Edukhabar
विहीबार, १२ भदौ २०८२
अन्तैवाट

अङ्ग्रेजी माध्यमले थामिए विद्यार्थी

विहीबार, १४ मंसिर २०७४

काठमाडौं १४ मंसिर/कुनै समय यस्तो थियो– तिलोत्तमा–१०, कान्छीबजारस्थित जनहित माविमा विद्यार्थी व्यवस्थापन गर्नै शिक्षकलाई गाह्रो हुन्थ्यो । कक्षाकोठामा विद्यार्थी अटाई–नअटाई बस्थे । तर, यस्तो अवस्था धेरै समयसम्म रहेन । नजीकै एकपछि अर्को निजी विद्यालय खुल्न थालेपछि विद्यार्थीको आकर्षण त्यतैतिर बढ्यो । यसको प्रमुख कारणमध्ये एक थियो–अङ्ग्रेजी माध्यममा पढाइ र कम्प्युटर शिक्षा ।

अभिभावकहरू आफ्ना छोराछोरी सकी–नसकी निजी विद्यालयमा पठाउन बाध्य भए । जनहितमा एकपछि अर्को वर्ष विद्यार्थीको सङ्ख्या घट्दै गयो । २०६७/६८ तिर आइपुग्दा तल्लो कक्षामा त विद्यार्थीको सङ्ख्या अत्यन्त न्यून हुन थाल्यो । विद्यार्थी थाम्न के गर्न सकिएला भन्ने विषयमा शिक्षक, अभिभावक, स्थानीय शिक्षाप्रेमी र समाजसेवीबीच छलफल भयो । छलफलबाट निष्कर्ष निस्कियो– अङ्ग्रेजी माध्यममा समेत अध्यापन गर्ने ।

सोही निर्णयअनुसार विद्यालयमा अङ्ग्रेजी माध्यममा पठनपाठन हुन थालेपछि अहिले पुनः विद्यार्थीको सङ्ख्या विस्तारै बढ्दै गएको छ । तर, उति बेलाको जस्तो विद्यार्थीको चाप अझै पुगिसकेको छैन । २०३२ सालमा स्थापना भएको यस विद्यालयमा अहिले ५ सय ५२ जना विद्यार्थीले अध्ययन गरिरहेका छन् । विद्यालयले कक्षा ७ सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यममा अध्यापन गराउँदै आएको छ । अङ्ग्रेजी माध्यममा अध्ययन गर्ने विद्यार्थी १ सय ९४ जना छन् । ‘अङ्ग्रेजी माध्यमको पढाइले विद्यार्थी केही हदसम्म थामिएका छन्,’ प्रधानाध्यापक नाथु चौधरीले भने, ‘तर जनशक्ति व्यवस्थापनमा समस्या झेलिरहेका छौं ।’

जनहितले २०७२ सालबाट अङ्ग्रेजी माध्यममा समेत अध्यापन शुरू गरेको हो । शुरुआतमा नर्सरीदेखि कक्षा ५ सम्म एकैसाथ अङ्ग्रेजी माध्यमका कक्षा सञ्चालन गरिएको थियो । यहाँ निजी विद्यालयमा जस्तै नर्सरी, एलकेजी र यूकेजीको समेत अभ्यास गरिएको छ । नर्सरीमा हाल २६, एलकेजीमा ३६, यूकेजीमा २८, कक्षा १ मा २०, कक्षा २ मा २३, कक्षा ३ मा २३, कक्षा ४ मा १२, कक्षा ५ मा १०, कक्षा ६ मा १० र कक्षा ७ मा ६ जना विद्यार्थी अङ्ग्रेजी माध्यममा अध्ययन गरिरहेका छन् । अङ्ग्रेजी माध्यममा पढाउने शिक्षकहरू प्रायः निजी स्रोतका हुन् । हाल विद्यालयमा १३ जना शिक्षक निजी स्रोतमा कार्यरत रहेको प्रधानाध्यापक चौधरीले जानकारी दिए । उनका अनुसार अभिभावकबाट लिइने सहयोग शुल्क र विद्यालयको जग्गाबाट आउने भाडा रकमबाट निजी स्रोतका शिक्षकलाई तलब खुबाउने गरिएको छ । यस विद्यालयको साढे ६ बिगाहा बढी जग्गा छ ।

नेपाली माध्यममा कक्षा १ मा १२, कक्षा २ मा ८, कक्षा ३ मा ५, कक्षा ४ मा २४, कक्षा ५ मा २९ जना विद्यार्थी छन् । यस्तै, कक्षा ६ मा ४१, कक्षा ७ मा ४९, कक्षा ८ मा ५१, कक्षा ९ मा ६८ र कक्षा १० मा ७१ जना विद्यार्थी रहेका छन् । विद्यार्थीको यो तथ्याङ्कले अङ्ग्रेजी माध्यमको पढाइले तल्लो कक्षामा विद्यार्थीको आकर्षण बढाएको प्रस्ट देखिन्छ ।

अङ्ग्रेजी माध्यममा अध्यापन हुन थालेसँगै विद्यार्थीको आकर्षण केही हदसम्म बढाउन सफल भएको अङ्ग्रेजी कक्षाका संयोजक लक्ष्मण गौतम स्वीकार गर्छन् । ‘अहिले तल्लो कक्षामा विद्यार्थीको सङ्ख्या राम्रै छ,’ उनले भने, ‘विस्तारै माथिल्ला कक्षामा पनि विद्यार्थीको सङ्ख्या बढ्ने अपेक्षा राखेका छौं ।’ यो विद्यालयमा कम्प्युटरको समेत पढाइ हुने गरेको छ ।

सामुदायिक विद्यालयले न्यून सहयोग शुल्कमा अङ्ग्रेजी माध्यममै अध्यापन गराउन थालेकोमा स्थानीय अभिभावक पनि खुशी छन् । नजीकै दुई निजी विद्यालय भए तापनि जनहितले अङ्ग्रेजी माध्यमका कक्षा चलाएर विद्यार्थी थाम्नुलाई अन्य विद्यालयले समेत प्रेरणाको रूपमा लिनुपर्ने अभिभावकहरू बताउँछन् ।

तिलोत्तमा नगरपालिका शिक्षा शाखा प्रमुख मित्रमणि खनालले अभिभावकको चाहनाअनुसार अङ्ग्रेजी माध्यममा अध्ययन–अध्यापनको व्यवस्था हुनु प्रशंसनीय रहेको बताए । अभिभावक र समुदायको चाहना अङ्ग्रेजी भाषा र कम्प्युटर शिक्षा भएकाले सामुदायिक विद्यालयहरूले समेत त्यसको प्रबन्ध मिलाउनुपर्नेमा उनले जोड दिए । ‘विद्यार्थी, अभिभावक र समुदायको मन जितेर काम गर्ने विद्यालयलाई प्रोत्साहन गर्न हामी सधैं तयार छौं,’ विद्यालय निरीक्षणका क्रममा जनहित मावि पुगेका खनालले भने ।

अभियानमा प्रकाशित खबर ।

प्रतिक्रिया