Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

५ कक्षासम्मका सरकारी विद्यालयमा रंगीन पुस्तक

शुक्रबार, २४ कार्तिक २०७४

काठमाडौं २४ कार्तिक / सरकारले आगामी शैक्षिक सत्रदेखि सरकारी विद्यालयमा ५ कक्षसम्म रंगीन पाठ्यपुस्तक प्रयोगमा ल्याउने भएको छ । पाठ्यक्रम विकास केन्द्रले आगामी शैक्षिक सत्रका लागि ५ कक्षासम्मका पाठ्यपुस्तकको प्रिन्ट रेडी कपी (पिआरसी) तयार पारेर निर्णयका लागि शिक्षा मन्त्रालयमा पठाएको छ ।

पाठ्यक्रम विकास केन्द्र (सिडिसी)का कार्यकारी निर्देशक कृष्ण काप्रीले देशभरका लाखौँ विद्यार्थीले आगामी शैक्षिक सत्रबाट रंगीन पाठ्यपुस्तक पढ्न पाउने बताए । उनका अनुसार कक्षा १ र २ को पिआरसी अघिल्लो तयार भएको थियो । यो वर्ष केन्द्रले कक्षा ३, ४ र ५ को पाठ्यपुस्तकको पिआरसी तयार गरिसकेको जानकारी दिए ।

यसअघि निजी विद्यालयमा अध्ययन गर्नेले चार कलरका पुस्तक पढ्न पाए पनि सरकारी विद्यालयका विद्यार्थी भने यस्तो सुविधा पाएका थिएनन् । चार कलरमा छपाइका लागि रकम विनियोजन भएको छ । रंगीन छपाइका किताब केही महँगो पर्छ ।

रंगीन पुस्तक छपाइका लागि जनक शिक्षा तथा निजी प्रेसले समेत जिम्मेवारी पाउनेछ । अघिल्लो वर्ष जनक शिक्षाले कक्षा १० सम्मका सबै कक्षाका पाठ्यपुस्तक छपाइ गर्न सक्ने र निजी प्रेसले ५ कक्षासम्मको पाठ्यपुस्तक छपाइ गर्न सक्ने निर्णय भएकोे थियो । ६ कक्षादेखि १० को पाठ्यपुस्तक छपाइ गरिसकेपछि जनक शिक्षालाई पनि तल्लो तहको पुस्तक छपाइ गर्न पिआरसी दिने तयारी गरेको छ ।

पुस्तकका लागि दुई अर्ब २२ करोड

आगामी शैक्षिक सत्रका लागि सरकारले (कक्षा १ देखि १० कक्षासम्मका पाठ्यपुस्तकका लागि) दुई अर्ब २२ करोड रुपैयाँ बजेट विनियोजन भएको शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताए । चार कलर गर्दा निजी विद्यालयका विद्यार्थीले पढ्ने पुस्तकसँग एकरूपता हुने र बालबालिकाले पढाइमा रुचि राख्ने महानिर्देशक पौडेलको भनाइ छ ।

चार कलरमा छपाइ गर्दा वस्तु वा सामग्रीको तस्बिरको वास्तविक कलर देखिने र त्यसले बालबालिकाको बुझाइलाई सरलीकृत गर्ने विश्वास छ । सरकारले सरकारी विद्यालयका विद्यार्थीलाई निःशुल्क रूपमा पाठ्यपुस्तक उपलब्ध गराउँदै आएको छ ।

सिकाइ उपलब्धि बढ्ने विश्वास

शिक्षा मन्त्रालयका अधिकारीले रंगीन पाठ्यपुस्तकले विद्यार्थीको सिकाइ उपलब्धि बढाउने विश्वास व्यक्त गरेका छन् । कलर पाठ्यपुस्तक हुँदा विद्यार्थी रमाउँदै वास्तविक कुरा सिक्ने अवसर पाउने महानिर्देशक पौडेल बताउँछन् । पौडेलले भने, ‘यसअघि ब्ल्याक एन्ड ह्वाइटमा पुस्तक हुँदा घाँस, रूखको चित्र पनि कालो हुन्थ्यो अब, वास्तविक कलर हरियो देख्न पाउनेछन् । यसले पढ्ने बानी बस्नेछ र विद्यार्थी खुसी हुन्छन् ।’

पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक काप्रीले पाठ्यसामग्रीलाई विद्यार्थीमैत्री र सिकाइमैत्री बनाउने प्रयास भइरहेको बताए । रंगीन पुस्तकसँग सन्देश दिने शक्ति धेरै हुने उनको भनाइ छ ।

नयाँ पत्रिकामा प्रकाशित खबर ।

प्रतिक्रिया