्त गरिएका आयल निगमका प्रमुखलगायत सोही भ्रष्टाचार काण्डमा उनीसँग मिलेर भ्रष्टाचार गर्ने सबै तहका अन्य सबै व्यक्तिहरू तथा अन्य सार्वजनिक संस्थान, परिषद् र संस्थाका भ्रष्ट पदाधिकारीहरू तथा तिनका संरक्षक दलीय नेताहरूमाथि समेत तत्काल पदच्यूत गरेर छानबिन तथा कारबाही गरियोस् ।
अर्जुन अधिकारीले नयाँ पत्रिकामा लेखेको खबर ।
प्रतिक्रिया