काठमाडौं ३ पुस / भूकम्पले भत्किएको भवन । त्यसकै एउटा साँघुरो कोठामा खाँदिएर पढिरहेका विद्यार्थी । सिन्धुपाल्चोककोे लेकाली बस्ती चोकटीस्थित गणेश आधारभूत विद्यालयको दृश्य हो यो ।
भूकम्प गएको लामो समय बितिसक्यो । तर, अहिलेसम्म भवन नबन्दा त्रिपुरासुन्दरी गाउँपालिकाको चोकटी लाटुका ४५ बालबालिका मुटु ठिहिर्याउने जाडोमा यस्तै कष्ट सहेर अध्ययन गर्न बाध्य छन् । ‘चिसोले कठ्यांग्रिँदा बालबालिका पढ्न सक्दैनन्, घाम लागेपछि मात्रै कक्षा सुरु हुन्छ,’ प्रधानाध्यापक कृष्णप्रसाद दाहालले भने, ‘भवनकै समस्याले हिउँद कटाउन मुस्किल हुने भयो ।’
भूकम्प गएको झन्डै तीन वर्ष भइसक्दा पनि सहयोग नपाएपछि विद्यालय भवन निर्माण हुन नसकेको हो । पक्की भवन नबनेकै कारण चिसोले कलिला बालबालिका बिरामी पर्न थालेको प्रअ दाहालले बताए । ‘उच्च भेगमा रहेका झन्डै २५ विद्यालयको अवस्था यस्तै छ,’ भोटेकोसी गाउँपालिकास्थित मार्मिङ गोल्ची माविका प्रअ प्रेमकुमार राउतले भने, ‘हिमाली गाउँका विद्यालयलाई टहरामा हिउँद कटाउन निकै मुस्किल पर्ने गरेको छ ।’
विद्यार्थी पनि चिसोको कहरले पढ्न समस्या भएको बताउँछन् । ‘पढ्न भनेर टाढाबाट आइन्छ, आनन्दले पढ्न नपाउँदा खल्लो लाग्छ ,’ कक्षा ४ मा अध्ययनरत सुवास तामाङले भने, ‘चिसो खप्न नसकेर पढ्न आउँदाआउँदै बिरामी परिन्छ ।’ चिसोले गर्दा उनी केही दिन थलिए । त्यसपछि फेरि नियमित विद्यालय आउन थालेका छन् । ५६ बालबालिका अध्ययन गर्ने गोल्ची मावि अझै टहरामै सञ्चालित छ ।
सरकार र संघसंस्थाले आफूखुसी काम गर्दा दुर्गम गाउँका विद्यालयमा सहयोग नपुगेको अभिभावकको आरोप छ । ‘दुर्गमका विद्यालयलाई उपेक्षा गरिएको छ,’ भोटेकोसी गाउँपालिकाकै निमा लामाले भने । पुस पहिलो साताबाट चिसो बढेको छ । यस्तोमा खुला कोठामा अध्ययन गर्ने बालबालिकालाई केही महिना जाडाले सताउने लामाले बताए । राति तुसारो पर्ने, दिउँसो घाम नलाग्ने र सिरेटो चल्ने भएकाले बालबालिका नियमित विद्यालय आउँदैनन् ।
जिल्ला कार्यान्वयन इकाइका अनुसार भूकम्पले क्षतिग्रस्त जिल्लाका ५ सय ३० मध्ये अहिलेसम्म ७६ विद्यालयको मात्रै निर्माण सम्पन्न भएको छ । ‘३ सय ६ विद्यालय निर्माणको चरणमा छन्,’ कार्यान्वयन एकाइका प्रमुख गोकर्णध्वज कार्कीले भने, ‘न्यून विद्यार्थी भएका र मर्ज भइसकेका १ सय ३९ विद्यालयमा विभिन्न समस्याले निर्माण कार्य सुरु हुनै सकेको छैन ।’
कान्तिपुरमा अनिश तिवारीले लेखेका छन् ।
प्रतिक्रिया