Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
अन्तैवाट

जिल्लास्तरीय परीक्षा स्थानीय तहले लिने

शनिबार, १९ फागुन २०७४

काठमाडौं १९ फागुन / विगतमा शिक्षा कार्यालयले लिँदै आएको ८ कक्षाको जिल्लास्तरीय परीक्षा यो वर्षदेखि मकवानपुर र नुवाकोटका स्थानीय तहले नै लिने भएका छन् ।

परीक्षा सञ्चालन गर्ने तयारीमा उनीहरू जुटेका छन् । हेटाैंडा उपमहानगरपालिकाले चैत ८ गतेदेखि सञ्चालन हुने ८ कक्षाको परीक्षा व्यवस्थित ढंगले सञ्चालन गर्न हेटौंडा उपमहानगरपालिका १८ का वडाध्यक्ष एवं सामाजिक विकास विभागका संयोजक अनिल बानियाँलाई जिम्मेवारी दिएको छ । परीक्षा समितिको संयोजक बानियाँलाई तोकिएको हो । प्रश्नपत्र तयारी गर्ने काम भइसकेको समितिले जनाएको छ । हेटौंडा उपमहानगरपालिकामा ८ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ४ हजार ६ सय २५ रहेको छ । यसैगरी, जिल्लाको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकाले ८ कक्षाको परीक्षा लिन प्रश्न पत्र तयार गरिसकेको जनाएको छ ।

‘नगरपालिकाले परीक्षा सञ्चालनका लागि वडाध्यक्ष किरण बलको संयोजकत्वमा परीक्षा समिति बनाएको छ,’ कार्यकारी अधिकृत हरिलाल पुरीले भने, ‘परीक्षाको तयारी अन्तिम चरणमा पुगिसकेको छ ।’ त्यसैगरी इन्द्रसरोवर गाउँपालिकाले पनि थाहा नगरपालिकासँग ८ कक्षाको परीक्षाको प्रश्नपत्रका लागि सहकार्य गरेको छ । थाहा नगरपालिकाका ८ कक्षामा परीक्षा दिने विद्यार्थीको संख्या ८ सय रहेको छ भने इन्द्रसरोवरमा २ सय ३९ परीक्षार्थी छन् ।

यसैगरी मनहरि गाउँपालिकाले पनि ८ कक्षाको परीक्षाको तयारीका लागि वडाध्यक्ष साधुराम अधिकारीको संयोजकत्वमा परीक्षा समिति गठन गरेको छ । समितिले परीक्षाको तयारी गरिरहेको गाउपालिका अध्यक्ष एकराज उप्रेतीले बताए । विगतमा शिक्षा कार्यालयले जिल्लास्तरीय रूपमा नै एउटै प्रश्नपत्र तयार पारेर परीक्षा लिने गरेको थियो । प्रश्नको मोडेल एउटै भए पनि प्रश्नहरू फरक हुने शिक्षा अधिकारी बद्रीनाथ भट्टराईले बताए । ‘परीक्षामा शिक्षा कार्यालयले समन्वय र सहजीकरणको काम गर्ने छ ।’ उनले भने । जिल्लाका सामुदायिक र संस्थागत गरेर ८ कक्षामा १० हजार ५ सय ९२ विद्यार्थी छन् । स्थानीय तहले परीक्षा सञ्चालन गरे पनि परीक्षा मिति एउटै छ । चैत ८ गतेदेखि ८ कक्षाको परीक्षा सुरु हुनेछ ।

यसैगरी, नुवोकोटमा पनि जिल्लास्तरीय परीक्षा यस पटकदेखि स्थानीय तहले नै लिने भएको छ । त्यसका लागि स्थानीय निकायले परीक्षा सञ्चालन समिति गठन गर्न थालेका छन् । स्रोत व्यक्तिको संयोजकत्वमा परीक्षा सञ्चालक समिति गठन गर्न लागिएको सूर्यगढी गाउँपालिकाका कार्यकारी अधिकृत उत्तम खतिवडाले बताए । ‘तयारी गर्दै छौँ,’ उनले भने, ‘बसेर बैठक निर्णय गर्छौँ ।’ सूर्यगढी गाउँपालिकामा ३० वटा विद्यालय छन् । अहिलेको कक्षा ८ आधारभूत विद्यालय हो ।

त्यसैगरी, बेलकोटगढी नगरपालिकाले पशुपति लोहनीको संयोजकत्वमा नगर शिक्षा समिति बनाइएको छ । नगरमा १३ वटा वडा छन् । प्रत्येक वडामा ९ सदस्यीय परीक्षा समिति गठन गरेर कक्षा ८ को परीक्षा लिइने बेलकोटगढी नगरपालिका उपमेयर कविता ढुंगानाले बताइन् । बेलकोटगढी नगरपालिकामा ५३ स्कुल छन् । नगरले यही चैत ८ गतेबाट परीक्षा सञ्चालन गर्ने जनाएको छ । शिक्षा विभागले दिएको २३ बुँदे निर्देशनअनुसार जिल्लास्तरीय कक्षा ८ को परीक्षा स्थानीय तहलाई सञ्चालन गर्न दिएको छ । यसअघि कक्षा ८ को जिल्लास्तरीय परीक्षा शिक्षा कार्यालय आफैंले लिने गरेको थियो । विद्यार्थीलाई दिने सर्टिफिकेटमा गाउँपालिका वा नगरपालिकाको छापलगाउनुपर्ने भएकाले उनीहरूलाई परीक्षा सञ्चालनको जिम्मेवारी दिएको शिक्षा कार्यालयलेजनाएको छ ।

शिक्षा अधिकारी चन्द्रबहादुर खड्काले भने, ‘त्यसैले कक्षा ८ को परीक्षा स्थानीय तहलाई दिने भएको हो ।’ यसबाट स्थानीय तहमा थप जिम्मेवारी थपिएको छ । जिल्लामा ४ सय ५० सामुदायिक र ७५ निजी विद्यालय छन् । तीमध्ये ७१ वटा आधारभूत विद्यालय पर्छन् । अहिले जिल्लामा ६ हजार विद्यार्थीले कक्षा ८ को परीक्षा दिँदै छन् । जिल्लामा विदुर र बेलकोटगढी नगरपालिका छन् भने १० गाउँपालिका छ । सुरुमा गाउँपालिकाले शिक्षाको उक्त निर्णय भार पर्ने भनेर पन्छिन खोजिएका थिए । शिक्षा विभागको २३ बुँदे निर्णयपछि स्थानीय तहका पदाधिकारी परीक्षा सञ्चालन गर्न सहमत भएका हुन् । गापामा शिक्षासम्बन्धी योजना निर्माण गर्ने कर्मचारीको अभाव रहेको भन्दै परीक्षा सञ्चालन गर्नबाट पन्छिनखोजेका थिए ।

कान्तिपुरमा प्रताप विष्ट र कृष्ण थापाले लेखेका छन् ।

प्रतिक्रिया