काठमाडौं २८ कार्तिक /शिक्षालाई प्राथमिकता राखेर काम गर्ने नेतालाई मत दिने लामाचौरकी २० वर्षीया सविना कार्की बताउँछिन् ।
पद्यम नर्सिङ कलेजमा दोस्रो वर्ष अध्ययनरत कार्की भन्छिन,् ‘स्वदेशमा मान्यता नभए पनि विदेशमा मान्यता हुन्छ, त्यसैले म महँगो शुल्क तिरेर नर्सिङ पढ्न बाध्य भएको छु,’ उनले भनिन्,‘ आशा छ, प्रदेशसभा र प्रतिनिधिसभाबाट चुनिएका नेताले शिक्षालाई प्राथमिकता दिँदै शुल्कमा पनि केही सुविधा दिनेछन् ।’ पहिलो वर्षमा १ लाख ९५ हजार शुल्क तिरेकी कार्कीले दोस्रो वर्षको पैसा दिन बाँकी भएको बताउँछिन् । कलेजमा कार्कीजस्तै धेरै छात्राहरू विदेश जाने उद्देश्यले अध्ययन गरिरहेका छन् ।
‘नेताहरूले पढाइको महत्त्व बुझेर नेपालमै व्यवस्थापन गर्न सके बाध्यतावश बिदेसिनु पर्दैनथ्यो,’ उनले भनिन्, ‘भाषणमा आश्वासन दिनुभन्दा काम गरेर देखाए राम्रो हुन्थ्यो ।’ कार्कीले एकपटक मात्र भोट दिएकी छन् । स्नातकोत्तर गरेका रामबहादुर थापाले पनि योग्यताअनुसार रोजगारको योजना ल्याउनेलाई भोट दिने बताए ।
दुईपटक दिएको भोटले नेताले बोलेको काम कार्यान्वयन हुन नसकेको उनको गुनासो छ । ‘योग्यताअनुसारका युवा लक्षित योजना नेताहरूले ल्याएको भए राम्रो हुन्थ्यो,’ सिमपानीका २६ वर्षीय थापा भन्छन्, ‘युवा लक्षित योजना ल्याएमा मजस्तै डिग्री गरेर बसेका युवायुवतीहरू रोजगारका लागि विदेश पलायन हुनबाट मुक्त हुन्थ्यो ।’ ‘निजी विद्यालयमा लिएको मनपरी शुल्कलाई सबै विद्यालयमा कम र एउटै शुल्कको सेवासुविधा दिने व्यवस्था मिलाउने नेतालाई भोट दिन्छु,’ सोमती तामाङ भन्छिन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया