Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

बंगलादेशमा कृषि पढ्दै नेपाली

शुक्रबार, १९ माघ २०७४

काठमाडौं १९ माघ / लमजुङका नरहरि घिमिरे तीन वर्षदेखि शेर–ए–बंगला कृषि विश्वविद्यालयमा बीएससी गर्दै छन् । उनीसँग अध्ययनरत छन् बाराका दीपक चौधरी र जनकपुरका राहुल चौधरी । चारवर्षे स्नातक कोर्समा हाल १९ जना नेपाली भविष्य खोजिरहेका छन् ।

ढाकाको शेर–ए–बंगला कृषि विश्वविद्यालय दक्षिण एसियाकै पुरानो मानिन्छ । भारत स्वतन्त्रतापूर्व सन् १९३८ तिर नै यो एउटा कृषि इन्स्टिच्युटको रूपमा स्थापित थियो । पछि २००१ मा मात्रै विश्वविद्यालयमा स्तरोन्नति गरिएको थियो । यहाँ नेपालसहित, भारत, श्रीलंका, पाकिस्तान, भुटानका विद्यार्थी आउने गरेका छन् । हाल यहाँ करिब ५ हजार विद्यार्थी छन् ।
नेपाली विद्यार्थीले नेपाल सरकारको सिफारिसमा बंगलादेश सरकारमार्फत छात्रवृत्ति पाएर पढ्ने मौका पाएका हुन् । बंगलादेश सरकारले नेपाली विद्यार्थीका लागि वार्षिक ४ लाख रुपैयाँ खर्च उपलब्ध गराउँदै आएको छ । यो रकममा विश्वविद्यालयले अध्ययन र खानाको प्रबन्ध गर्ने गर्छ ।

‘खाना खर्च आफंै व्यहोर्नुपर्ने हुन्छ,’ दीपकले भने । उनका अनुसार निक्कै लामो प्रक्रिया पूरा गरेर मात्रै नेपालीले छात्रवृत्ति पाउँछन् । बंगलादेशी दूतवासले प्रत्येक वर्ष बढीमा २० नेपालीका लागि कोटा निर्धारण गरेको हुन्छ, सार्क छात्रवृत्तिमार्फत ।

यहाँ अध्ययनका लागि इच्छुक विद्यार्थीले एसईईमा ६० प्रतिशतभन्दा बढी अंक प्राप्त गरेको हुनुपर्छ । पहिला बंगलादेशी दूतावासमा छात्रवृत्तिका लागि आवेदन दिनुपर्छ । यसले बंगलादेशस्थित नेपाली दूतावासमा फाइल फरवार्ड गर्छ । दूतावासबाट कन्फरमेसन लेटर आएपछि काठमाडौंस्थित बंगलादेशी दूतावास, ढाकाको नेपाली दूतावासले पालैपालो अन्तर्वार्ता लिन्छन् । दुइटै अन्तर्वार्तामा पास भएपछि मात्रै विश्वविद्यालयले औपचारिक रूपमा विद्यार्थी बोलाउँछ ।

‘सुरुमा टुरिस्ट भिसामा आएर भर्नाका सबै प्रक्रिया सकेपछि विद्यार्थी भिसाका लागि पुन: काठमाडांै जानुपर्ने हुन्छ,’ दीपकले भने, ‘झन्झटिलो प्रक्रिया छ ।’

निकै लामो र झन्झटिलो प्रक्रियाबाट अध्ययनको अवसर पाएका नेपालीहरूले पनि भाषाको सकस व्यहोर्नुपर्छ । विश्वविद्यालयमा प्राय: बंगाली भाषाबाटै पठनपाठन गराइने परिपाटी छ, जसका कारण नेपाली विद्यार्थीलाई बुझ्नै हम्मे पर्ने गरेको छ । ‘अंग्रेजी भाषाको प्रयोग ज्यादै कम हुन्छ विश्वविद्यालयमा,’ नरहरिले भने, ‘भाषा बुझ्नै गाह्रो हुन्छ ।’

कान्तिपुरमा पर्वत पोर्तेलले लेखेको खबर

प्रतिक्रिया