Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

दुई मेडिकल कलेजको सिट बढाउन केयूको लबिइङ

विहीबार, ०७ मंसिर २०७४

काठमाडौं ७ मंसिर /काठमाडौं विश्वविद्यालय (केयू) ले दुई मेडिकल कलेजको एमबीबीएस अध्यापन कोटा बढाउन मेडिकल काउन्सिलमा लबिइङ सुरु गरेको छ । केयू स्रोतका अनुसार विराटनगरका नोबेल र विराट मेडिकल कलेजको सिट थप गर्न केयूले काउन्सिललाई आग्रह गरेको हो । केयू र काउन्सिलले तोकेको विज्ञहरूको संयुक्त टोलीको निरीक्षण प्रतिवेदनका आधारमा यस वर्ष सिट निर्धारण गरिसकिएको थियो । यसकै आधारमा विद्यार्थीलाई काउन्सिलिङ गरेर काउन्सिलले निर्धारण गरेको सिटमा भर्नासमेत लिइसकेको छ ।

काउन्सिलले नोबेललाई ९० र विराटलाई ६५ सिट निर्धारण गरिसकेको छ । ‘यसपालिको सिट निर्धारण केयू र काउन्सिलले खटाएको संयुक्त विज्ञ टोलीको प्रतिवेदनलाई आधार मानेर गरिएको हो,’ काउन्सिलका एक सदस्यले भने, ‘फेरि पुनरावलोकन गर्ने निर्णय गरेछ । यसको स्वार्थ बुझ्न सकिएन ।’

विश्वविद्यालय प्राज्ञिक परिषदको कात्तिक २८ को बैठकले काउन्सिलमा सिट संख्या पुनरावलोकनका लागि लेखी पठाउने निर्णय गरेको हो । बैठकले नोबेलमा सय र विराटमा ७५ सिट उपयुक्त हुने निष्कर्ष निकालेको छ । यही निर्णयका आधारमा स्कुल अफ मेडिकल साइन्सेजका डिन डा. राजेन्द्र कोजुले सिट पुनरावलोकन गरिदिन काउन्सिललाई पत्र पठाएका छन् ।

पत्रमा भनिएको छ, ‘कानुनी सल्लाहकारको रायअनुरूप नोबेल मेडिकल कलेजमा सरकारले तोकेको अधिकतम सिट संख्या १ सय तथा विराट मेडिकल कलेजमा गत वर्षकै सिट संख्या ७५ हुन उपयुक्त देखिएकाले नेपाल मेडिकल काउन्सिलमा समेत पुनरावलोकनका लागि पठाउन स्कुल अफ मेडिकल साइन्सेजलाई निर्देशन दिने निर्णय भयो ।’ काउन्सिललाई लेखेको पत्रको बोधार्थ दुवै मेडिकल कलेजलाई समेत दिइएको छ ।

काउन्सिलले मेडिकल कलेजमा अनुगमन गर्दा पाइएको पूर्वाधार, अकुपेन्सीलगायतका आधारमा सिट निर्धारण गर्छ । विगतको भन्दा कमजोर पाइएपछि सिट संख्या घटाइएको काउन्सिलले जनाएको छ । काउन्सिलले तोकेको मापदण्डका आधारमा नम्बर दिइन्छ र सोही आधारमा सिट तोकिन्छ । ‘जुन कलेजले आवश्यक पूर्वाधार र आधार पूरा गरेको हुँदैन, त्यसलाई सिट बढाउन खोज्नु गडबडी भएको छ,’ काउन्सिलका एक सदस्यले भने ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया