काठमाडौं १४ कार्तिक/ कञ्चनपुुरका विद्यार्थी र शिक्षक संगठनले अघि सारेका माग पुरा नगर्दै शिक्षामा लागेको तालाबन्दी तोडेको भन्दै जिल्ला शिक्षा कार्यालयमा फेरि तालाबन्दी गरेका छन् ।
जिल्ला समन्वय समितिले आन्दोलनरत पक्षसंग वार्ता नै नगरि ताला तोडेको भन्दै आक्रोशित तीन विद्यार्थी संगठन र नेपाल शिक्षक संघले सोमबार कार्यालय समयमा तालाबन्दी गरेका हुन् ।नेवि संघ, अखिल क्रान्तिकारी, अखिल छैटौँ र नेपाल शिक्षक संघले जिल्ला शिक्षा अधिकारी अमर प्रशाद भट्ट, विद्यालय प्रशासन, लेखा र कार्यालयको मुल गेट चार ठाँउमा तालाबन्दी गरेको शिक्षक विद्यार्थी संगठनले जनाएका छन् ।
जिल्ला समन्वय समितिले ताला तोडेको एक दिन अर्थात १५ घण्टामै पुनः शिक्षा कार्यालय कञ्चनपुरका चार ठाउँमा तालाबन्दी भएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका अध्यक्ष विरेन्द्र राज विष्टले सहमति विनै दादागिरी शैलीमा राती ताला तोडेकाले त्यसको विरुद्धमा विद्यार्थी संगठन र शिक्षक संगठन आन्दोलनमा उत्रेको बताए । आइतबार साँझ कार्यालय समय बाहिर ताला तोडेर विद्यार्थीको आन्दोलन तुहाउन षड्यन्त्र गरिएकाले त्यसको विरुद्धमा तीनै विद्यार्थी संगठनले कञ्चनपुरमा शैक्षिक हड्ताल समेत गरेको छ ।
शैक्षिक हड्तालका कारण जिल्लाका निजी विद्यालय बन्द भएका छन् । अवैध निजी विद्यालय बन्द गर्नुपर्ने लगायतका माग अघि सारेर थालिएको आन्दोलन जनप्रतिनिधीले निजी विद्यालयको पक्षपोषण गर्दै विद्यार्थीका मुद्दामा धावा बोलेकाले बाध्य भएर शैक्षिक हडतालमा उत्रिनु परेको विद्यार्थी नेताहरुको भनाइ छ ।
शिक्षा कार्यालयले आन्दोलनरत पक्षसंग वार्ता गर्न छाडेर समन्वय समितिसंग धाएर विद्यार्थी संगठनका मागका विरुद्ध माहोल सिर्जना गरेका कारण त्यसको प्रतिफल स्वयं शिक्षा कार्यालय हुने समेत दाबी गरे । अखिल छैटौँका केन्द्रीय सचिव महेश दत्त जोशीले कञ्चनपुरको समग्र शैक्षिक सुधारका लागि संयुक्त विद्यार्थी संगठनले चार वर्षदेखि निरन्तर आन्दोलन थाल्दै आएको बताउदै विद्यार्थी संगठनले उठान गरेका माग सम्बोधन नगरेरै ताला तोडको भन्दै त्यसको शसक्त प्रतिकार गर्ने चेतावनी दिए ।
नयाँ पत्रिकामा प्रकाशित खबर ।
प्रतिक्रिया