Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

डरत्रासमै नियमित पठनपाठन

सोमबार, २७ कार्तिक २०७४

काठमाडौं २७ कार्तिक / राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालयको भवन र कक्षाकोठा जीर्ण बन्दै गएका कारण विद्यार्थीहरू डरत्रासका बीचमा पढ्न बाध्य छन्् । कक्षाकोठासँगै अन्य दैनिक गतिविधि हुने लेखा, प्रशासन, परीक्षा शाखालगायतका भवनका कोठाहरू पनि जीर्ण हुँदा शिक्षक, विद्यार्थी, कर्मचारी सबै त्रस्त छन् ।

बजेट नहुँदा जीर्ण भवन तथा कक्षाकोठा भत्किन सक्ने अवस्थामा पुगे पनि मर्मत–सम्भार गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको भनाइ छ । विद्यालय भवन जीर्ण भएपछि केटाकेटी पनि विद्यालय जान आनाकानी गर्न थालेको स्थानी अभिभावक पशुपति दासले सुनाए ।

कक्षा सञ्चालन भइरहँदा विद्यार्थी मात्र नभई शिक्षकहरूले बेलाबेलामा छततिर आँखा डुलाउने गरेको विद्यार्थी सुरज साहले बताए । स्थानीय समाजसेवी रुद्रनारायण सिंहले २००९ सालमा विद्यालय स्थापना र सञ्चालनका लागि भन्दै ३७ बिघा जग्गा निःशुल्क उपलब्ध गराएका थिए । करिब ६५ वर्ष पुरानो सो विद्यालयको भवन मर्मत–सम्भारका लागि सम्बन्धित निकाय कतैबाट सहयोग नपाइएको विद्यालयका प्रधानाध्यापक फुलेश्वर मण्डलले गुनासो गरे ।

विद्यालय भवन जीर्ण बन्दै गएपछि मर्मत–सम्भारका लागि पटकपटक प्रयास गरे पनि प्रयासमै सीमित रहेको उनको भनाय थियो । पटकपटक स्थानीय प्रशासन, जिल्ला शिक्षा कार्यालय, जिल्ला समन्वय समिति, नगरपालिका, सहरी विकास कार्यालयमा जानकारी गराई सहयोगका लागि आग्रह गरे पनि आश्वासनबाहेक केही नपाएको उनले दुखेसो गरे ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धीरेन्द्रप्रसाद बर्माले कक्षाकोठा र अन्य दैनिक काम हुने कोठाहरू अत्यन्त जीर्ण भइसकेकाले कुनै बेला दुर्घटना हुन सक्ने तथ्य स्वीकार गरे । ‘बजेटका लागि सम्बन्धित निकायमा पटकपटक आग्रह गर्दा पनि कहीँबाट पनि सहयोग जुटेन,’ उनले भने ।

विद्यालयलाई जग्गा निःशुल्क उपलब्ध गराए पनि त्यसमा बनेको भवन मर्मतसम्भारको अभावमा जीर्ण बन्दै गएकोमा दाता परिवार पनि खिन्न भएको उनले सुनाए । दाता परिवारका सदस्य एवं विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष महामायाप्रसाद सिंहले बालबालिकाका शैक्षिक भविष्यका भन्दै निःशुल्क उपलब्ध गराएको जग्गामा बनेको भवन जीर्ण हुँदै जाँदा दुःख लागेको बताए । विद्यालय सामाजिक सम्पत्ति भएकाले यसको सुरक्षा र मर्मतसम्भारका लागि राज्य र नागरिक उत्तिकै जिम्मेवार बन्नुपर्ने उनको तर्क छ ।

राजधानीमा प्रकाशित खबर ।

प्रतिक्रिया