Edukhabar
विहीबार, ०५ भदौ २०८२
अन्तैवाट

प्रविधिमा आधारित पद्धतिबाट पठनपाठन

बुधबार, १४ चैत्र २०७४

काठमाडौं १४ चैत / रसुवा जिल्लाको कालिका गाउँपालिकाभित्रका विद्यालयमा प्रविधिमा आधारित आधुनिक शिक्षण पद्धति सुरु भएको छ । सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर वृद्धिका लागि गाउँपालिकाका १७ वटा विद्यालयमा नयाँ प्रविधिको सुरुवात गरिएको हो। शैक्षिक सत्र सुरु हुने समय नजिकिँदै जाँदा विद्यालयहरूले यसको परीक्षण सुरु गरेका हुन्।

प्रविधि सञ्चालनका लागि आवश्यक पर्ने शिक्षण सामग्री विद्यालयहरूमा पुगिसकेको गाउँपालिका अध्यक्ष सीताकुमारी पौडेलले जानकारी दिइन्। प्रविधि प्रयोगमा ल्याउनका लागि गाउँपालिकाले १० लाख बजेट छुट्याएको छ।

नयाँ प्रविधि सुरु गर्नका लागि प्रतिविद्यालय १२ हजार रुपैयाँका दरले विद्यालयलाई रकम प्रदान गरिएको अध्यक्ष पौडेलको भनाइ छ। ‘सामुदायिक विद्यालयमा विद्यार्थीको संख्या निरन्तर घट्दै गएको छ,’ उनले भनिन्, ‘परम्परागत शिक्षण प्रविधिलाई सुधार नगर्ने हो भने सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउन मुस्किल हुन्छ।’

क्रियटिभ एजुकेसनको सफ्टवेयर प्रयोग गरेर शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न लागिएको कालिका हिमालय मावि स्रोत केन्द्रका स्रोत व्यक्ति बासुदेव लामिछानेले बताए। यो प्रविधि सञ्चालनका लागि सेन्सर भएको किताब र एलइडी टिभी प्रत्येक विद्यालयमा उपलब्ध हुने लामिछानेको भनाइ छ।

कक्षा १ देखि ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई घरमा पढ्नका लागि सेन्सर नभएको दुईवटा पाठ्यपुस्तकसमेत उपलब्ध गराइने उनले बताए। एक सेटमा १७ वटा किताब हुने उनले बताए। सफ्टवेयर प्रयोग गरेबापत विद्यार्थीले वार्षिक रूपमा एक हजार रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ।

पहिलो चरणमा १२ वटा विद्यालयलाई एलइडी टिभी र ५ वटा विद्यालयलाई शैक्षिक सामग्री प्रदान गरिने भएपनि नयाँ शैक्षिक सत्रबाट सबै विद्यालयले नयाँ प्रविधिबाट शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्नेगरी सामग्री उपलब्ध हुनेछ।

क्रियटिभ एजुकेसनको प्याकेजभित्र ६० वटा बालगीत, ३३ वटा भिडियो, २९ वटा कथा समेटिएका छन्। यो एजुकेसनको प्रयोगले शिक्षक तथा विद्यार्थीलाई अध्ययन अध्यापनमा सहज हुने विश्वास गरिएको छ । यस प्रविधिमा विद्यार्थीले ६ हजार शब्द थाहा पाउनेछन्।

चार–चार महिनामा शिक्षक र विद्यार्थीको परीक्षा हुनेछ। ‘यो प्रविधिको प्रभावकारिताबारे वर्षको तीनपटक शिक्षक र विद्यार्थी दुवैको परिक्षा हुन्छ,’उनले भने, ‘यसले शिक्षण प्रणालीमा धेरै परिवर्तन हुन्छ।’

कालिका गाउँपालिकामा बालविकासका २३ शिक्षकसहित एक सय ५१ शिक्षक कार्यरत छन्। गाउँपालिकामा रहेका १७ वटा विद्यालयमा दुई हजार तीन सय विद्यार्थी अध्ययनरत छन्।

नागरिकमा हिमनाथ देवकोटाले लेखेका छन् ।

प्रतिक्रिया