काठमाडौं १८ फागुन / प्रत्यक्ष जनसहभागिता र संलग्नतामा पुस्तकालय सञ्चालन गर्दै आएको ग्रामीण शिक्षा तथा विकास (रिड) को मोडललाई उत्कृष्ट अभ्यास ठहर गर्दै पश्चिम अफ्रिकाको आइभोरी–कोस्टले पनि सिको गर्ने भएको छ । यसअघि यो मोडलअनुसार भारत र भुटानमा पनि पुस्तकालय सञ्चालन हुँदै आएको छ ।
सगरमाथा क्षेत्रको पदयात्रामा आएकी अमेरिकी नागरिक एन्टोनिया न्युवार (टोनी) ले आफ्नो भरियाको आग्रहअनुसार सन् १९९१ जुलाईमा सोलुखुम्बुको जुनबेंसीमा पहिलो सामुदायिक पुस्तकालय खोलेपछि अभियानका रूपमा अघि बढाएकी थिइन् । अहिले यस्ता पुस्तकालयको संख्या ४२ जिल्लामा ६६ पुगिसकेको छ । ‘हामी निकै उत्साही छौं,’ रिड नेपालकी राष्ट्रिय निर्देशक सञ्जना श्रेष्ठले कान्तिपुरसँग भनिन्, ‘सहभागितामूलक र आत्मनिर्भर पुस्तकालय सञ्चालनको नेपाली मोडल विश्वव्यापी रूपमा सिको गर्ने अभियान बनेको छ ।’ रिडले सन् २००७ मा भारतका विभिन्न राज्यमा २७ वटा र २००८ मा भुटानका ९ वटा समुदायमा आत्मनिर्भर पुस्तकालय स्थापना गरिसकेको छ । यो मूल्यांकनका आधारमा अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्डेलिज इन्टरनेसनलको स्वतन्त्र छनोटमा परेर यो वर्ष रिड नेपाल पश्चिम अफ्रिका पुगेको हो ।
चकलेट निर्माणमा आवश्यक कच्चा सामग्री ‘कोकोआ’ उत्पादनका लागि विश्वभर चिनिएको आइभोरी–कोस्ट (कोटे डेल्भोयर) का ग्ली र टोला पछौटे जातीय समुदायमा ‘सहभागितामूलक पुस्तकालय कार्यक्रम’ सुरु गरिँदै छ । आइभोरी–कोस्टले ‘कोकोआ’ उत्पादनमा अफ्रिकी मुलुकभर ३३ प्रतिशत हिस्सा ओगटेको छ ।
सन् १९६० सम्म फ्रेन्च उपनिवेश रहेको आइभोरी–कोस्टलाई पश्चिम अफ्रिकाकै ‘अशिक्षित र गरिब मुलुक’ भनेर चिनिन्छ । ‘विशेषत: कोकोआ उत्पादक कृषकले कुल गार्हस्थ उत्पादनमा पुर्याएको योगदानको सम्मान गर्न उनीहरूलाई थप आत्मनिर्भर बनाउन यो अभियान सुरु गर्न लागिएको हो,’ भर्खरै स्थलगत अनुगमनमा गएर आएकी कार्यकारी निर्देशक श्रेष्ठले भनिन्, ‘त्यहाँ खानेपानीको समेत संकट रहेकाले आत्मनिर्भर सीपको योजनामा ससाना बाइकबाट पानी बोक्ने, स्थानीय तहमा स्टेसनरी खोल्ने र स्वास्थ्य/शिक्षाका चेतनामूलक कार्यक्रम अघि बढाउने तय भएको छ ।’ आइभोरी–कोस्टमा सुरु हुन लागेको यो नमुना परियोजनाको अवधि एक वर्षको छ । पश्चिम अफ्रिकी यो ‘रिड मोडल रिप्लिका’ सञ्चालनमा तत्काल मोन्डेलिज इन्टरनेसनल र ज्याकब्स फाउन्डेसनले सहयोग गरेका छन् ।
रिड नेपालका पुस्तकालयले कहीं आफ्नै सटर भाडा (तेह्रथुम, जुम्ला, बाजुरा), कतै महिला सहकारी (नुवाकोट), सामुदायिक रेडियो (स्याङ्जा) तथा टेलिभिजन टावर, फोटोकपी मेसिन, एम्बुलेन्स आदिबाट सञ्चालन स्रोत जुटाइरहेका छन् । रिड नेपालका कार्यक्रम अधिकृत चीजकाजी श्रेष्ठका अनुसार रिडले आफ्नो ६६ औं पुस्तकालय सिन्धुपाल्चोक, ठोकर्पामा स्थापना गरेको छ भने गोरखाको ताकुकोटमा विशुद्ध नेपाली लगानी र सदासयतामा ६७ औं पुस्तकालय निर्माणाधीन छ ।
रिड नेपालको सहभागितामूलक कार्यक्रममा स्थानीय समुदायले भवन निर्माणका लागि आवश्यक जमिनसहित महिला अनिवार्य सहभागिता (३० प्रतिशत) र १५ प्रतिशत जनश्रमदान (खर्च) बेहोर्नुपर्ने नियम छ । अहिलेसम्म खुलेका रिड नेपालका ६० प्रतिशत पुस्तकालय आयआर्जनका हिसाबले दिगो देखिएका छन् । बाँकी नाफामा नभए पनि राम्ररी सञ्चालनमा छन् । रिड नेपालको अभियानलाई सन् २००६ मा बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनले ‘समुदाय परिचालनको विशिष्ट अभियान’ भनेर पुरस्कृत गरेको थियो । यसमा अहिले कतार फाउन्डेसन तथा दक्षिण कोरिया, जर्मनीसहितका मुलुकका संस्थाले स्रोतसाधन सहयोग गरिरहेका छन् ।
कान्तिपुरमा देवेन्द्र भट्टराईले लेखेको खबर ।
प्रतिक्रिया