काठमाडौं ८ कार्तिक / भक्तपुरको चाँगुनारायण नपा ८ सुडालको कलमसीस्थित कालिका आधारभूत विद्यालयका ससाना विद्यार्थीहरुलाई जाडोबाट बच्न एकएक जोर ट्रयाक सुट वितरण गरिएको छ। नेपाल विद्युत प्राधिकरण भक्तपुर वितरण केन्द्रका कर्मचारीहरुबाट संकलित रकमले विद्यालयका ४० विद्यार्थीहरुलाई एकएक जोर ट्रयाक सुट वितरण गरिएको हो।
सुडाल जिल्लाकै विकट मानिन्छ। छिमेकी काभ्रे जिल्लासँग सीमा जोडिएको साविक सुडाल गाविसको कलमसी पुगेर केन्द्रका वर्तमान प्रमुख प्रज्ज्वलमान श्रेष्ठ, निवर्तमान प्रमुख विक्रमबहादुर अमात्य, जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीलगायतको टोलीले विद्यार्थीहरुलाई एकएक थान ट्रयाकसुट वितरण गरेको थियो।
निवर्तमान प्रमुख अमात्य प्राधिकरणको भक्तपुर वितरण केन्द्रको प्रमुख छँदा केन्द्रका कर्मचारीहरुले पैसा उठाएर केन्द्र परिसरमा विश्वकर्माको मन्दिर निर्माण गरिएको थियो। उक्त मन्दिर निर्माण सम्पन्नपछि बचेको रकमबाट विद्यार्थीहरुको लागि ट्रयाकसुट किनिएको अमात्यले जानकारी दिए।
‘विश्वकर्मा मन्दिर निर्माणपछि बाँकी भएको रकम सरकारी विद्यालयका ससाना विद्यार्थीहरुको लागि ट्रयाकसुट किनेर वितरण गरेका हौं’, उनले भने। उनी भक्तपुरबाट प्राधिकरणको कास्की पोखरास्थित केन्द्रमा सरुवा भएका थिए। तर उक्त कार्यको लागि पूर्वप्रमुख अमात्यले पोखराबाट भक्तपुर आएका थिए।
‘कर्मचारीहरुले सल्लाह गरेरै सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गर्ने निर्णय गरिएको हो’, भक्तपुर वितरण केन्द्रका वर्तमान प्रमुख प्रज्ज्वलमान श्रेष्ठले भने, ‘मेरो योगदान नभए पनि समाज सेवामा सहभागी हुने मौका मिल्यो।’
जिल्ला शिक्षा अधिकारी रायमाझीले सरकारी विद्यालयमा विद्यार्थी तथा अभिभावकहरुलाई आकर्षण गर्ने सहयोग गर्नुभएकोमा प्राधिकरणका कर्मचारीहरुमा आभार प्रकट गरे। उनले यस्ता सहयोगले विद्यार्थी कम हुँदै आएर बन्द गर्नुपर्ने अवस्थामा पुगेका सरकारी विद्यालयले निरन्तरता पाउने विश्वास व्यक्त गरे।
२०६४ सालमा कक्षा ८ सम्म पढाइ हुने कालिका विद्यालय २०६९ सालमा विद्यार्थी घट्दै गएर बन्द नै हुन पुगेको थियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द नेपालका अनुसार विद्यालय करिब चार वर्ष पूरै बन्द भयो। तर स्थानीयको अगुवाइमा गएको वैशाखदेखि शिशुकक्षा, नर्सरी, एलकेजी, यूकेजी र कक्षा १ सम्मको पढाइ सुरु गरिएको को।
‘गएको बैशाखमा स्थानीय अभिभावकहरुको विशेष पहलमा शिशुकक्षादेखि १ कक्षासम्म ४० जना विद्यार्थी जम्मा गरेर विद्यालयलाई ब्युँताउन सफल भयौं’, अध्यक्ष नेपालले भने, ‘आउँदो शैक्षिकसत्रभित्र कक्षा ५ सम्म भर्ना लिन्छौं।’उनले त्यसको लागि शिक्षक उपलब्ध गराउन जिल्ला शिक्षा कार्यालयमा निवेदन दिइसकेको जानकारी दिए। पहिले करिब आठ जना दरबन्दीका शिक्षक रहेको उक्त विद्यालयमा अहिले दुईजनामात्रै दरबन्दीका शिक्षक कार्यरत छन्।
त्यसमाथि तत्कालीन प्रधानाध्यापक गुणराज सुवेदीलगायत पुराना शिक्षक विद्यालयमा छैनन्। विद्यालय सुधारको लागि अहिले देवकी पौडेलले प्रधानाध्यापक भई कार्य गर्दै आएकी छन्।
उनले स्थानीय अभिभावक र अन्य शुभचिन्तकहरुबाट साथ र सहयोग पाए विद्यालयलाई पहिलेकै अवस्थामा पुर्याउन आफू लागिपर्ने सुनाइन्। प्रअ पौडेलले जाडो नजिकिँदै गर्दा विद्यालय आएका ससाना विद्यार्थीहरुलाई ट्रयाक सुट उपलब्ध गराइएको खुसी व्यक्त गर्दै धन्यवाद ज्ञापनसमेत गरे।
विद्यालय पुनः सञ्चालन भएको पहिलो वर्षभित्रै ४० विद्यार्थी भर्ना गर्न सफल भएपछि जिल्ला शिक्षा कार्यालयले भवन निर्माणको लागि १७ लाख रुपैयाँ उपलब्ध गराएको जिशिअ रायमाझीले जानकारी दिए। २०७२ सालको भूकम्पले विद्यालयको भवनमा क्षति पुर्याएको थियो।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया