काठमाडौं २६ माघ / सिराहको मिर्चैया नगरपालिकास्थित ब्रह्मचारी दामोदरानन्द कलेजमा पठनपाठन अस्तव्यस्त बनेको छ । नियमित पठनपाठन नभएको भन्दै बुधबार विद्यार्थीले क्याम्पसमा तोडफोड गर्नुका साथै तालाबन्दीसमेत गरे । तालाबन्दीका कारण बिहीबार पठनपाठन ठप्प भयो ।
‘सबै विद्यार्थी पढ्न भनेर क्याम्पस आएका थिए’, बीबीएस दोस्रो वर्षका विद्यार्थी रविन साहले भने, ‘तर, प्राध्यापकहरूले पढाउन मान्नुभएन, हामी सबै घर फर्किन बाध्य भयौं ।’
प्राध्यापकले समयमा तलब नपाएको भन्दै पढाउन नमानेको उनले सुनाए । ‘कुनै पनि प्राध्यापकले समयमा तलब पाएका छैनन्’, उनले भने, ‘कतिपयले त १५ महिनादेखि पनि तलब नपाएका रहेछन् । त्यसैले उहाँहरू रुष्ट हुनुहुन्छ । क्याम्पस आए पनि पढाउनमा ध्यान दिनुहुन्न ।’
बीबीएस तेस्रो वर्षमा अध्ययनरत दीपेश मण्डलले क्याम्पस प्रमुखको लापरवाही कारण विद्यार्थीको भविष्य बिग्रिन लागेको आरोप लगाए । सात महिनादेखि क्याम्पसमा नियमित पठनपाठन नभएको गुनासो उनले गरे । भने, ‘कहिले दुुई त कहिले तीन विषय मात्र पढाइ हुन्छ ।’
उनका अनुसार नियमित सबै विषय पठनपाठन गराउन क्याम्पस प्रमुखसँग पटक–पटक आग्रह गरे पनि कुनै वास्ता गरेका छैनन् । ‘सबै विषय पढाइ हुँदैन भनेर मंगलबार पनि क्याम्पस प्रमुखसँग गुनासो गरें । उहाँले बिहीबार बसेर छलफल गर्ने भन्नुभयो’, उनले भने, ‘तर, उहाँ (क्याम्पस प्रमुख) क्याम्पस नै आउनुभएन । त्यसपछि बाध्य भएर हामीले तालाबन्दी ग¥यौं ।’
क्याम्पसका प्राध्यापक पनि क्याम्पस प्रमुखकै लापरवाहीका कारण पठनपाठन प्रभावित बनेको गुनासो गर्छन् । प्राध्यापक रामसेवक महराले १५ महिना काम गर्दा दुई दिनअघि मात्र चार महिनाको तलब पाएको सुनाए । भने, ‘क्याम्पस प्रमुखले हामीलाई न समयमा तलब दिनुहुन्छ न त क्याम्पसमा गुणस्तरीय शिक्षा दिने विषयमा छलफल गर्नुहुन्छ ।’
क्याम्पस प्रमुख सञ्जयकुमार साहले किन तालाबन्दी भयो भन्ने विषयमा आफू जानकार नरहेको प्रतिक्रिया दिएका छन् । क्याम्पसमा सधैं सबै विषय पढाइ हुने गरेको दाबी गर्दै उनले तालाबन्दीकै कारण बिहीबार पठनपाठन नभएको सुनाए । प्राध्यापकलाई समयमा तलब नदिएको विषयमा उनले भने, ‘त्यो कुरा प्राध्यापकहरूसँगै सोध्नुस् । उहाँहरूलाई नै थाहा होला ।’
अन्नपूर्ण पोष्टमा सन्तोष यादवले लेखेका छन् ।
प्रतिक्रिया