काठमाडौं २६ माघ / वन्यजन्तुको स्वास्थ्य व्यवस्थापनसम्बन्धी विषयलाई विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरी दक्ष प्राविधिक जनशक्ति तयार गरिने भएको छ ।
यसै साता चितवनमा सम्पन्न ‘बाघ, एसियाली गैंडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी क्षेत्रीय कार्याशाला’ ले त्यस्तो संकल्प गरेको हो । कार्यशालाले युवा पुस्तालाई वन्यजन्तुको संरक्षण र स्वास्थ्य व्यवस्थापनका क्षेत्रमा आकर्षित गर्न क्षेत्रीय तथा अन्तर्राष्ट्रिय स्तरमा वन्यजन्तुको क्षेत्रमा कार्यरत संघसंस्थाबीच सशक्त साझेदारी सञ्जाल स्थापना गर्नेसमेत घोषणा गरेको छ ।
ठूला वन्यजन्तुमा देखिएका विविधखाले रोगबारे बहस गरी समाधानका उपाय खोज्न गएको साता नेपालसहित अमेरिका, रूस, बेलायत, थाइल्यान्ड, चीन, भारत, इन्डोनेसिया, अस्ट्रेलिया, पाकिस्तान, मंगोलिया म्यान्मार, भियतनाम लगायत १३ मुलुकका ८७ जना चितवनमा भेला भएका थिए । राष्ट्रिय निकुञ्ज विभाग, कृषि तथा वन विज्ञान विश्वविद्यालय, राष्ट्रिय प्रकृति संरक्षण कोषको अमेरिकी सहयोग नियोगको यूएस फिस र वन्यजन्तु सेवा, विश्व वन्यजन्तु कोषको हरियो वन कार्यक्रम, जुलोजिकल सोसाइटी अफ लन्डन, नेपालले संयुक्त रूपमा कार्यशाला आयोजना गरेका हुन् ।
कार्यशालाले बाघ, गैंडा र हात्तीको चिकित्सा विज्ञानसम्बन्धी ९ बुँदे घोषणपत्र जारी गरेको छ । घोषणापत्रमा भविष्यमा ती ठूला वन्यजन्तुहरूको स्वास्थ्य व्यवस्थापनमा मार्ग प्रशस्त गर्ने उल्लेख छ ।
उक्त कार्ययशालाले वन्यजन्तुमा देखिएका रोग निदान गर्न कृषि तथा वन विश्वविद्यालय, पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायअन्तर्गत छुट्टै वन्यजन्तु स्वास्थ्य व्यवस्थापन विभाग गठन गर्ने संकल्प लिएको सहभागी वन मन्त्रालयको जैविक विविधता तथा वातावरण महाशाखा प्रमुख डा.महेश्वर ढकालले बताए । ‘देशविदेशमा स्थापित वन्यजन्तु अध्ययन/अनुसन्धान केन्द्रमा वन्यजन्तु चिकित्सकहरू तथा वन्यजन्तु अधिकारीलाई तालिम र अवलोकन भ्रमणका अवसरसमेत मिलाइनेछ,’ ढकालले भने, ‘निकुञ्ज विभागअन्तर्गत उल्लेख्य संख्यामा पशु चिकित्सक र पारा भेटेरिनरियनको दबरन्दी सिर्जना गरिनेछ ।’
कार्यशालाले बिरामी वन्यजन्तुको हेरचाह तथा रोगहरूको पहिचान र निदानका लागि विभिन्न निकाय र संस्थाको सहयोग लिई चितवन निकुञ्जअन्तर्गत एक सुविधा सम्पन्न वन्यजन्तु अस्पताल निर्माण गर्ने घोषणासमेत गरेको ढकालले उल्लेख गरे । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका अनुसन्धान अधिकृत बाबुराम लामिछानेका अनुसार राष्ट्रियस्तरमा वन्यजन्तुको स्वास्थ्य व्यवस्थापनमा संयोजनकारी शैलीमा काम गर्न कृषि तथा वन विश्वविद्यालय, पशु सेवा विभाग, वन विभाग र राष्ट्रिय प्रयोगशालाबीच समन्वय र साझेदारी स्थापना गर्ने घोषणासमते भएको छ । यस्तै, तत्कालीन तथा भावी अध्ययन/अनुसन्धान प्रयोजनका लागि वन्यजन्तुको कुनै पनि उपलब्ध भौतिक नमुना संकलन र संरक्षण गर्दै वन्यजन्तुको स्वास्थ्य व्यवस्थापन रणनीति र त्यसको कार्यान्वयन संयन्त्र तयारका लागि पहल गर्ने प्रणसमेत गरिएको छ ।
कान्तिपुरमा शिव पुरीले लेखेका छन् ।
प्रतिक्रिया