काठमाडौं १३ माघ / शैक्षिक–प्रशासनिक अन्योलकै मध्यपश्चिमाञ्चल विश्वविद्यालयले विद्यावारिधि (पीएचडी) कार्यक्रम सुरु गरेको छ। उच्च शिक्षाका अन्य कार्यक्रम व्यवस्थित गर्न नसकेको आरोप लागिरहेका बेला एमयूले पूर्वाधारबिनै विद्यावारिधि कार्यक्रम थालेको हो ।
एमयूले प्रदेश प्रमुख दुर्गाकेशर खनाल तथा प्रदेशका सांसदहरूलाई सम्मान गर्न शुक्रबार आयोजित कार्यक्रममा पीएचडी शुभारम्भ भएको जनाएको हो। व्यवस्थापन संकायका डिन मस्तबहादुर गरञ्जाले पहिलो दिनमै ३ विद्यार्थीको प्रस्तावना पेस भइसकेको बताए। विद्यावारिधि अध्ययनका लागि प्रस्तावना पेस गर्नेमा पूर्णमान श्रेष्ठ, जितबहादुर शाह र राजेन्द्र महर्जन छन्।
विद्यावारिधि शोधार्थीहरूको निर्देशकका रूपमा त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूलाई यहाँ निम्त्याइएको छ। प्राज्ञिक क्षेत्रका अगुवाले पूर्वाधार, जनशक्तिबिनै पीएचडी सुरु गर्नु सस्तो लोकप्रियताका लागि मात्र भएको आलोचना गर्न थालेका छन्। पूर्वडिन पीताम्बर ढकालले आवश्यक तयारीबिनै पदाधिकारीले चर्चा कमाउन विद्यावारिधि सुरु गरेको टिप्पणी गरे।
प्रदेश प्रमुख खनालले विश्वविद्यालय स्थापनाका लागि १७ पटक काठमाडौंमा डेलिगेसनमा गएको स्मरण गर्दै पीएचडी सुरु गर्नु गौरव भएको बताए। उपकुलपति प्रा.डा. उपेन्द्र कोइरालाले विश्वविद्यालयले कानुन, कृषि, नर्सिङ, जडीबुटी, फिजियोथेरापी, मेडिकल ल्याबलगायतको पाठ्यक्रम तयार गरिरहेको जनाए।
एमयूमा पूर्वाधारबिनै पीएचडी शिर्षकमा कान्तिपुरमा प्रकाशित
प्रतिक्रिया