Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

भूकम्पमा विद्यालय भत्किएको ३२ महिना बित्यो पुनर्निर्माण खै ?

बुधबार, ०५ पुस २०७४

काठमाडौं ५ पुस / खिम्ती खोला किनारको जट्टेश्वरी माविमा पुसको चिसो सिरेटोले बसिसक्नु हुन्न । २०७२ वैशाखमा गएको भूकम्पमा भत्किएको विद्यालय ३२ महिना बितिसक्दा पनि पुनर्निर्माण भएको छैन । बाँसले बारेको छाप्रोमा दिनभर कठ्यांग्रिँदै कलिला बालबालिका समय बिताउन बाध्य छन् ।

घाम लागेपछि बालबालिका खुला चौरमा निस्कन्छन् । बालबालिकाको घेरामा शिक्षक पस्छन् र त्यहीं पठनपाठन सुरु हुन्छ । घाम लागेन भने दिनभर थरथरी काँप्दै छाप्रोमै पठनपाठन गर्नुको विकल्प छैन । ‘तातोमा राखेर पढाउन सकिएको छैन,’ अविभावक एवं पूर्वप्रअ श्रीराम कार्की भन्छन्, ‘दाताले आशा देखायो, घर बनाइदिएन । अरूलाई बनाउन पनि नदिने आफू पनि काम नगर्नेको लाइनमा परिएछ,’ उनले दुखेसो पोखे । रामेछाप जिल्लाका अन्य विद्यालय धमाधम पुनर्निर्माण हुँदा चुचुरेको विद्यालयमा भग्नावशेषसमेत हटेको छैन । जिल्ला शिक्षा र अन्य निकायले बनाइदिएका अस्थायी अध्ययन केन्द्र भत्किइसकेका छन् ।

विद्यालयका प्रअ मोहनकुमार खड्का आफ्नो विद्यालय बत्तीमुनिको छायाँमा परेको गुनासो गर्छन् । ‘हाम्रा बालबालिका कठ्यांग्रिएको कुरा स्थानीय सरकार भन्ने जनप्रतिनिधिले महसुस नै गरेनन्,’ उनले गुनासो पोखे, ‘माननीय र गाउँपालिका उपप्रमुख भएको गाउँको विद्यालयमा कसैको चासो दिएनन् ।’ खडकाले चिसोका कारण बालबालिकालाई विभिन्न खालका समस्या आउने गरेको बताए । ‘कतिपय त चिसो खप्न नसकेर बेहोसै हुने गरेका छन्,’ उनले भने । भूकम्पबाट क्षति पुगेका विद्यालयको पुनर्निर्माणका लागि स्थापित जिल्ला आयोजना कार्यान्वयन इकाइका प्रमुख हेमन्तकुमार बुढाथोकीका अनुसार उक्त विद्यालयको पुनर्निर्माणको जिम्मा भारतीय राजदूतावासले लिएको छ । ‘जिल्लाको सबैभन्दा पहिला निर्माण गर्नुपर्ने सूचीमा समावेश विद्यालय छनोट गरी हामीले भारतीय राजदूतावासमा पठाएका हौं,’ बुढाथोकी भन्छन्, ‘त्यसपछि छनोटमा परेका विद्यालय पुनर्निर्माण सम्पन्न हुने चरणमा छन् तर पहिलो चरणमा नै बनाउनुपर्ने विद्यालय चाहिँ असरल्ल पर्‍यो ।’

बुढाथोकीका अनुसार भवन नभएर पठनपाठन नै प्रभावित भएकामध्ये प्राथमिकीकरणमा परेका जट्टेश्वरीलगायत कठजोरको नीलकण्ठेश्वर, खाँडादेवीको कृष्ण मावि टिमु, खनियापानीको कृष्णपुरी मावि, लखनपुरको अन्तर्राष्ट्रिय युवावर्ष मावि, दुरागाउँको त्रिपुरेश्वर मावि, स्यास्कुको जनकल्याण मावि, हिलेदेवीको पशुपति मावि र खाँडादेवीको चोप्राङ गरी १० वटा विद्यालयको पुनर्निर्माणको काम गर्ने भन्दै भारतीय राजदूतावासले जिम्मा लिएको थियो ।

अझै बनेनन् क्षतिग्रस्त संरचना शिर्षकमा टीकाप्रसाद भट्टले कान्तिपुरमा लेखेका छन् ।

प्रतिक्रिया