काठमाडौं ९ कार्तिक / राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) को गाडी शिक्षा मन्त्रालयका पदाधिकारीले लगेर हालीमुहाली गरिरहेका छन् । बोर्डका पदाधिकारीलाई भने गाडी नहुँदा सहसचिव र उपसचिवको गाडीमा सहयोग मागेर यात्रा गर्नुपर्ने बाध्यता छ ।
बोर्डका निमित्त अध्यक्षको हैसियतले शिक्षा मन्त्रालयका तत्कालीन सचिव शान्तबहादुर श्रेष्ठ र सदस्य सचिव हुँदा डिल्ली रिमालले एक/एकवटा गाडी लगेका थिए । श्रेष्ठले अवकाश पाइसके भने रिमाल मन्त्रालयका योजना महाशाखा प्रमुख छन् । तर, उनीहरूले बोर्डलाई गाडी फिर्ता गरेका छैनन् । ‘जहाँबाट लगेको हो, त्यहीं फिर्ता गर्नुको सट्टा रिमालले मन्त्री गोपालमान श्रेष्ठलाई खुसी पार्न आफूले चढेको गाडी मन्त्रीकै छोरालाई चढ्न दिएका छन्,’ बोर्डका एक उच्चस्तरीय कर्मचारीले भने, ‘त्यही गाडी १० लाखभन्दा बढी खर्च लाग्ने गरी दुर्घटना गराएको जानकारी आएको छ ।’ सचिवलाई मन्त्रालयमा छुट्टै गाडी छ । रातो नम्बर प्लेट भएकै कारण श्रेष्ठले बोर्डको गाडीमा आँखा लगाएको कर्मचारीको आरोप छ ।
दुवै जनाले बोर्डबाट लगेका गाडी मन्त्रालयमै छाडेपछि गाडी अभाव भएको कर्मचारीले बताए । बोर्डका नवनियुक्त अध्यक्षलाई समेत गाडी दिन नसकेपछि गाडी फिर्ता गरिदिन बोर्डले सोमबार मन्त्रालयलाई पत्र लेखेको छ । मन्त्रालयले भने गाडी फिर्ता गर्न नसकिने जवाफ दिएको छ । ‘पदावधि सकिएपछि आफूले प्रयोग गरेको साधन फिर्ता गर्नु उसको कर्तव्य हो,’ बोर्डका एक सदस्यले भने । रिमालले मन्त्रालयले गाडी माग्दा निकायले दिनुपर्ने तर्क गरे । ‘यो विषयमा म केही भन्न सक्दिनँ,’ उनले भने, ‘सचिवज्यू आएपछि मात्रै डिसिजन हुन्छ ।’
बोर्डलाई स्वायत्त निकाय मानिए पनि शिक्षा ऐनअनुसार यसको सदस्य सचिवमा मन्त्रालयकै सहसचिव वा कर्मचारीमध्ये एक हुनुपर्ने प्रावधान छ । पछिल्लो एक वर्षमा मन्त्रालयका चार सहसचिव बोर्डका सदस्य सचिव भइसके । बोर्डले लिने कक्षा ११ र १२ को परीक्षामा सुधार गर्नेभन्दा पनि बेथिति थपेर उनीहरू फर्कने गरेको कर्मचारीको आरोप छ । शिक्षामन्त्री श्रेष्ठले पनि बोर्डमा आफ्नो स्वार्थ पूरा गर्न सक्ने सहसचिवलाई पठाउने गरेको कर्मचारीको भनाइ छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया