काठमाडौं १३ मंसिर /त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले अब ‘कागजविहीन प्रशासन’ चलाउने भएको छ । विश्वविद्यालयका उपकुलपति तीर्थराज खनियाले मंगलबार कीर्तिपुरस्थित विश्वविद्यालय हातामा निर्मित सूचना प्रविधि केन्द्र भवन उद्घाटनसँगै ‘कागजविहीन प्रशासन’ को घोषणा गरेका हुन् ।
२०७२ सालको भूकम्पले त्रिविको अधिकांश भवन क्षतिग्रस्त भएका थिए । त्यसपछि निर्माण गरिएको यो दोस्रो भवन हो । केही महिनाअघि त्रिविको कीर्तिपुर हातामै उत्तरपुस्तिका परीक्षण केन्द्र भवन उद्घाटन भइसकेको छ । त्रिविले कोरियाको ग्लोबल एड नेटवर्क (जीएएन) र नेपाल क्याम्पस क्रुसेड फर क्राइस्ट संस्थाको सहयोगमा भवन सूचना प्रविधि केन्द्र भवन निर्माण गरेको हो । एक तलाको भवन पाँच कोठाको रहेको छ । निर्माणका निम्ति ५१ लाख ६० हजार रुपैयाँ लागत लागेको जनाइएको छ ।
‘त्रिभुवन विश्वविद्यालयले नयाँ चरणमा प्रवेश गरेको छ,’ भवन उद्घाटनलगत्तै समारोहलाई सम्बोधन गर्दै उपकुलपति खनियाले भने, ‘ढिलै भए पनि उद्देश्यअनुसार राम्रो कामको थालनी भएको छ । अब भवनमात्र होइन, विश्वस्तरीय प्रविधिका यन्त्रहरू तत्काल विस्तार गरिने छ । र अब त्रिविले कागजविहीन प्रशासन सञ्चालन गर्नेछ ।’
जीएएनका निर्देशक रेभ हो योङ छोइले भवन निर्माणका अतिरिक्त सूचना प्रविधिका उपकरणसमेत सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । ‘त्रिभुवन विश्वविद्यालयको आईसीटी भवन निर्माणमा सहयोग गरेका छौं,’ निर्देशक रेभले भने, ‘थप सफ्टवेयर विस्तारका निम्ति हाम्रो सहयोग रहनेछ ।’
त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरमा एक केन्द्रीय क्याम्पस, विभिन्न संकायका डिन कार्यालय, केन्द्रीय पुस्तकालय, चारवटा फरक प्रकृतिका अनुसन्धान केन्द्र छन् । देशभरिमा ६० आंगिक क्याम्पस छन् । त्रिवि योजना महाशाखा प्रमुख प्राध्यापक ऋदिश पोखरेलले त्यसनिम्ति चालु आर्थिक वर्षमा १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जनाएका छन् । ‘अघिल्ला आर्थिक वर्षदेखिको योजना हो,’ उनले कान्तिपुरसित भने, ‘यसअघि आठ करोड रुपैयाँ थियो भने चालु वर्षमा थप दुई करोड बजेट थपिएको छ ।’
रजिस्ट्रार डिल्लीराम उप्रेतीले त्रिविलाई प्रविधिमैत्री तुल्याउन कार्यरत कर्मचारीलाई तत्काल तालिमको व्यवस्था गरिने बताए । ‘विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउदै लैजाने र सबै सूचना एकै ठाउँमा केन्द्रित गर्ने उद्देश्य अब साकार भएको छ,’ उनले भने, ‘कोरियाले गरेको सहयोगलाई अब विश्वविद्यालयले फडको मार्नेछ ।’
त्रिवि केन्द्रदेखि दुर्गम गाउँसम्म विद्युतीय नेटवर्क विस्तार गर्ने र त्यसअनुसार सबै खाले प्रशासनिक काम कारबाही सूचना प्रविधिमैत्री बनाउने जनाइएको छ । केन्द्रका प्रमुख दीपकबहादुर शाहीका अनुसार पहिलो चरणमा कीर्तिपुर, दोस्रो चरणमा काठमाडौं उपत्यका र तेस्रो चरणमा देशभरिका आंगिक क्याम्पसमा सूचना प्रविधिमैत्री बनाउने कार्ययोजना छ ।
कान्तिपुरमा प्रकाशित खबर ।
प्रतिक्रिया