Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

काम गर्दै, सित्तैमा सीएम पढ्दै

शनिबार, ११ कार्तिक २०७४

काठमाडौं ११ कार्तिक / गुल्मीका नवराज भण्डारी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गतको पुल्चोक क्याम्पसमा निर्माण व्यवस्थापन (कन्स्ट्रक्सन म्यानेजमेन्ट– सीएम) मा स्नातकोत्तर गर्दैछन् । दुई वर्षको पढाइमा लाग्ने करिब साढे ५ लाख रुपैयाँ तिर्न उनलाई कुनै सकस छैन । किनकि, उनको पढाइ शुल्क उनी कार्यरत एक निजी निर्माण कम्पनीले नै बेहोरिदिन्छ । कुनै नाता सम्बन्ध र भनसुनका आधारमा भने होइन ।

पछिल्ला वर्षमा सडक, पुल, भवन, जलविद्युत् आयोजनालगायत पूर्वाधार क्षेत्रमा ठेक्का प्रक्रियाका टेन्डर, भेरिएसन, आर्बिटेसनजस्ता जटिल चरण व्यवस्थापन गर्ने जनशक्तिको चर्को अभाव छ । दक्ष जनशक्ति नहुँदा परियोजना समयमा सम्पन्न नहुने र भुक्तानी विवादजस्ता जटिलता सतहमा आउने गरेका छन् । निर्माण कम्पनीहरूले यस्ता जटिलता हल गर्न दक्ष जनशक्ति उत्पादनमा लगानी गर्न थालेका हुन् । त्यसका लागि उनीहरूले शैक्षिक संस्थाहरूसँगको सहकार्य अघि बढाएका छन् ।

भण्डारी त्यस्तै प्रायोजन पाउनेमध्येका एक हुन् । कलेजलाई तिर्नुपर्ने करिब साढे ५ लाख रुपैयाँ उनले काम गर्दै आएको बिल्डिङ डिजाइन अथोरिटीले बेहोरिदिन्छ । ‘निजी कलेजमा पढदा पनि कम्तीमा ५ लाख शुल्क तिर्नुपथ्र्यो । एक त पुल्चोकमा पढ्न पाउनु, त्यसमा पनि सित्तैमा, यो त ठूलो अवसर हो मेरा लागि,’ भण्डारी दंग छन् ।

आफ्नै खर्चमा इन्जिनियरङ विषयमा स्नातकोत्तर गर्नु सामान्य नेपालीको पहुँचभन्दा बाहिरको कुरा हो । निजी कम्पनीले स्वदेशमै दक्ष जनशक्ति उत्पादन निम्ति खेलेको यो भूमिकाले अध्ययन र काम दुवैलाई निरन्तरता दिन चाहने विद्यार्थीलाई ठूलो राहत मिलेको छ ।

सीएमलाई इन्जिनियरिङ क्षेत्रमा एमबीएको समानान्तर डिग्री मानिन्छ । सीएम डिग्री हासिल गरेका व्यक्तिलाई नै परियोजनाको प्रमुख बनाउने विश्वव्यापी प्रचलन छ । कोर्स अवधिभर विद्यार्थीहरूले ठेक्का डकुमेन्ट, परियोजनामा हुने समय र लागतको भेरिएसन, आइपर्ने विवाद व्यवस्थापनलगायत विषयमा अध्ययन गर्छन् । विद्यार्थीले लागत र समय भेरिएसनजस्ता कुनै एउटा विषयमा केन्द्रित भएर १६ क्रेडिट बराबरको थेसिस लेख्नुपर्छ ।

पुल्चोक क्याम्पसले निर्माण व्यवस्थापन सीएमको स्नातकोत्तर तहमा प्रायोजन गर्न चाहनेका लागि निश्चित सिट नै छुट्टयाइदिएको छ । जम्मा २० सिटमध्ये छात्रवृत्ति ५, आरक्षण १, पूरै शुल्क ६ र प्रायोजनमा ८ सिट छुट्टयाइएको छ । चालु सत्रमा ६ जना विद्यार्थीलाई निजी क्षेत्रका विभिन्न कम्पनीले प्रायोजन गरेका छन् । दुईवर्षे कोर्सका लागि छात्रवृत्तिमा ५९ हजार ५ सय ५५, पूर्ण शुल्कमा १ लाख ६१ हजार ५ सय ९५ र प्रायोजनमा ५ लाख ५० हजार रुपैयाँ शुल्क लाग्छ ।

प्रायोजन सिट कामसँगै उच्च अध्ययनलाई निरन्तरता दिन कठिनाइ बेहोरिरहेकाहरूका लागि समेत सुनौलो अवसर बनेको छ । त्यस्तै अवसर पाउनमध्ये हुन्– उमेश भण्डारी । नवराजकै सहपाठी उमेशको प्रायोजन उनी विगत चार वर्षदेखि कार्यरत चन्द्रा एन्ड वसन्त प्रालिले गरेको हो । ‘प्रायोजनका लागि मैले कम्पनीलाई अनुरोध गरेँ, अहिले कामसँगै अध्ययनलाई पनि अगाडि बढाउन पाएको छु,’ उमेशले सुनाए ।

सीएमको प्रवेश परीक्षा दिन सिभिल वा आर्किटेक्चर इन्जिनियरिङमा स्नातक उत्तीर्ण हुनुपर्छ । पुल्चोकमा मात्र होइन निजी क्षेत्रका करिब आधा दर्जन इन्जिनियरिङ कलेजले सीएमको स्नातकोत्तर कोर्स सञ्चालनमा ल्याएका छन् । पुल्चोक क्याम्पसका सीएम संकायका संयोजक रवीन्द्र श्रेष्ठ यसले पूर्वाधार विकास क्षेत्रले भोगिरहेको दक्ष जनशक्ति अभाव केही हदसम्म सम्बोधन गर्ने विश्वास व्यक्त गर्छन् । 

उमेशको प्रायोजक कम्पनी चन्द्रा एन्ड वसन्त प्रालिका संयोजक करन चन्द यसबाट आर्थिक कठिनाइ बेहोरिरहेकाहरूले पनि स्वदेशमै उच्च शिक्षाको अवसर पाउन सक्ने बताउँछन् । निजी क्षेत्रले भोगिरहेको जनशक्ति अभाव समसया पनि केही हदसम्म सम्बोधन हुने उनको विश्वास छ । ‘नयाँ जनशक्ति श्रमबजारमा आउने तर खपत नहुने परिस्थितिको अन्त्य गर्न पनि यसले सघाउनेछ,’ चन्दले भने, ‘शैक्षिक संस्था र निजी क्षेत्रबीच पुलको काम गर्नेछ ।’

कान्तिपुरमा सुरेशराज न्यौपानेले लेखेको खबर ।

प्रतिक्रिया