काठमाडौं १६ कार्तिक/कोल्हबी नगरपालिका–१० बेलवास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालय महिनांैदेखि एक मात्र शिक्षिकाले बिनातलब धानेकी छन् । केही वर्षअघि जिल्लाले विद्यार्थीको टाउको गनेर दिने गरेको पीसीएफ अनुदानका चार शिक्षकबाट सञ्चालित स्कुलमा अहिले ७० विद्यार्थी अध्ययनरत छन् ।
अघिल्लो आर्थिक वर्षदेखि जिल्लामा प्राप्त हुने पीसीएफ अनुदानको रकम कटौती भएपछि शिक्षकहरू महिनांैदेखि बिनातलब फुर्सदको समयमा विद्यालयमा पुग्छन् । विद्यालयकी प्रधानाध्यापक सागर मैला महिनांैदेखि तलबसुविधा नपाएको गुनासोसहित विद्यालयबाट बिदा लिने तयारीमा छिन् ।
बेलवास्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका विद्यार्थी । चार शिक्षक रहेको यो विद्यालयमा शिक्षक आएको दिन मात्र पढाइ हुन्छ ।
विद्यालयका चार शिक्षकमध्ये प्रधानाध्यापक सागरमैयाबाहेक एक शिक्षिका घरको कामबाट फुर्सद भएको बेला स्कुल आउने गर्छिन् भने अन्य दुई जना विद्यालयले तलबसुविधा दिए फर्किने भन्दै विकल्पको खोजीमा छन् ।
‘पीसीएफ अनुदानमा जिल्लाले स्थायी प्रक्रियाअनुरूप नै नियुक्ति ग¥यो तर पछि अनुदान आउन छाड्यो । समस्या कसैले सुनिदिँदैनन् । अब विद्यालय नआउने विचारमा छु,’ सो विद्यालयकी प्रधानाध्यापक भन्छिन्, ‘अरू शिक्षकहरू पनि हप्तामा दुई÷तीन दिन मात्रै आउँछन्, विद्यार्थीको पनि स्कुल छाड्ने क्रम जारी छ ।’
विशेष गरी दलित र मुस्लिम समुदायका विपन्न परिवारको बसोबास रहेको सो स्थानमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बजरंगबलीले जबर्जस्ती समुदायले आफूलाई अध्यक्ष बनाएको भन्दै विद्यालयको समस्याबारे आफू अन्योलमा रहेको बताए । ‘मलाई धेरै केही थाहा छैन । म त अध्यक्षमा बस्दिनँ भन्दै थिएँ । शिक्षकहरू पनि कहिलेकाहीँ मात्रै स्कुल आउँछन् । सबै कुरा हेड मिसले हेर्नुहुन्छ,’ उनले भने, ‘मलाई अध्यक्षमा बस्ने रहर नै थिएन ।’
मनोमानी काज सरुवा
शिक्षा कार्यालय बाराले शिक्षकहरूलाई आवश्यकता नै नभएको स्थानमा अनुगमनसमेत नगरी काज सरुवामा पठाउने गरेको छ । विद्यालयको गतिविधिबारे सूचना दिने स्रोत व्यक्तिलाई नै जानकारी नदिई शिक्षकहरूले विद्यालय सर्ने बारामा परिपाटी नै बनेको छ । जसका कारण विद्यालयहरू शिक्षकको अभावमा धरापमा पर्दै गएका छन् ।
जिल्लाका कोल्हबी नगरपालिकाकै साबिकको जुअवा, कट्टीमा रहेको एक प्राथमिक विद्यालयमा पनि प्रधानाध्यापकले काज सरुवा लिएर अर्कै स्कुलमा गएपछि विद्यालयले समस्या बेहोरेको छ । प्रधानाध्यापकमा रहेका प्राथमिक तहका स्थायी शिक्षक रामप्रसाद चौधरी व्यवस्थापन समितिलाई समेत जानकारी नै नदिई शिक्षा कार्यालयको सिफारिसमा घरपायक विद्यालयमा काज सरुवामा गएका छन् । काजमा गएका प्रअकै सिफरिसमा सोही विद्यालयकी प्राथमिक तहकी राहत शिक्षिका सन्ध्या राय चौधरीलाई आफैंले निमित्त प्रअका लागि जिम्मेवारी सुम्पेर छाडेपछि विद्यालयमा व्यवस्थापन पक्ष रुष्ट बनेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगन्नाथ चौधरीले विनानिर्णय काज सरुवामा गएको भन्दै जिल्ला शिक्षा कार्यालयमा काज फिर्ता गरिनुपर्ने माग गरिहेका छन् । शिक्षा अधिकारी लालबाबु साहले विद्यालयको समस्याबारे बेवास्ता गरेको चौधरीको गुनासो छ ।
विद्यालयमा रहेको एउटा मात्र स्थाई दरबन्दीका शिक्षक बिनाजानकारी काजमा गएपछि व्यवस्थापन पक्ष जिल्ला शिक्षा कार्यालयमा डेलिगेसनसमेत पुगेको थियो । तत्कालीन शिक्षा अधिकारी धनप्रसाद पोखरेलले काजमा गएका शिक्षक रामप्रसादलाई हप्ता दिनभित्र काज फिर्ता पठाउने प्रतिबद्धता जनाए पनि हालसम्म चौधरीको काज फिर्ता नहुँदा विद्यालयमा तनाव बढेको हो ।
प्रअ रामप्रसाद चौधरीले विद्यालयका विभिन्न शीर्षकका लाखौं रकम हिनामिना गरेर काजमा गएको स्थानीयको आरोप छ । उनीमाथि अघिल्लो आर्थिक वर्षमा ट्वाइलेट निर्माणमा आएको बजेट हिनामिना गरेको आरोपमा अख्तियारमा मुद्दा चलिरहेको समेत तत्कालीन स्कुल व्यवस्थापन अध्यक्ष विनोद चौधरीले बताए ।
उनले शिक्षा कार्यालयबाट आएको ट्वाइलेट निर्माणको रकम प्रअले अन्य शीर्षकमा खर्च गर्ने भनी माइन्युट गरेको स्वीकारसमेत गरेका छन् । यस्तै, कोल्बही–८ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, हरैयाका प्रअ पनि अहिले काज सरुवामा छन् । निमावि तहका स्थाई दरबन्दीमा रहेका रामनरेशप्रसाद जयसवालले दुई वर्षअघि काज सरुवामा आफ्नै घरनजिक एक निमाविमा प्रअको जिम्मेवारी सम्हालिरहेका छन् भने सोही विद्यालयको खाताबाट तलब सुविधा लिने गरेका छन् ।
बाराका शिक्षा अधिकारी लालबाबु साहले जिल्लाको शैक्षिक बेथितिलाई सुधार गर्न आफू लागिपरेको भन्दै राजनीतिक आडमा शक्ति देखाउने शिक्षकका दबाबले काम गर्न असजिलो भएको स्वीकार गरेका छन् ।
राजधानीमा कृष्ण सिग्देलले लेखेको खबर ।
प्रतिक्रिया