काठमाडौं १० चैत / पदमकुमार श्रेष्ठ एसईई परीक्षा दिनका लागि अरू विद्यार्थी जसरी नै परीक्षा केन्द्र पुगे । बिहीबार पहिलो दिन अंग्रेजी विषयको परीक्षा दिनका लागि ५५ वर्षीय यी विद्यार्थी अलि छिटै स्याङ्जा, पुतलीबजार १३ को मातृभूमि माद्यमिक विद्यालय केन्द्रमा पुगेका थिए ।
विद्यार्थी पोसाकमा आएका भए पनि नचिनेकाले उनलाई कसैका अभिभावक वा शिक्षक ठानेका थिए । परीक्षा सुरु भएर लेख्न बसेपछि मात्रै उनलाई धेरैले परीक्षार्थी भनेर चिने । परीक्षा दिइरहेका उनले आफ्नो हात ढिला चल्ने बताए । उनले भने, ‘अंग्रेजी गाह्रो लाग्यो ।’
उनले परीक्षा दिइरहेको केन्द्रको अनुगमनमा जिल्ला शिक्षा अधिकारी अम्बिका आचार्यसहितको टोली पुगेको थियो । भीरकोट नगर पालिका १ का श्रेष्ठ पेसाले होटल व्यवसायी र कालिका मावि झापाकोटका नियमिततर्फका विद्यार्थी हुन् । किशोरावस्थामा पढ्न नपाएको रहर पूरा गर्न उनी विद्यालय भर्ना भएका हुन् । ‘बुढेसकालमा भए पनि पढ्ने रहर मेटाउने हो,’ उनले भने, ‘व्यवसाय गरेर दिन काटेकै छु । छोराछोरीले पनि आफ्नो सुर गरेका छन्, पढ्ने र एसएलसी दिने सानैको इच्छा बल्ल पूरा हुने भयो ।’ एसईईमा सहभागी हुन पाउँदा उनी खुसी देखिन्थे । नातिनातिना सरहका विद्यार्थीसँगै उनले कक्षा ५ मा भर्ना भएर नियमित पढ्न थालेका हुन् । ‘पढेर मेरो जागिर खाने धोको होइन, क्याम्पस पनि पढ्ने रहर छ,’ उनले भने, ‘उमेर धेरै भएर फेरि पढ्न थाल्दा अनौठो लाग्नेरहेछ तर शिक्षाले जीवनशैली परिवर्तनको पाठ सिकाएको छ ।’
अरू विद्यार्थीको तुलनामा आफ्नो उमेर बढी भए पनि अध्ययनका लागि शिक्षक र सहपाठी विद्यार्थीबाट प्रेरणा मिलेको उनको भनाइ छ । ‘कक्षामा अन्य विद्यार्थीलाई नातिनातिना सरहको व्यवहार गरें, उनीहरूबाट पनि माया र प्रेरणा मिल्यो,’ उनले भने । सुरु–सुरुमा भर्ना भएर पढ्न थाल्दा केही संकोच लागेको भए पनि विस्तारै सहज भएको उनले बताए । पढाइ हुने विषयमध्ये आफूलाई अंग्रेजी र गणित गाह्रो लागेको उनको भनाइ छ ।
परीक्षा शान्तिपूर्ण
प्रदेश ४ का जिल्लाहरूमा एसईई परीक्षाको पहिलो दिन शान्तिपूर्ण रह्यो । धेरै जिल्लामा विद्यार्थी अनुपस्थिति भने बढेको छ । स्याङ्जामा ६ हजार ३७ परीक्षार्थीमध्ये बिहीबार १ सय ५२ जना अनुपस्थित भएको जिल्ला शिक्षा अधिकारी आचार्यले बताए ।
अनुपस्थित हुनेमध्ये ५४ एक्जाम्टेड र ९८ नियमित तर्फका छन् । ५३ छात्र र ८९ छात्रा अनुपस्थित भएका छन् । परीक्षामा २ हजार ८ सय ९७ छात्र र २ हजार ९ सय ५५ छात्रा सहभागी छन् ।
७७ अनुपस्थित
दमौली– यसपटकको एसईई परीक्षाको पहिलो दिन तनहुँमा ७७ परीक्षार्थी अनुपस्थित भएका छन् । जिल्लामा २४ परीक्षा केन्द्र रहेको जिल्लामा ६ हजार २ सय ७९ जनाले परीक्षा दिएको जिल्ला शिक्षा अधिकारी रुद्रहरि भण्डारीले बताए ।
यसपटकका परीक्षार्थीमा ३ हजार १ सय ६७ छात्रा र ३ हजार १ सय १२ छात्र छन् । नियमिततर्फ ६ हजार १ सय ३२, प्राविधिकतर्फ १ सय ३२ र एक्जाम्टेडतर्फ ९२ गरि जम्मा ६ हजार ३ सय ५६ ले एसईईको परीक्षाका लागि फारम भरेका थिए । यसपटक दुई स्थानीय तह ऋषिङ र घिरिङ गाउँपालिकामा परीक्षा केन्द्र परेनन् । त्यहाँका विद्यालयका परीक्षार्थीले पायक पर्ने अरू केन्द्रबाट परीक्षा दिइरहेका छन् ।
फरक क्षमताका १७
पोखरा– एसईई परीक्षामा कास्कीबाट ६ सुस्त श्रवण र ११ दृष्टिविहीनसहित फरक क्षमताका १७ परीक्षार्थी सहभागी भएका छन् । १० हजार ५ सय ५२ परीक्षार्थी रहेकोमा पहिलो दिन १ सय ८ जना अनुपस्थित भएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
५४१३ परीक्षार्थी
बागलुङ– पहिलो दिन बागलुङमा ५ हजार ४ सय १३ जनाले परीक्षा दिएको सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले बताए । परीक्षा दिनेमा २ हजार ३ सय ९३ छात्रा र १ हजार ९ सय ५० छात्र छन् ।
विशेष शिक्षातर्फ १२ बहिरा र १ दृष्टिविहीन परीक्षामा सहभागी छन् । प्राविधिकतर्फ १ सय ३८ विद्यार्थी सदरमुकामकै विद्यामन्दिर माविबाट परीक्षामा सहभागी छन् । उनीहरूमा कम्प्युटर, कृषि, भेटेरेनरी र सिभिल इन्जिनियरिङका विद्यार्थी छन् । परीक्षालाई मर्यादित बनाउन कुनै पनि विद्यालयका विद्यार्थीले आफ्नो विद्यालयमा परेको केन्द्रबाट परीक्षा दिन नपाउने व्यवस्था गरिएको छ । जिल्लामा ३१ परीक्षा केन्द्र छन् ।
परीक्षार्थीको संख्या घट्दो
लमजुङ– एसईई परीक्षा प्रणाली लागू भएपछि गत वर्षको तुलनामा यसपटक लमजुङमा परीक्षार्थी घटेका छन् । अनुपस्थित हुनेको संख्या पनि बढेको छ ।
परीक्षा केन्द्र १८ तोकिएको जिल्लामा यसपटक ३ हजार १ सय ८ परीक्षार्थीमध्ये पहिलो दिन ३ हजार ८८ जना सहभागी भए । २८ जना परीक्षा केन्द्र नै पुगेनन् । अनुपस्थित हुनेमा १३ छात्रा र १५ छात्र रहेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । नियमिततर्फका १३, जनविकास खुला ४ र ग्रेडवृद्धि (एक्जाम्टेड) का ११ परीक्षार्थी अनुपस्थित भएका हुन् ।
गत वर्ष ३ हजार ४ सय ८ परीक्षार्थी थिए । २३ जनाले परीक्षा दिएका थिएनन् । यसपटक नियमिततर्फ छात्रा १ हजार ५ सय २० र छात्र १ हजार ५ सय ६० परीक्षार्थी सहभागी छन् । नियमिततर्फ ३ हजार ४८, खुला ९ र एक्जाम्टेड २३ जना उपस्थित रहेको जिशिकाले जनाएको छ । जिशिअ गोपालप्रसाद कँडेलका अनुसार सामुदायिक ७९, संस्थागत १९, खुला १ र प्राविधिकतर्फका २ विद्यालयका विद्यार्थी परीक्षामा सहभागी छन् ।
कान्तिपुरबाट
प्रतिक्रिया