Edukhabar
शुक्रबार, ०६ भदौ २०८२
अन्तैवाट

महन्थ र क्याम्पसबीच जग्गा विवाद : ‘फर्जी कागज बनाएर अढाई बिघा हडप्न खोजियो’

शुक्रबार, २५ फागुन २०७४

काठमाडौं २५ फागुन / जनक हजारी विद्यापीठको अढाई बिघा जमिन रत्नसागर मन्दिरका महन्थ वैकुण्ठदास वैष्णवले फर्जी कागज बनाएर हडप्न खोजेको क्याम्पस प्रशासनले आरोप लगाएको छ ।

विद्यापठिका प्राचार्य विजय चौधरीले बिहीबार पत्रकार सम्मेलन गरी २०५० देखि क्याम्पसको भोगचलनमा रहेको जनकपुर ८ स्थित सिट नम्बर १३५४/१४ को कित्ता नम्बर ६२ को २ कठ्ठा ११ धुर र सिट नम्बर १३५४/१५ को किता नम्बर १,२, २८ तथा ४९ को २ बिघा ८ कठ्ठा १४ धुर जग्गा महन्थ दासले फर्जी कागज बनाएर बिक्री गर्न खोजेको आरोप लगाए । विद्यापीठ नेपाल संस्कृत विश्वविद्यालयको आंगीक क्याम्पस हो ।

साबिक नापीमा गुठी संस्थान अधिनस्त वराही कुटीका नाममा रहेको जमिनसँगै सडक पश्चिमको समेत ६ बिघा ३ कठ्ठा ५ धुर जमिन २०५० जेठ १३ को मन्त्रिपरिषदको निर्णयअनुसार केन्द्रीय गुठी संस्थानले विद्यापीठलाई भोगचलन गर्न दिएको थियो ।

संस्थानले विद्यापीठलाई उपल्बध गराएको सडक पूर्वको अढाई बिघालाई व्यवस्थापनले तारबार गर्नुका साथै सडक छेउको दक्षिणतर्फ भौतिक संरचना पनि निर्माण गरेको छ । उच्च अदालत जनकपुरले निर्माण रोक्न आदेश दिएपछि कलेज प्रशासन हच्किएको थियो ।

प्राचार्य चौधरीले भने, ‘उच्च अदालतको आदेशपछि बल्ल हामी वास्तविकताको खोजी गर्न थाल्यौं । खोज्दै जाँदा रत्नसागरका महन्थले फर्जी कागजका आधारमा जग्गा आफ्नो नाममा गर्न लगाएका छन्, अनि नक्कली मोही पनि खडा गरेको थाहा पाएँ ।’ जनकपुर उप–महानगरपालिका ८ को दुवैतर्फ पक्की सडक रहेको यो जमिन धुरको १० लाख रुपैयाँमा बिक्री हुन्छ ।

विद्यापीठको भोगचलनमा रहेको सडक पूर्वको अढाई बिघाको विवाद भने नयाँ होइन । २०६८ सालमा पनि दासले गुठी कार्यालयका तत्कालीन प्रमुख राजाबाबु पाण्डे तथा मालपोत कार्यालयको मिलिमतोमा उक्त जमिन आफ्नो नाममा गराएका थिए ।

चौधरीका अनुसार त्यतिवेला विद्यापीठ प्रशासन तथा नागरिक समाजको पहलमा फर्जी लालपुर्जा बदर गराइएको थियो । मालपोत कार्यालय धनुषाले २०६९ असोज २४ गते टिप्पणी आदेशमार्फत रत्नसागर मठका नाममा जारी गरेको लालपुर्जा खारेज गरेको थियो । आदेशमा गुठी तैनाथीमा बराहीकुटी नामबाट स्रेस्ता पुर्जा तयार गरी दर्ता नवीकरणसमेत गरिदिने उल्लेख छ । ०४२/४३ को सहरी नापीमा गुठी संस्थान बराही कुटीका नाममा दर्ता रहेको त्यो जमिनलाई मालपोत कार्यालय धनुषाले फर्जी स्रेस्ता खडा गरी २०६८ मा मठका नाममा अर्को जग्गाधनी दर्ता स्रेस्ता बनाएको थियो । जसको संरक्षकमा महन्थ दासको नाम उल्लेख थियो ।

दासले पछिल्लो समय जग्गाधनी महलमा रत्नसागर गुठीको नाम तथा मोही महलमा आफ्नै मठका पुजारी अशोक शर्माको नाम उल्लेख गरी अर्को लालपुर्जा बनाएका छन् । गुठी कार्यालय जनकपुरका प्रमुख मनोज शर्मा त्यो जग्गा गुठी संस्थानको भएको बताउँछन् । शर्माले जग्गामा कसैको मोही कायम नरहेकोसमेत जनाए । रत्नसागर मन्दिरका महन्थ दासले जग्गा आफ्नो मठको नाममा रहेको र गुरुको मृत्युपछि आफू संरक्षक बनेको दाबी गरेका छन् ।

कान्तिपुरमा श्यामसुन्दर शशिले लेखेका छन् ।

प्रतिक्रिया