काठमाडौं २५ कार्तिक / कांग्रेसले निर्वाचन आचारसंहिता विपरीत विष्णुपुर गाउँपालिकाको खुरहुरिया चौकस्थित जनता माध्यमिक विद्यालय परिसरमा सभा गरेको छ । मूल ढोकामा पार्टी झन्डा टाँगेर चौरमा सभा गरिएको हो । सभामा आएका पाहुनालाई भोज दिन कक्षाकोठालाई भान्छाका रूपमा प्रयोग गरिएको छ ।
प्रधानाध्यापक सूर्यनारायण यादवको सहमतिमै कांग्रेसले बृहत् पार्टी प्रवेश कार्यक्रम गरेको स्रोतले जनायो । ‘शुक्रबार भएका कारण चार घण्टीको पढाइपछि विद्यालयमा छुट्टी भयो । त्यसपछि स्पिकर बज्न थाल्यो । हिन्दी फिल्मी गीत घन्किए,’ एक सहभागीले भने ।
कक्षाकोठाभित्र माछा र चिया पकाइएको थियो । कांग्रेस सप्तरीका सभापति तथा क्षेत्र ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार दिनेशकुमार यादव आउनेबितिकै कार्यक्रम सुरु गरिएको थियो । प्रधानाध्यापक यादव अतिथिको लहरमा थिए । उनले कांग्रेसका पक्षमा भोट माग्दै भाषण गर्न भ्याए ।
कार्यक्रममा उपस्थित हुन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्रनारायण देव बा२झ १९४७ नम्बरको सरकारी गाडीमा आए । उनले प्रमुख अतिथिका रूपमा कार्यक्रममा सहभागिता जनाए । साँझ विद्यालय परिसरमै माछा र चिउराको भोज भयो । खुरहुरियास्थित जनता माविमा कार्यक्रम हुनुअघि मन्त्री देवसहितको टोलीले पत्थरगाडामा रहेको अर्को एउटा विद्यालयमै चुनावी सभा गरेका थिए । निर्वाचन आचारसंहिताविपरीत जिल्लाका दुई विद्यालयमा चुनावी सभा भएका हुन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले निर्वाचन आचारसंहिताविपरीत कुनै पनि दलले विद्यालयमा सभा गर्न नपाउने बताए ।
‘सबै दलले निर्वाचन आचारसंहिता पालना गर्छु भनेर प्रतिबद्धता जनाएका छन् । त्यस विपरीत जान मिल्दैन,’ उनले भने । आचारसंहिता विपरीत कार्यक्रम भए/नभएका विषयमा जानकारी लिएपछि मात्र थप कुरा बताउन मिल्ने प्रतिक्रिया उनले दिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयनारायण यादवले आचारसंहिता र विद्यालय शान्ति क्षेत्रको मर्मविपरीत विद्यालयमै माछा–चिउराको भोज र चुनावी सभा गरिनु जायज नभएको बताए । ‘मलाई यो कार्यक्रमबारे कुनै जानकारी छैन । अनुमति दिनेउपर कारबाही हुनुपर्छ,’ उनले भने । प्रधानाध्यापक यादवले आफू कार्यक्रमको अतिथि र वक्ता भएको स्विकारे । उनले आफ्नो अनुमतिबेगरै विद्यालयमा मञ्च बनाइसकेकाले रोक्न नसकिएको जिकिर गरे । ‘विद्यालयमै थिएँ । आसन ग्रहण र बोल्नका लागि समय दिएकाले उपस्थिति जनाएँ,’ उनले भने ।
पर्यटनमन्त्री देवले विद्यालयमा सभा भएकोबारे आफू अनभिज्ञ रहेको बताए । उनले भने, ‘कार्यक्रम विद्यालयमा हुनु हुँदैन, विद्यालयमा भइरहेको हो भन्ने कुरा मलाई जानकारी नै भएन ।’
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया