काठमाडौं १ मंसिर /त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले एमबीबीएस प्रवेश परीक्षामा विद्युतीय उपकरण प्रयोग गरी चिट चोरी गरेको पाइएपछि परीक्षाको वैधानिकता निर्णय गर्ने अधिकार डिन कार्यालयलाई नै दिएको छ । त्रिवि कार्यकारी परिषद्ले विभिन्न अध्ययन प्रतिवेदनका आधारमा प्रश्नपत्र बाहिरिएको ठहर गरे पनि निर्णय गर्ने जिम्मा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) लाई नै दिएको हो ।
आईओएमले असोज २८ मा लिएको एमबीबीएस प्रवेश परीक्षामा विद्युतीय उपकरणसहित चिट चोरी गरेको र नक्कली परीक्षार्थी भेटिएपछि त्रिविले छानबिन समिति बनाएको थियो । प्रहरी अनुसन्धान, मेडिकल काउन्सिल तथा त्रिविको छानबिन प्रतिवेदनले प्रश्नपत्र बाहिरिएको र परीक्षा अमर्यादित भएको निष्कर्षसहितको प्रतिवेदन विश्वविद्यालयमा बुझाएपछि बिहीबार बसेको त्रिवि कार्यकारी परिषद्ले आईओएमलाई आवश्यक निर्णय लिन निर्देशन दिएको हो ।
‘काउन्सिल तथा प्रहरीले प्रश्नपत्र आउट भएको भन्छन् । आईओएमका चिकित्सकको हस्ताक्षर गरेको हाम्रो रिपोर्टमा पनि अमर्यादित भएको निष्कर्ष निकालिएको छ,’ त्रिवि उपकुलपति तीर्थ खनियाँले भने, ‘सबैले आउट भएको निष्कर्ष निकालेका छन् । त्यसको प्रभाव एकिन गर्न सकिएन । परीक्षा अनियमितताको घेरामा भएकाले आवश्यक निर्णय लिन आईओएमलाई नै अधिकार दिएका छौं ।’ त्रिविको नियमकानुनले पनि निर्णय गर्ने अधिकार सम्बन्धित संस्थालाई दिएकाले आईओएमलाई आवश्यक निर्णय लिन निर्देशन दिएको उनले बताए । आईओएमको अधिकार विश्वविद्यायलले कटौती गर्यो भन्ने बारम्बार आरोप लाग्ने गरेकाले यो निर्णय लिन उसैलाई दिएको भन्दै विश्वविद्यालय पन्छिएको छ ।
परीक्षा केन्द्रमा विद्युतीय उपकरणमार्फत चिट चोरी गरेको पाइएको अध्ययनका क्रममा फेला परेको थियो । असोज २८ मा राजधानीका १२ परीक्षा केन्द्रमा भएको प्रवेश परीक्षामा विद्युतीय डिभाइसबाट चिट चोरीमा प्रहरी उपरीक्षक सुदीपराज भण्डारीका छोरा पनि संलग्न भएको पाइएको थियो । डिभाइस प्रयोग गर्ने दुई जना नियन्त्रणमा रहे पनि भण्डारी प्रहरीको सूचीमा फरार छन् । त्रिविले यो घटनाको अध्ययन गर्न पूर्वडिन चिन्तामणि पोखरेलको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । चिट चोराउने गिरोहबाट हातैले लेखेका ६० वटा उत्तर सेट फेला परेका थिए ।
उक्त उत्तर सेट र आईओएमले लिएको परीक्षाको प्रश्नपत्रको उत्तर सेट भिडाउँदा ६० वटा प्रश्नमा १४ वटा मात्रै मिलेको पाइएको छ । यसकै आधारमा प्रहरीले प्रश्नपत्र बाहिरिएको निष्कर्ष निकालेको हो । विद्यार्थीसँग भेटिएको उत्तर र आईओएमको उत्तर सेट भिडाउन महानगरीय प्रहरी अपराध महाशाखाले मेडिकल काउन्सिलसँग विज्ञ माग गरेको थियो । काउन्सिलबाट खटिएका विज्ञ प्रा.डा. ढुण्डिराम पौडेलले चिट चोराउने समूहबाट फेला परेको उत्तर र आईओएमले तयार गरेको उत्तर भिडाउँदा ६० प्रश्नका उत्तरमध्ये प्रश्न नम्बर १० र ११ को शाब्दिक उत्तरसहित १४ वटा मिलेको पाइएको प्रतिवेदन दिएका छन् । सेट बीको ६० प्रश्नमध्ये १४ मिलेको पाइएको हो ।
‘शाब्दिकसहित २ वटा र अन्य १२ गरी १४ प्रश्नको उत्तर मिलेको तथ्य पक्राउ परेका व्यक्तिको मोबाइलबाट फेला परेको उत्तरको छायाकपीसँग मिल्न आयो,’ डा. पौडेलको प्रतिवेदनमा भनिएको छ, ‘शाब्दिक उत्तरसमेत मिलेको देखिँदा प्रवेश परीक्षाको प्रश्नपत्र बाहिरिएको पुष्टि हुन आउँछ ।’ आईओएमले ७ वटा मेडिकल कलेजलाई आवश्यक पर्ने ६ सय २५ सिटका लागि लिएको परीक्षामा ८ हजार ८ सय २७ जना सहभागी थिए । केही परीक्षा केन्द्रमा नक्कली विद्यार्थी खडा गरेको तथा केहीमा विद्युतीय उपकरण प्रयोग गरी परीक्षा दिएको फेला परेको थियो । परीक्षामा अनियमितता गर्ने तीनवटा समूहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका मध्ये ६ जनालाई नागरिकता किर्तेमा र १४ जनाको अर्को समूहलाई साइबर अपराध र ठगी अपराध मुद्दा दर्ता गरिएको छ ।
प्रहरीको अनुसन्धान क्रममा परीक्षार्थीको नागरिकता र प्रवेशपत्र परिवर्तन गरी परीक्षा दिने नक्कली परीक्षार्थी भेटिएको थियो । उनीहरूलाई किर्ते मुद्दामा कारबाही अघि बढाइएको छ । विद्युतीय उकरण प्रयोग गरी बाहिरबाट सम्पर्क गरी उत्तर टिपाएको र उत्तर लेखेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । यसरी उत्तर टिप्ने १४ जना पक्राउ परेको र अन्य पनि संलग्न हुन सक्ने प्रहरीले जनाएको छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया