Edukhabar
बुधबार, ११ भदौ २०८२
अन्तैवाट

विद्यालय सुधारमा जोखिम प्राथमिकता

शुक्रबार, २१ पुस २०७४

काठमाडौं २१ पुस / गुणस्तर सुधार र विद्यार्थी टिकाउजस्ता कार्यक्रम समावेश गरिने विद्यालय सुधार योजनामा भौतिक जोखिम न्यूनीकरणका योजना पनि समावेश गर्न थालिएको छ । विद्यालय सुधार योजनामा शैक्षिक गुणस्तर वृद्धि, भौतिक पूर्वाधार निर्माण र व्यवस्थापकीय सुधार समावेश हुन्छ ।

तीनवटै शीर्षकमा आन्तरिक रबाहिरी जोखिम न्यूनीकरणलाई समेत प्राथमिकता दिएर अधिकांश विद्यालयले योजना बनाउन सुरु गरेका छन् । दुई वर्षअघिको भूकम्पपछि अधिकांश भवन जोखिमयुक्त भएको भन्दै अब बन्ने हरेक भवन भूकम्पीय जोखिमबाट बच्ने बनाउने, बाढीपहिरो, आगलागी र चट्याङबाट जोगाउने लगायतका विषयलाई सुधार योजनामा समावेश गर्न थालिएको हो ।

पहिलो चरणमा बागलुङका २० वटा विद्यालयमा नमुनाका रूपमा गैसस र केही विशेषज्ञको सहयोग लिएर सुधारका योजना बनाइएको सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले बताए । नमुनाका आधारमा अन्य सबै विद्यालयमा अनिवार्य योजना बनाउन लगाइएको छ ।

‘भवन जोखिम भएमा भूकम्पले मानवीय जोखिम बढ्न नदिन सुरक्षित स्थान, आन्तरिक रूपमा भवन सुरक्षित बनाउने काम पनि थालिएका छन्,’ उपाध्यायले भने, ‘विद्यालयमा बाढीपहिरो पस्ने खतरा भएको देखिएमा तत्काल तटबन्ध र अन्य सुरक्षाका काम थाल्ने योजना पनि बनेका छन् ।’ हावाहुरीले छाना उडाउने खतरामा समेत धेरै विद्यालय रहेका थिए । ठूला रूखको फेदमा विद्यालय राख्दा ढलेर लाग्ने जोखिम, आगलागीले भेट्ने स्थान भएमा सुरक्षा उपयासमेत समावेश गरेर योजना बन्न थालेका हुन् । अभिभावक, विद्यार्थी, शिक्षक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारी बसेर सम्भावित जोखिमबारे छलफल गर्दै योजना बनाएको सिगाना मावि तित्याङका प्रअ गोपालकुमार शर्माले बताए । ‘विद्यालय सुधार योजना धेरैपटक बनाएका थियौं, आफ्नै वरपरमा भएका जोखिमबारे पनि वास्ता गरेका थिएनौं,’ शर्माले भने, ‘अहिले आएर धेरै जोखिम देख्न थालेपछि योजनामा राखेर काम गरेका छौं ।’

योजना निर्माण र कार्यान्वयनका लागि थप बजेटसमेत माग्ने काम सुरु भएको उनले बताए । ‘घर जोखिम हुँदा केही मानिसको ज्यान जोखिममा पर्छ, विद्यालय जोखिम हुँदा सयौं बालबालिका खतरामा पर्छन्,’ शर्माले भने, ‘अब हामीले यस्ता विषय बुझ्ने मौका पाएका छौं ।’ चुस्त प्रशासन, दक्ष शिक्षक र पक्की भवन भएपछि हामी समृद्ध छौं भन्ने भावना फेरिएको उनले बताए । योजना निर्माणपछि बन्न थालेका भवनका हरेक कोठामा दुईदुई वटा ढोका निर्माण हुनथालेका छन् ।

त्यस्तै, भित्र धकेलेर खोल्ने गरिएकोमा बाहिर धकेलेर खोल्न मिल्ने ढोका बन्न थालेको जिल्ला शिक्षा अधिकारी गुरुप्रसाद पौडेलले बताए । भूकम्प गएमा कसरी बच्ने भन्ने विषयमा हरेक विद्यालयमा शिक्षक र विद्यार्थीलाई तालिम दिन थालिएको छ । ‘महिनाको एक दिन विद्यार्थीले जोखिम न्यूनीकरण अभ्यास पनि गर्न थालेका छन्,’ पौडेलले भने, ‘यस्ता अभ्यासले जोखिमबाट पार लगाउने तरिकाबारे सिकाइ बढेको पाइयो ।’ जिल्लाका ५ सय २८ वटै विद्यालयमा यस्ता योजना बनाउन निर्देशन दिएको उनले बताए । कतिपय विद्यालयले त्यस्ता योजना बनाएर जानकारीसमेत पठाइसकेका छन् ।

कान्तिपुरमा प्रकाश बरालले लेखेका छन् ।

प्रतिक्रिया