काठमाडौं ३० कार्तिक/मंसिर २१ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतगणना सदरमुकाम म्याङलुङस्थित सिंहवाहिनी माविमा गरिने भएको छ ।
सदरमुकाममा सुरक्षित स्थानको अभाव भएकाले विद्यालय बन्द गराएर मतगणना गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
निर्वाचन व्यवस्थापन समितिको बैठकले मंसिर २२ गतेदेखि मतगणना सम्पन्न नहुन्जेल विद्यालय बन्द गरेर मतगणना गर्ने निर्णय गरेको हो ।
मतदान सम्पन्न भएपछि जिल्लाभरका मतपेटिका सुरक्षित ठाउँमा राखेर गणना गर्ने स्थान नहँुदा विद्यालय प्रयोग गर्नुपर्ने बाध्यता आएको मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद पराजुलीले बताए । प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा ३ सय बढी मतपेटिका हुने र सबैलाई सुरक्षित राखेर गणना गर्न विद्यालयको भवन उपयुक्त देखिएको सहायक निर्वाचन अधिकृत कृष्ण पोखरेलले बताए ।
विद्यालयमा मतगणना गर्ने विषयका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनमा भाग लिएका दलका प्रमुख, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक, अभिभावक संघका अध्यक्ष, प्रधानाध्यापक, प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा प्रमुखलगायतसित छलफल गरेको थियो । अन्यत्र सुरक्षित भवन र कम्पाउन्ड नभएकाले बाध्यतावश विद्यालयमा मतगणना गर्न दिइएको प्रधानाध्यापक तेजबहादुर कार्कीले बताए । ‘मतगणना अवधिमा विद्यार्थीको पढाइमा बाधा पुग्न गए आसपासका विद्यालयमा लगेर पढाउने सल्लाह भएको छ,’ उनले भने । ५७ मतदानस्थल र ८९ मतदान केन्द्र रहेको जिल्लामा ६६ हजार ६ सय ६७ मतदाता छन् ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया