Edukhabar
शनिबार, ०२ जेठ २०८३
अन्तैवाट

छात्राहरुले सपथ खाँदै भने, ‘महिनावारीका कुरा गर्न लजाउँदैनौ’

मंगलबार, १८ पुस २०७४

काठमाडौं १८ पुस / गुल्मीका विभिन्न विद्यालयमा अध्ययनरत छात्राहरुले अवदेखि महिनावारीका कुरा गर्न लाज नमान्ने सपथ खाएका छन्। मासिक रुपमा हुने महिनावारीलाई सहज रुपमा लिइने समेत उनीहरुले प्रतिवद्धता जनाएका छन्। सेवा सञ्चार गुल्मीद्धारा एक सातासम्म संचालित ‘सुरक्षित महिनावारी स्वास्थ्य सम्वन्धी अभिुमखीकरण कार्यक्रम’का अवसरमा छात्राहरुले यस्तो प्रतिवद्धता जनाएका हुन्। जिल्लाका १९ वटा विद्यालयमा उक्त कार्यक्रम गरिएको छ। महिनावारी भएको बेला छात्राहरुको पठनपाठन प्रभावित नहोस् भन्ने उद्देश्यले महिनावारी स्वास्थ्य सम्वन्धी कार्यक्रम गरिएको थियो।

महिनावारी भएको बेला गरिने सरसफाई, सेनेटरी प्याडको प्रयोग, विद्यालयमा इन्सीनेटर सहितको शौचालयको अवस्थाका बारेमा झण्डै एक हजार तीनसय पचास जना छात्राहरुलाई जानकारी गराइएको छ। छात्राहरुले विद्यालयका शिक्षक÷शिक्षिकाहरुलाई महिनावारीका वारेमा आफ्ना समस्या खुलेरै राख्ने बताएका छन्। ‘महिनावारीलाई कसरी सुरक्षित बनाउने भन्ने कुराको जानकारी पाइयो’,देउराली निमावी इस्मा गाउँपालिका-४ खग्रेटाकी कक्षा आठमा अध्यनरत अन्जली विकले भनिन्,‘धेरैपटक महिनावारी भएको बेला विद्यालय जादैन्थे।’ गाउँका दिदिवहिनीलाई समेत महिनावारी भएको बेलामा गरिने सावधानीको वारेमा आफूले जानकारी गराउने उनले बताइन।

इस्मा गाउँपालिकाको आर्थिक सहयोगमा सेवा संचारले छात्राहरुलाई अभिमुखीकरण गराएको हो। ‘गाउँपालिका भित्रका सवै निमावी र मावीहरु महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त घोषणा भएका छन्’,गाउँपालिका उपाध्यक्ष विमला खत्रीले भनिन्,‘छिट्टै गाउँपालिकालाई नै महिनावारीमैत्री बनाएर घोषणा गर्ने तयारीमा छौँ।’ उनले गाउँपालिकालाई मुलुककै पहिलो महिनावारीका लागि सुरक्षित सामग्रीयूक्त विद्यालय घोषणा गर्ने लक्ष्य रहेको समेत जानकारी गराइन। एक साताभित्र एक हजार तीन सय छात्राहरुलाई प्रति विद्यार्थी चारवटाका दरले सेनेटरी प्याड वितरण गरिएको गाउँपालिका कार्यकारी अधिकृत सरोजकुमार पोख्रेलले जानकारी गराए।

विद्यालयमा इन्सीनेटर सहितको छात्रा शौचालय, छात्राहरुको महिनावारी हेर्ने ‘फोकल’ शिक्षिकाको व्यवस्था, सञ्जाल गठन, सेनेटरी प्याड वा सुरक्षित सामग्रीको नियमित व्यवस्था र सुरक्षित महिनावारीको विषयमा अभिमुखीकरण कार्यक्रम लगाएत सूचकहरु पुरागरेपछि विद्यालयलाई घोषणा गरिएको सेवा सञ्चार गुल्मीका प्रशिक्षक अशोक कुमार खड्काले बताए। ‘पाँच वर्षदेखि जिल्लामा अभियानकै रुपमा सुरक्षित महिनावारी सम्वन्धी कार्यक्रम गर्दै आइरहेका छौँ’,उनले भने,‘हालसम्म जिल्लाभर ३७ विद्यालयका छात्राहरुलाई यसवारे जानकारी गराइसक्यौँ।’ महिनावारी भएको बेला छात्राहरु उपस्थित नहुने, बीचमै कक्षाकोठा छाडेर घरजाने र समस्या खुलेर नराख्ने अवस्था पाइएको उनले अनुभव सुनाए। संस्थाले हालसम्म निरन्तर अभियानकै रुपमा महिनवारी सम्वन्धी कार्यक्रम गर्दै आइरहेको छ।

अन्नपूर्ण पोष्टमा गंगा खड्काले लेखेको खबर ।

प्रतिक्रिया