काठमाडौं ७ कार्तिक / गत साउन ८ गते महोत्तरीको गौशाला नगरपालिका-८ बेलगाछीका १६ बर्षीय मनोज महतोले गाउँकै एक ८ वर्षीया बालिकालाई खेतमा पानी लगाउन सहयोग माग्दै बोलाए। पानी लगाइ सकेपछि चाउचाउ दिन्छु भन्दै फकाएर घरमा लगी बलात्कारको प्रयास गरे ।
बालिकाका अभिभावक साँझ बालिकाको खोजी गर्दै जाँदा महताको घरमा पुगे । अभिभावकलाई देख्ने वितिकै मनोज भागे । बालिकाका अभिभावकले इलाका प्रहरी कार्यालयमा उजुरी हाले । फरार भएका मनोजलाई प्रहरीले जर्बजस्ती उद्योगमा मुद्धा चलाए ।
कक्षा ९ मा पढ्ने एक १४ बर्षीया बालिकालाई औरही नगरपालिका-१ का २८ वर्षीय प्रमोद महतोले भारतमा लगेर बन्धक बनाए । ट्युसन पढाउदैं आएका महतोले बालिकाकालाई यौन शोषण गरेको भन्दै अभिभावकले गौशाला प्रहरीमा उजुरी गरे । प्रहरीले साउन १७ गते प्रमोदलाई प्रकाउ गरेर भारतबाट बालिकाको उद्धार गर्न सफल भए । उनीमाथि प्रहरीले जर्बजस्ती करणीको मुद्धा दर्ता गरेर अनुसन्धान अघि बढाए ।
बर्दिबास घर भएका ३८ वर्षीय शिक्षक रामदुलार साहले आफूले विद्यार्थी १६ वर्षीया बालिकालाई यौन शोषण गर्दै आएका थिए । कक्षा १० मा पढ्दैं गरेकी ती बालिकालाई राम्रोसँग पढाई दिने प्रलोभन दिएर यौन शोषण गर्दै आएका थिए । गौशालामा कोठा भाडामा बस्दै आएका शिक्षक साहलाई प्रहरीले चैत्र २२ गते गिरफ्तार गर्यो । कोठाको चुकुल लगाएर बालिकासँग अश्लील हर्कत गर्दै गर्दा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
तीन घटना प्रतिनिधि उदाहरण मात्रै हुन् । सीता माताको पावन भूमि मिथिलामा बालिका असुरक्षित छन् । बालिकाहरुलाई आफ्नै गाउँ घरमा असुरक्षित रहन कठीन भएको छ । यहाँ बालिकालाई विभिन्न देवी, कन्या कुमारीको रुपमा पुजिन्छ । तर त्यही कलिला देवी(बालिका)हरुमाथि बलात्कार, र यौन हिंसा हुने गरेको छ । इलाका प्रहरी कार्यालय गौशालामा आर्थिक बर्ष २०७३/२०७४मा बालबालिका तथा महिला सम्बन्धी हिंसाको ४४ वटा उजुरी परेको इलका प्रहरी कार्यालय गौशालाका प्रहरी निरक्षक शम्भु पोखरेलले जानकारी दिए ।
बालिकाहरुमाथि हुने हिंसाका थुप्रै घटना अझैपनि प्रहरी कार्यालयमा आइपुग्दैंन । पीडकको डरत्रास र आफ्नै वेइज्जत हुने डरले थुप्रै योैन हिंसाका घटनाको उजुरी प्रहरी कार्यालयसम्म आउँदैनन् ।
प्रहरीले महिला तथा बालबालिकाहरुको उजुरी दर्ता, छानविनका लागी महोत्तरी प्रहरी ठाउँमा महिला तथा बालबालिका सेवा केन्द्रको नै स्थापना गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी कुवेरर कडायतले जनाए ।
विद्यालयमा सरस्वती माताको पूजा गरिन्छ । तर, त्यहाँ देवीका साक्षातरुपी बलिकाहरु स्कूलमा पनि सुरक्षित छैन । ज्ञानको मन्दिर विद्यालममै पनि शिक्षकहरुबाटै बालिकाहरु यौन हिंसाको सिकार हुने गरेको अन्तरपार्टी महिला सञ्जाल बर्दिबासकी उपाध्यक्ष उर्मिला कार्कीको बताउछिन् । 'बालिकाले आफूलाई सुरक्षित कहाँ ठान्ने ? स्कूलमा शिक्षकहरुबाटै यौन हिंसाको सिकार हुन्छन्,' उनले भनिन्, 'गाउँ घरमा हजुरबुबा, बुबा, दाइ, भाइबाटै असुरक्षित छन् । आफ्नै आफन्त , नातागोता, छरछिमेकीबाट बालिका बलात्कारको शिकार हुँदै आएका छन् ।'
बालिकाहरु आफ्नै घर भत्र असुरक्षित महसुस गरेर बस्नु परेको बर्दिबासकी २३ वर्षीया बबिता महतोले बताइन् । ' छोरा र छोरीको नाममा जन्मिने समयदेखिनै विभेदको सामना गर्दै बालिकाको जीवनको यात्रा सुरु हुन्छ । बालिका अली ठूली हुन्छिन्, उनको शारिरीक वृद्धि र विकास हुन्छ , नातागोता, छिमेकीबाटै उनीमाथि कुदृष्टि पर्न थाल्छ ।' महतोले भनिन् ।
इज्जत जाने डले परिवारका सदस्यले नै बालिकामाथि हुने गरेका हिंसाका घटना गाउँमै पञ्चायत गरेर मिलापत्रमा टुङ्गाइने गरेको भन्दै परिवार र समाजकै कारण बालिकाहरु खतरामा परेको वुद्ध समाज सेवा लक्ष्मिनियाँका अध्यक्ष विष्णु लामाले औंल्याए ।
जनहित नन्दलाल माध्यमिक विद्यालय किसाननगरकी शिक्षिका रमा शर्माले बालबालिकाहरु घरेलु हिंसाबाट पीडित हुने गरेको, पढ्ने स्कूल, हिडने बाटो सुरक्षित नभएकाले बालिकाहरु हरेका ठाउँमा मानसिक दवावमा झेल्न बाध्य हुने गरेको बताइन् । बालबालिकाहरुका लागि बालमैत्री वातावरण निर्माणमा स्थानीय तहले ध्यान दिनुपर्ने शिक्षिका शर्माले माग गरिन् ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया