Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

विद्यालय निर्माण गर्न साइकल यात्रा

शुक्रबार, ०५ माघ २०७४

काठमाडौं ५ माघ / २०७२ सालको भूकम्पबाट भत्केको विद्यालय भवन पुनर्निर्माणका लागि आर्थिक संकलन गर्न मेची–महाकाली साइकल यात्रा सुरु गरेका दुई विदेशी नागरिकसहितको टोली बिहीबार लुम्बिनी आइपुगेको छ ।

काभ्रेको मण्डन गाउँपालिका–२ देउपुरमा रहेको नगर होप आधारभूत विद्यालय भवन चर्केर काम नलाग्ने भएपछि पुनर्निर्माणका लागि मेची–महाकाली साइकल यात्रा सुरु गरी आर्थिक संकलन अभियानमा आयरल्यान्डका नागरिक फकना क्लान्डेलन जुटेका हुन् ।

आयरल्यान्डकै उनका साथी लेनी भगेन्नीसले सँगै यात्रा गर्दै फकनाको अभियानलाई साथ दिएका छन् । अर्जुन ठटाल र अर्जुन रिखाम मगर पनि सँगै यात्रामा छन् । ‘यो साइकल यात्रा विद्यालयको प्राइमरी तहसम्मको भूकम्प प्रतिरोधी भवन निर्माणका लागि आर्थिक सहयोग जुटाउने उद्देश्यले सुरु गरिएको हो,’ यात्राका क्रममा भैरहवामा भेटिएका फकना क्लान्डेलनले स्थानीय सञ्चारकर्मीसँग भने, ‘म नेपाली बालबालिकाको खुसी देख्न चाहन्छु ।’

केही वर्षअघि स्वयंसेवकका रूपमा नेपाल आइपुगेका फकनाले स्थानीय केही सहयोगीका साथ लिएर नेपालमा विसं २०६६ मा नगरहोप आयरल्यान्ड नामक गैरसरकारी संस्था सञ्चालन गरेर २०७१ सालमा उक्त विद्यालय खोलेका थिए । २०७२ सालको भूकम्पले विद्यालय भवन चर्केर काम नलाग्ने भएपछि अस्थायी रूपमा टिनको टहरा बनाएर सञ्चालन गरिएको छ । हाल कक्षा १ सम्म सञ्चालनमा रहेको उक्त विद्यालयमा ६५ जना विद्यार्थी र ७ जना शिक्षक छन् । विसं २०७६ सम्ममा कक्षा ३ हँुदै ५ कक्षासम्म सञ्चालन गर्ने लक्ष्य छ ।

उक्त विद्यालय सञ्चालन गर्न र नेपालको अन्य क्षेत्रमा पनि सहयोग गर्न उनकै पहलमा आयरल्यान्डमा ‘नगर होप आयरल्यान्ड’ नामको संस्था क्रियाशील छ । यस संस्थाका संस्थापक अध्यक्ष पनि फकना नै हुन् । उनका अनुसार यस संस्थाले २०७२ सालको भूकम्पबाट क्षति पुगेका नेपालका ९ जिल्लाका ८५ वटा विद्यालयलाई हालसम्म १ करोड भन्दा धेरै आर्थिक सहयोग उपलब्ध गराइसकेको छ ।

आर्थिक सहयोग जुटाउन उनले साइकल यात्रा गर्नुको उद्देश्य वेबसाइड र फेसबुक पेजमा उल्लेख गरेका छन् । प्रत्येक किलोमिटर यात्रा पूरा गर्दा उनले फेसबुकबाट जानकारी दिने गरेका छन् । र, आफ्ना सहयोगी र शुभेच्छुक मार्फत प्रतिकिमिको यात्रामा १० युरो संकलन गर्ने लक्ष्य राखेका छन् ।

अहिलेसम्म १७ सय युरो संकलन भइसकेको छ,’ फकनाले भने, ‘यात्रा अवधिरभर म ४० वर्ष उमेरको हुने छु र ४० हजार युरो संकलन गर्ने लक्ष्यमा छु ।’ संकलित रकम संस्थाको खातामा जम्मा हुने छ । कुल १ हजार १ सय ७० किमिको यो यात्रा पूरा गर्नका लागि उनले पुस २४ गते काँकडभिट्टाबाट सुरु गरेका हुन् । हुलाकी सडक हँुदै महेन्द्रनगरमा उनको यात्रा टुंगिने छ । शुक्रबार उनीसहितको टोलीले लुम्बिनीस्थित विभिन्न राष्ट्रका मोनास्ट्रीको तस्बिर लिने योजना छ ।

कान्तिपुरमा माधव ढुङ्गानाले लेखेका छन् ।

प्रतिक्रिया