काठमाडौं २७ असोज/ मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलास्थित सिर्जना प्राथमिक विद्यालयमा चार विद्यार्थी मात्रै छन् । उनीहरूलाई दुई शिक्षकले पढाउँछन् । गाउँका विद्यार्थी सहरका बोर्डिङप्रति आकर्षित भएपछि विद्यालयमा विद्यार्थीको खडेरी परेको हो । ०४४ मा स्थापित यस विद्यालयमा शिशुदेखि ३ कक्षासम्म पठनपाठन हुन्छ ।
विद्यार्थी संख्या बढाउन हरेक वर्ष विद्यालयले घरदैलो अभियान चलाउँछ । तैपनि, सात वर्षदेखि विद्यार्थीको संख्या घट्दै गएको प्रधानाध्यापक नौजङ गुरुङले बताए । ‘हामी हरेक वर्ष घरदैलो अभियान चलाउँछौँ,’ प्रधानाध्यापक गुरुङले भने, ‘सहरका बोर्डिङ स्कुलमा पढाउने भन्दै अभिभावकले विद्यालयमा छोराछोरी भर्ना गर्न छाडेका छन् ।’
पाँच विद्यार्थी भर्ना भए, तीन विद्यालय नै आउँदैनन्
प्रधानाध्यापक गुरुङका अनुसार विद्यालयमा शिशुदेखि कक्षा ३ सम्म नयाँ शैक्षिक सत्रमा पाँच विद्यार्थी भर्ना भएका थिए । तर, दुई विद्यार्थी मात्र विद्यालय आउने गरेका छन् । दुवै २ कक्षामा अध्ययनरत छन् । शिशुमा एक र कक्षा १ मा भर्ना भएका दुई विद्यार्थी विद्यालय आउँदैनन् । विद्यालयमा अध्ययनरत चारमध्ये दुईजना विद्यार्थी अघिल्लो शैक्षिक सत्रमा भर्ना भएका हुन् । कक्षा तीनमा भने विद्यार्थीको संख्या शून्य रहेको प्रधानाध्यापक गुरुङले बताए ।
भौतिक पूर्वाधार नबन्दा विद्यार्थी आउन छाडे
विद्यालयले प्रत्येक अभिभावकको घरघरमा पुगेर आफ्ना बालबालिकालाई विद्यालय पठाउन आग्रह गर्दै आएको शिक्षक चन्द्रकान्त घिमिरेले बताए । ‘०७२ को भूकम्पले विद्यालयको पाँचकोठे भवनमा पूर्ण रूपमा क्षति पु¥याएको छ । एउटा कक्षाकोठा मर्मत गरेर सबै विद्यार्थीलाई त्यसमै पढाइने गरिएको छ,’ उनले भने, ‘विद्यालयको पुनर्निर्माणमा कसैले ध्यान दिएका छैनन् ।’ भौतिक संरचना नभएकाले विद्यार्थी विद्यालय नआएको उनको बुझाइ छ ।
विद्यार्थी तान्न निःशुल्क खाजाको सुविधा पनि सफल भएन
विद्यार्थीको संख्यामा निरन्तर कमी आउन थालेपछि विद्यालयले खाजाको सुविधासमेत मिलाएको थियो । ‘हामीले विद्यार्थीका लागि विद्यालय पोसाक, कापी कलमसमेत निःशुल्क दिने निर्णय गरेका थियौँ,’ प्रअ गुरुङले भने, ‘एक हातले मात्रै ताली बज्दो रहेनछ । विद्यार्थी नै नआएपछि योजना नै सफल भएन ।’ गत वर्ष विद्यालयमा नौजना विद्यार्थी भर्ना भएका थिए । निःशुल्क पोसाक र खाजाको सुविधा लागू गरेपछि यस वर्ष धेरै विद्यार्थी भर्ना हुने अनुमान गरिए पनि जम्मा पाँचजना मात्र विद्यार्थी भर्ना भएको गुरुङ बताउँछन् ।
जिल्लाका धेरै सामुदायिक विद्यालयले विद्यार्थी पाउनै छाडे
छिनखोलाको उस्तामा रहेको नरेन्द्र प्राविमा पनि १ देखि ५ कक्षासम्म १५ जना मात्र विद्यार्थी अध्ययनरत रहेको नरेन्द्र प्राविका प्रधानाध्यापक झपिन्द्रमान घलेले बताए । उनका अनुसार विद्यालय आउने सबै विद्यार्थीको आर्थिक अवस्था कमजोर भएका दलित बालबालिका मात्र छन् । सो क्षेत्रका अधिकांश विद्यार्थी सहरका बोर्डिङ स्कुल गएका कारण जिल्लाका धेरैजसो सामुदायिक विद्यालय खाली–खाली जस्तै छन् । जिल्ला शिक्षा कार्यालय लमजुङले विद्यालयको शैक्षिक गुणस्तर बढाउने कार्यक्रम ल्याएको, तर विद्यार्थी सहर झरेका कारण अभियान सफल हुन नपाएको शिक्षक चन्द्रकान्त घिमिरे बताउँछन् ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया