काठमाडौं १४ फागुन / दुई सातापछि केन्द्रीय क्याम्पसका प्राध्यापक र कर्मचारीले सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा लगाएको ताला खोलेका छन् ।
तर, आंगिक क्याम्पसका प्राध्यापक तथा कर्मचारीले लगाएको ताला भने यथावत् छ ।
आइतबारको छलफलमा विश्वविद्यालयसँग २० बुँदे सहमति भएपछि केन्द्रीय क्याम्पसका प्राध्यापक तथा कर्मचारीले आन्दोलन फिर्ता लिएका हुन् ।
विश्वविद्यालय सुधार समितिका संयोजक वीरबहादुरसिंह ठकुरीले मागप्रति पदाधिकारी सहमत भएपछि आन्दोलन फिर्ता लिएको बताए ।
सहमतिका बुँदा तत्काल कार्यान्वयन हुने बताउँदै उनले भने, ‘सहमतिका केही बुँदा नीतिगत छन्, केही व्यावहारिक र प्रशासनिक छन् । नीतिगत बुँदा कार्यान्वयन गर्न केही समय लाग्ला ।’
२० बुदे सहमति
पाठ्यक्रम निर्माण, पुनरावलोकन, शैक्षिक कार्यतालिका, अनुसन्धान कार्य, कर्मचारी वृत्ति विकास र तालिममा जोड दिने, अध्ययन बिदा दिने, विभिन्न परिषद् समिति–निकायलाई पूर्णता दिनेलगायत विषयमा सहमति भएको हो ।
त्यस्तै विज्ञान, व्यवस्थापन, मानविकी, इ–लाइब्रेरियन भवन, सभाकक्ष, छात्रावास, शिक्षक कर्मचारी आवास निर्माणका योजनालगायत विषय पनि सहमतिमा छन् ।
सहमतिमा विश्वविद्यालयका तर्फबाट उपप्रशासक गोविन्दवल्लभ पन्त र विश्वविद्यालय सुधार समितिका तर्फबाट संयोजक वीरबहादुरसिंह ठकुरीले हस्ताक्षर गरेका छन् ।
छलफलमा उपकुलपति डा. भूषण श्रेष्ठ, रजिस्ट्रार डा. द्विजराज भट्ट, विज्ञान तथा प्रविधि संकायका डिन डा. पूर्णबहादुर चन्द, मानविकी संकायका डिन डा. चन्दनसिंह बोहरा, व्यवस्थापन संकायका डिन पद्मकान्त जोशी, शिक्षाशास्त्र संकायका डिन गोविन्दसिंह विष्ट, इन्जिनियरिङ संकायका डिन डा. किशनदत्त भट्ट सहभागी थिए ।
आंगिक किन आन्दोलनमा ?
आंगिक क्याम्पस समायोजन संघर्ष समितिको तालाबन्दी यथावत् रहँदा विश्वविद्यालयको कामकाज प्रभावित बनेको छ ।
विश्वविद्यालय सभाले आंगिक क्याम्पसका सञ्चालक समितिले गरेका निर्णय कार्यान्वयन नगर्ने प्रस्ताव पारित गरेपछि उनीहरू आन्दोलनमा छन् ।
संघीय सरकारले गत पुसमा १५ वटा क्याम्पसलाई सुप विश्वविद्यालयको आंगिक क्याम्पस बनाउन दरबन्दीका लागि बजेटसमेत विनियोजन गरिसकेको छ ।
तर, विश्वविद्यालय सभाको निर्णयले त्यहाँ कार्यरत केही प्राध्यापक, कर्मचारीले अवकाश पाउने अवस्था आएको छ ।
नयाँ पत्रिकामा मोहन विष्टले लेखेका छन् ।
प्रतिक्रिया