काठमाडौं २२ पुस / रामेछापको मन्थली नगरपालिका– ३ ठूलीमदौमा रहेको कालिकादेवी आधारभूत विद्यालयले विद्यार्थीलाई खानेपानी अनिवार्य रूपमा लिएर आउन निर्देशन दिएको छ ।
लामो समयदेखि खानेपानीको अभाव भएकाले विद्यार्थीकै हितका लागि यस्तो निर्देशन दिएको प्रधानाध्यापक चन्द्रबहादुर केसीले जानकारी दिए । निर्देशनपछि बालबालिकाले मिनरलको बोतलमा पानी ल्याउने गरेका छन् । गाउँमा नै पानी अभाव भएपछि विद्यालयवरपरका घरले पनि खानेपानी नदिने गरेको प्रधानाध्यापक केसीले बताए ।
विगत ११ वर्षदेखि पानीको मूल सुक्दै गएको स्थानीय बताउँछन् । पुराना मूल सुक्ने र नयाँ मूल नफुट्ने कारण पानीको संकट गहिरिएको अभिभावक मोहनबहादुर थापाले बताए । भूकम्पले बाँकी रहेका मूल पनि सुकेको बताइन्छ । सो विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययनरत छन् । विद्यालय सदरमुकाम मन्थलीबाट करिब १० किलोमिटर टाढा छ ।
सो विद्यालयको भवन भूकम्पले ध्वस्त बनाएको थियो । भूकम्पले शौचालयसमेत भत्काएकाले अहिले समस्या भइरहेको विद्यालयले जनाएको छ । शौचालय समस्याका कारण पठनपाठनमा प्रभाव परेको अभिभावक मोहनबहादुर थापाले बताए ।
नयाँ पत्रिकामा दीपक भट्टले लेखेका छन् ।
प्रतिक्रिया