Edukhabar
सोमबार, ०९ भदौ २०८२
अन्तैवाट

‘गुणस्तरीय शिक्षामा जोड दिनू’

सोमबार, २२ माघ २०७४

काठमाडौं २२ माघ राष्ट्रपति विद्यादेवी भण्डारीले विकासको मूल आधारका रूपमा रहेको गुणस्तरीय शिक्षा प्रदान गर्न राज्य सधैं कटिबद्ध रहनुपर्ने बताएकी छन् ।

मकवानपुरको थाहा नगरपालिकास्थित जनकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको आइतबार स्वर्ण स्तम्भ र कृषि प्रयोगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले गुणस्तरीय शिक्षाका लागि शैक्षिक तथा भौतिक पूर्वाधारसहित अध्ययन अध्यापनका लागि उपयुक्त परिवेश निर्माण गर्नुपर्ने उल्लेख गरिन् ।

विद्यालयमा सुविधासम्पन्न पुस्तकालय निर्माणमा पहल गर्नु जरुरी छ,’ उनले भनिन्, ‘शिक्षाको अवसरबाट वञ्चित रहेका बालबालिकाहरूलाई विद्यालयको पहु‘चमा पुर्‍याउँदै उनीहरूलाई प्राविधिक ज्ञान दिएर स्वरोजगार हुन सक्ने अवस्था निर्माण गर्नु आवश्यक छ ।’

थाहा नपामा पर्यटन विकासको प्रशस्त सम्भावना रहेकाले पूर्वाधारको विकास गरेर पर्यटन व्यवसायको माध्यमबाट मुलुकको आर्थिकविकासमा टेवा पुर्‍याउन उनले जोड दिएकी थिइन् । स्व. रूपचन्द्र विष्टको सक्रियतामा स्थापना भएको उक्त विद्यालयको स्वर्ण महोत्सवको अवसरमा राष्ट्रपति भण्डारीले थाहा आन्दोलनका प्रणेता, सामाजिक चेतना र जागरण अभियानका अभियन्ता रूपचन्द्र विष्टको कर्मस्थलमा आएर उनले स्थापना गरेको स्कुलको स्वर्ण महोत्सवमा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । उनको कर्मथलोलाई थाहा अभियानसँगजोडेर थाहा नगरपालिका नामकरण गरेकामा प्रशंसासमेत गरिन् ।

राष्ट्रपति भण्डारीले ठूलो ढुंगामा कालिगढहरूले खोपेर आलु र किसानले हलो जोतेको आकृतिसहितको स्तम्भ र कृषि प्रयोगशाला भवनको उद्घाटन गरेकी थिइन् । कृषि कर्मको आम्दानीबाट पाँच दशकदेखि स्थापना र सञ्चालन हुँदै आएको मकवानपुरको उत्तरी क्षेत्रको उक्त विद्यालयको परिसरमा स्वर्ण महोत्सवको अवसरमा आलु र किसानले हलो जोतेको आकृतिसहितको स्तम्भ निर्माण गरिएको थियो ।

उक्त अवसरमा विद्यालयका संस्थापक अध्यक्ष स्व.झलकचन्द्र विष्ट, विद्यालयका पूर्वप्रधानाध्यापक तुलसी थापा र पूर्वशिक्षक शिवराज ढकाललाई सम्मानपत्र प्रदान गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजीव स्याङतानको अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रममा प्रतिनिधिसभाका सांसद विरोध खतिवडा, प्रदेश सांसद कुमारी मोक्तान, थाहा नपाका मेयर लवशेर विष्ट र प्रधानाध्यापक सानोभाइ कार्कीले बोलेका थिए । २०२५ सालमा स्थापना भएको उक्त विद्यालय मकवानपुरको उत्तरी क्षेत्रको पहिलो हो भने जिल्लाको तेस्रो माध्यमिक विद्यालय हो । उक्त विद्यालयमा १ हजार ३ सय विद्यार्थी अध्ययनरत छन् ।

कान्तिपुरबाट

प्रतिक्रिया