काठमाडौं १६ कार्तिक /नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन अखिल नेपाल शिक्षक संगठनले आगामी निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने बताएको छ ।
संगठनका जिल्ला अध्यक्ष अर्जुन दाहालले बुधबार सदरमुकाम दिक्तेलमा पत्रकार सम्मेलन गरेर यस्तो बताउनुभएको हो । पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले आफूहरु पार्टीको झोले मात्र भएर बस्न नसक्ने भन्दै देशमा स्थायी शान्ति कायम गर्न आगामी निर्वाचनमा वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरिएको बताउनुभयो ।
“हाम्रो मातृ पार्टीले निर्वाचनलाई बहिस्कार गरेको छ ।” उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा देशलाई निकास दिन निर्वाचन उत्तम विकल्प भएकाले हाम्रो संगठनले वाम गठबन्धनलाई सहयोग गर्ने निर्णय गरेको हो ।”
दिक्तेलस्थित सरस्वती माविको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (माओवादी केन्द्र) निकट शिक्षक संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष कृष्ण गुरुङले नेपालमा स्थापित सबै प्रगतिशील विचारधाराका शिक्षक संगठनबीच एकता हुनुपर्नेमा जोड दिनुभयो ।
“अहिले सबै कम्युनिष्ट विचारधाराका संगठनबीच छलफल भइरहेको छ ।” उहाँले भन्नुभयो, “चुनावलगत्तै फरकफरक समूहमा विभाजित कम्युनिष्ट विचारधाराका संगठन एकीकरण गर्ने अभ्यासमा लागि परेका छौँ ।”
नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र विप्लव नेतृत्वको नेकपाको भ्रातृ संगठन अखिल नेपाल शिक्षक संगठनले संयुक्तरुपमा पत्रकार सम्मेलन गरेका थिए । पत्रकार सम्मेलनमा सहभागी शिक्षकले आफ्नो हक र अधिकार स्थापित गर्न सबै संगठन एकजुट हुन आवश्यक रहेको बताएका छन् ।
देशमा पछिल्लो घटनाक्रमले वामपन्थी र प्रजातान्त्रिक गरी दुई धार देखिएकाले वामपन्थी विचारधारा शक्ति एक हुनुको विकल्प नरहेको एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सल्लाहकार सदस्य जयप्रसाद आचार्यले बताउनुभयो । “वामपन्थी शिक्षकको एकताले शिक्षा क्षेत्रमा समेत परिवर्तन गर्न सकिन्छ ।” उहाँले भन्नुभयो, “शिक्षासँगै देश परिवर्तनका लागि सबै वामपन्थी शिक्षक एकजुट हुनुपर्छ ।”
वामपन्थी शिक्षक संगठन एकीकरणका लागि छिमेकी जिल्लामा स्थापित संगठनका नेतासँग पनि छलफल थालिएको पत्रकार सम्मेलनमा बताइयो ।
गोरखापत्रमा प्रकाशित खबर ।
प्रतिक्रिया