Edukhabar
विहीबार, ०५ भदौ २०८२
अन्तैवाट

अनशनरत शिक्षकको स्वास्थ्य अवस्था गम्भीर

शनिबार, १० चैत्र २०७४

काठमाडौं १० चैत / अस्थायी शिक्षकबीच नै विभेद गरेको भन्दै तीन दिनदेखि दुईजना अस्थायी शिक्षक काठमाडौंको भद्रकालीमा आमरण अनशन बसेका छन् । बारा कोल्वीस्थित नेपाल राष्ट्रिय प्राविका शिक्षक धर्मेन्द्र ठाकुर र नुवाकोट शिवपुरीको स्याउरीभूमि माविका शिक्षक नरबहादुर बस्नेत बुधबार बेलुकादेखि चारबुँदे मागसहित आमरण अनशन बसेका हुन् । उनीहरूको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ।

२३ चैतमा हुन लागेको अस्थायी शिक्षकको आन्तरिक परीक्षा तत्काल स्थगित गर्नुपर्ने, सम्पूर्ण अस्थायी र करार शिक्षकलाई आन्तरिक प्रतिस्पर्धाबाट प्रक्रिया पुर्‍याई स्थायी गर्नुपर्ने, उनीहरूको शतप्रतिशत सेवा अवधि गणना गर्नुपर्ने र सम्पूर्ण अस्थायी र करार शिक्षकलाई औषधि–उपचार खर्चको व्यवस्था गर्नुुपर्ने संयुक्त अस्थायी करार शिक्षक केन्द्रीय संघर्ष समितिले माग गर्दै आएको छ । समितिको मागलाई सम्बोधन गर्न जोड दिँदै शिक्षकद्वय आमरण अनशन बसेका हुन् ।

२ असोज ०७२ मा अस्थायी करारमा नियुक्त भएका शिक्षकलाई अरू अस्थायी शिक्षकसरह व्यवहार नगरेकाले आन्दोलन गर्नुपरेको अस्थायी शिक्षक संघर्ष समितिका महासचिव कुमोद कर्णले बताए । अनशनरत शिक्षकले माग पूरा नभएसम्म अनशन नतोड्ने बताए । शिक्षकहरूबीच नै विभेद गरेकाले राज्यले ठूलो मूल्य चुकाउनुपर्ने कर्णले चेतावनी दिए ।

सरकारले ०४९ सालदेखि ०६१ सालसम्मका शिक्षकलाई कुल ४० अंक ल्याए स्थायी हुने, यस्तै २२ साउन ०६१ देखि २ असोज ०७२ सम्म नियुक्त भएका शिक्षकले आन्तरिमक रूपमा ७५ प्रतिशत र खुलाबाट २५ प्रतिशत प्रक्रिया पुर्‍याएर स्थायी गर्ने व्यवस्था गरेको छ । शिक्षक सेवा आयोगका अनुसार हाल कार्यरत करिब २४ हजार अस्थायी शिक्षकमध्ये २३ हजार २ सय ८६ जनाले आन्तरिक परीक्षाका लागि आवेदन दिएका छन् भने बाँकी २५ प्रतिशत शिक्षकले आन्तरिक प्रतिस्पर्धा गर्नुपर्ने छ।
नयाँ पत्रिकाबाट

प्रतिक्रिया