काठमाडौं २५ माघ / त्रिभुवन विश्वविद्यालयले अन्य सबै संकायको स्नातक तहलाई चार बर्से बनाए पनि मानविकी संकायमा लागू हुन सकेको छैन। विदेशी मुलुकका शैक्षिक संस्थासँग सहजै समकक्षता निर्धारण गर्न भन्दै त्रिविले चार बर्से स्नातकको योजना ल्याएको हो।
बर्र्सैपिच्छे विद्यार्थी आकर्षण घट्दै गएको, विषय तथा विभागसमेत धेरै भएको र सबै विषयको पाठ्यक्रम बनाउन खर्चिलो हुने भएका कारण मानविकीको स्नातकलाई चार बर्से बनाउन कठिन भएको त्रिविले जनाएको छ। धेरै विषय भएका कारण सबैलाई चार बर्से बनाउन पाठ्यक्रम पनि धेरै डिजाइन गर्नुपर्ने र सोहीअनुसार जनशक्ति वृद्धि गर्नुपर्ने भएकाले समस्या देखिएको मानविकी तथा सामाजिक शास्त्र संकायका डिन प्राध्यापक डा. शिवलाल भुसालले बताए। उनका अनुसार मानविकी संकायअन्तर्गत अहिले ४० भन्दा धेरै मुख्य विषय छन्। केन्द्रीय विभाग मात्र दुई दर्जन छन्।
‘एउटा विषय पढ्दा त्यसअन्तर्गत अनिवार्य र ऐच्छिक गरी न्यूनतम पाँच वटा थप विषय पढ्नुपर्छ। यस हिसाबअनुसार ४० वटा मुख्य विषयका लागि ६ सय थप विषय तीन बर्से स्नातकमा पढ्नुपर्छ। यति धेरै विषय अन्य संकायमा छैन’, भुसालले भने, ‘हामी कहाँ विषय धेरै, विद्यार्थी थोरै भए। विद्यार्थी थोरै भएका विषयलाई हटाउन पनि तत्काल सम्भव छैन। सबै विषयलाई यथावत् राखेर पाठ्यक्रम बनाउँदा विद्यार्थी आउँदैनन् कि भन्ने डर एकातिर छ भने खर्चिलो पनि हुन्छ।’
अहिले त्रिविका ३० वटा आंगिक र तीन सय सम्बन्धनप्राप्त क्याम्पसमा मानविकी तथा सामाजिकशास्त्र संकायका विभिन्न विषय पढाइ भइरहेको छ। चार बर्से बनाउने सम्बन्धमा आन्तरिक छलफल भइरहे पनि निर्णय भएको छैन। ‘अहिले स्नातकोत्तर तहलाई सेमेस्टरमा पढाउने विषयमा ध्यान केन्द्रित गरेका छौं। त्यसपछि स्नातकबारे अध्ययन गर्नेछौं’ भुसालले भने, ‘अर्को वर्षसम्ममा कुनै न कुनै विषयलाई चार बर्से बनाउँछौं।’
त्रिविले सबैभन्दा पहिला चिकित्सा र इन्जिनियरिङअन्तर्गत पढाइ हुने स्नातकलाई चार वर्षे बनाएको थियो। त्यसपछि स्नातकअन्तर्गत नै विज्ञान, व्यवस्थापन र गत वर्षदेखि मात्र शिक्षाशास्त्र संकायको पढाइ चार बर्से बनाएको थियो।
अन्नपूर्ण पोष्टमा सूर्यप्रसाद पाण्डेले लेखेका छन् ।
प्रतिक्रिया