काठमाडौं १ माघ / दुई जिल्लाका प्रध्यानाध्यापकहरूको मंगलबार बसेको सयुंक्त बैठकले गरेका निर्णय कार्यान्वयन नहुने भएको छ । रुकुम पश्चिम र पूर्व जिल्लाका प्रध्यानाध्यापकको बैठकले चालू शैक्षिक सत्रको कक्षा ८ को परीक्षा शिक्षा कार्यालयले नै गराउने निर्णय कार्यान्वनमा नआउने भएको हो ।
जिल्ला शिक्षा अधिकारी कर्णबहादुर कवरलाई राखेर प्रध्यानाध्यापकहरूले शिक्षा कार्यालयले नै कक्षा ८ को परीक्षा गराउने निर्णय गरेका थिए । पुराना विद्यालय ऐनकानुन खारेज नभएको र नयाँ नबनेको भन्दै प्रअहरूले कक्षा ८ को परीक्षा स्थानीय नभई जिल्लास्तरीय बनाउनु उपयुक्त हुने निर्णय गरेका थिए ।
प्रअहरूले गरेको निर्णय उपयुक्त र कानुनविपरीत भएको भन्दै शिक्षा समितिले कक्षा ८ को परीक्षा सम्बन्धित स्थानीय तहले नै सञ्चालन गर्ने गरी निर्णय गरेको छ । समिति गठनसँगै बसेको पहिलो बैठकले सम्पूर्ण अधिकार स्थानीय तहमा गइसकेकाले कक्षा ८ को वार्षिक परीक्षा जिल्ला स्तरबाट नभई स्थानीय तहबाटै गर्न उपयुक्त हुने र त्यसैअनुसार गर्न/गराउन सम्बन्धित सबै तहलाई भनेको छ । समिति संयोजक राजकुमार शर्माले शिक्षाका अधिकार स्थानीय तहमा गइसकेकाले जिल्लाबाटै कक्षा ८ को वार्षिक परीक्षा सञ्चालन हुने परिकल्पना नभएको बताए । ‘शिक्षाका सम्पूर्ण अधिकार स्थानीय तहमा गएपछि परीक्षा जिल्लाबाट गर्नुपर्छ भन्ने तर्क गलत छ,’ शर्माले भने, ‘समितिले सम्बन्धित तहलाई मर्यादित तवरले आआफ्नै तरिकाले गर्न भनिएको छ ।’ उनले प्रअहरूको निर्णयको अर्थ नभएको बताए । ‘शिक्षाको आधिकारिक निकायलाई खबर नगरेर भएको निर्णयमा समितिले केही बोल्नु पर्दैन,’ उनले भने, ‘समितिले नियमानुसार गर्नु/गराउनु भन्ने न हो ।’
चालू शैक्षिक सत्रको कक्षा ८ को वार्षिक परीक्षामा शिक्षा कार्यालयको भूमिका सहयोगीमात्रै हुनेछ । शिक्षाले परीक्षा सञ्चालनका लागि स्थानीय तहलाई आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गर्ने छ । परीक्षा तयारी, प्रश्नपत्र निर्माण र उत्तरपुस्तिका परीक्षणलगायत काम स्थानीय तहले नै गर्नेछ । प्रअहरूको बैठकबाट शिक्षा कार्यालयले गराउने निर्णयप्रति स्थानीय तहले आपत्ति जनाएका थिए ।
उत्कृष्ट नतिजा ल्याउने विद्यालय र शिक्षक पुरस्कृत हुने
यसैबीच आठबिसकोट नगरपालिकाले चालू शैक्षिक सत्रमा राम्रो नतिजा ल्याउने विद्यालय र शिक्षकलाई एक लाखले पुरस्कृत गर्ने निर्णय गरेको छ । नगर शिक्षा समिति बैठकबाट पहिलो हुने विद्यालयलाई एक लाख, दोस्रोलाई ७५ हजार, तेस्रोलाई ५० हजार प्रोत्साहन रकम दिने निर्णय गरेको हो । यसैगरी कक्षा ८ र ५ को अंग्रेजी, गणित, विज्ञान, सामाजिक विषयमा उत्कृष्ठ नतिजा ल्याउने शिक्षकलाई १० हजार रुपैयाँबाट पुरस्कृत र नतिजा कमजोर आउनेलाई कारबाही गर्नेसम्मको निर्णय गरेको छ । कक्षा ८ को परीक्षा चैत १८ गतेबाट सञ्चालन गर्ने निर्णय भएको नगर शिक्षा समिति संयोजक तथा नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।
कान्तिपुरबाट
प्रतिक्रिया