Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

क्षतिग्रस्त स्कुल पुनर्निर्माण सुस्त

शनिबार, ११ कार्तिक २०७४

काठमाडौं ११ कार्तिक / भूकम्प गएको ३० महिना बितेको छ । भूकम्पबाटै क्षतिग्रस्त विद्यालय पुनर्निर्माणको पर्खाइमा थप जीर्ण बन्दै गएका छन् । क्षतिग्रस्त विद्यालय पुनर्निर्माणका लागि जिल्ला शिक्षा कार्यालयले बल्ल छनोट प्रक्रिया पूरा गरेको छ । चालु आवभित्र पुनर्निर्माण सक्ने लक्ष्यसहित कार्यालयले शिक्षा मन्त्रालयअन्तर्गतको जिल्ला आयोजना कार्यान्वय एकाई (डीएलपीआईयू) भक्तपुर तर्फबाट पुनर्निर्माण थाल्ने गरी १० विद्यालय छनोट गरेको जनाएको छ ।

चालु आवभित्र ८/८ वटा कक्षाकोठा निर्माण गर्ने लक्ष्यसहित मेधा मावि तेखापुखु, सरस्वती मावि काँक्राबारी, शान्ति निकेतन मावि सिपाडोल छनोट गरेको छ । ६/६ वटा कक्षाकोठा निर्माण गर्ने गरी सुशीला भैरव आधारभूत विद्यालय कटुञ्जे, बालमिकेश्वर आधारभूत विद्यालय चरेली छनोट भएका छन् । ४/४ वटा कक्षाकोठा निर्माणका लागि राधाकृष्ण आधारभूत विद्यालय छालिङ, महेन्द्र शान्ति मावि बालकोट, गणेश मावि छालिङ, सरस्वती मावि थाकलमाथ, सिरुटार मावि सिरुटार छनोटमा परेको जिल्ला शिक्षा अधिकारी अर्जुनबहादुर रायमाझीले बताए । छनोटमा परेको १० विद्यालय पुनर्निर्माणका लागि करिब ८ करोड १० लाख विनियोजन भएको समेत उनले बताए ।

गत आव ०७३/७४ मा पुनर्निर्माणका लागि छनोट भएका १३ विद्यालयमध्ये डीएलपीआईयूले क्रमागत रुपमा पुनर्निर्माण गर्ने गरी ११ विद्यालयको निर्माण कार्य थालनी गरेको जनाएको छ । जिशिकाले पुनर्निर्माणका लागि छनोट गरेको १३ विद्यालयमध्ये तौथली आधारभूत विद्यालय नगरकोट गैरीगाउँ र देउजा गाउँ आधारभूत विद्यालय चित्तपोलको भने आन्तरिक समस्याको कारण पुनर्निर्माणको थालनी हुन नसकेको डीएलपीआईयू प्रमुख देवकुमार बरालले बताए ।

छनोटमा परेका ११ विद्यालयमध्ये ८/८ कक्षाकोठा पुनर्निर्माणका लागि सझौता भएका चण्डेश्वरी आधारभूत विद्यालय तिबुन्छे, बोडे मावि मध्यपुर थिमि बोडे, ठूली ब्रम्हायणी आधारभूत विद्यालय सुडालको क्रमागत रुपमा पुनर्निर्माण भईरहेको बराल बताउँछन् । ६ कक्षाकोठा पुनर्निर्माणका लागि जनप्रेमी आधारभूत विद्यालय मध्यपुर थिमि कौशलटार तथा ४/४ कक्षाकोठाका लागि सरस्वती आधारभूत विद्यालय सूर्यविनायक नैचाल, बर्दायनी आधारभूत विद्यालय तौमढी, सन्तकृष्ण आधारभूत विद्यालय सिपाडोल छनोट भएको पुनर्निर्माणको कार्य जारी रहेको डीएलपीआईयूले जनाएको छ । 

त्यसैगरी, चन्द्र सुर्योदय आधारभूत विद्यालय गुण्डु, बाल सुधार गृह मावि सानोठिमी मनोहरा र चुनादेवी मावि नगरकोटको ३/३ कक्षाकोठा पुनर्निर्माण भईरहेको छ । पुनर्निर्माण थालिएको एउटा विद्यालयले पनि पूर्णरूप भने पाएको छैन । 

क्षतिग्रस्त विद्यालयको पुनर्निर्माण ३० महिना बितिसक्दा समेत प्रभावकारी नहुनुमा विद्यालय छनोटमा ढिलाई, पूनर्निर्माणको बजेट अख्तियारीमा ढिलाई, स्थानीय तह चुनावमा विद्यालयहरूलाई केन्द्र बनाइनु मुख्य रहेको डीएलपीआईयू प्रमुख बराल बताउँछन् । 

महेन्द्रग्राम मावि सुडाल र कालिका मावि नगरकोट एसियाली विकास बैंकको तर्फबाट डीएलपीआईयूले पुनर्निर्माण थालिएको जिल्ला शिक्षा कार्यालय भक्तपुरले जनाएको छ । जिल्लामा भूकम्पका कारण ९२ विद्यालय प्रभावित भएको र पूर्ण क्षति २, अधिक क्षति ६० र सामान्य क्षति ३५ रहेको शिक्षा कार्यालयले जनाएको छ ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया