काठमाडौं - शिक्षा मन्त्रालयको योजना महाशाखा प्रमुखको जिम्मेवारी सहसचिव वैकुण्ठ अर्यालले पाएका छन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले मन्त्रालयमै अनुगमन महाशाखा प्रमुखका रुपमा कार्यरत अर्याललाई योजनाको जिम्मेवारी दिएका हुन् । मन्त्रालयका योजना निर्माण सहित दातृ निकायहरुसँगको समन्वय र समग्र शिक्षा सञ्चालनको मुख्य कार्य गर्ने महाशाखा भएकोले यहाँ मन्त्रीले आँफू अनुकुलका सहसचिवलाई नियुक्त गर्ने चलन छ ।
गोपालमान श्रेष्ठले सहसचिव डा. डिल्लिराम रिमाललाई योजनाको जिम्मा दिएका थिए । गत माघ २८ गते उनी निवृत्त भए सँगै महाशाखा नेतृत्व विहीन थियो ।
यस अघि माओवादी केन्द्रबाटै शिक्षा मन्त्री बनेका धनिराम पौडेलले पनि अर्याललाई नै योजनाको जिम्मेवारी दिएका थिए । अर्याल भन्दा सिनियर सहसचिवहरु हुँदा हुँदै पौडेलले गरेको नियुक्तिको विषयमा त्यतिखेर मन्त्रालय भित्र आलोचना भएको थियो । तर अर्यालले ११ महिना योजनाको नेतृत्व गरेका थिए । यस पटक पोखरेलको रोजाईमा फेरी अर्यालनै परेका छन् ।
२०५३ सालमा रुकुमबाट विद्यालय निरिक्षकका रुपमा सेवा प्रवेश गरेका अर्याल ०७१ सालमा सहसचिव भएका हुन् । क्षेत्रीय निर्देशकका रुपमा पोखरामा कार्यरत रहेका बेला अघिल्लो पटक पोखरेल शिक्षा मन्त्री हुँदा उनी शिक्षा विभागका निर्देशक भएका थिए ।
मन्त्री पोखरेलले अन्य सहसचिवहरुको समेत जिम्मेवारी हेरफेरको तयारी थालेको श्रोतले जनाएको छ । संघीयता अनुकुल मन्त्रालयको ढाँचा निर्माण गर्ने काम टुङ्गिनासाथ अन्य सहसचिवको जिम्मेवारी हेरफेर हुने छ ।
शिक्षा विभाग नरहने र तीन निकायलाई एउटै बनाएर राष्ट्रिय शिक्षा विकास केन्द्र निर्माण गर्ने प्रस्ताव तयार भएको छ ।
पढ्नुहोस् : शिक्षाका तीन निकाय खारेज गरी राष्ट्रिय शिक्षा विकास केन्द्र बनाइने
मन्त्रीपरिषद् बैठकबाट उक्त ढाँचा पारित हुनासाथ सहसचिवहरुलाई जिम्मेवारी दिने गरी मन्त्रीको सचिवालयले तयारी सकेको श्रोतले जनाएको छ ।
यसैविच मन्त्री पोखरेलले मन्त्रालयको प्रवक्ताको जिम्मेवारी पनि अर्याललाई नै दिएका छन् । मन्त्रालयको धारणा र निर्णय सहित अन्य जानकारी प्रवाह गर्नु प्रवक्ताको मुख्य जिम्मेवारी हो । यस पटक मन्त्री पोखरेलले मन्त्रालयका निर्णयलाई प्रवाह गर्ने निकायको जिम्मेवारी बहनको काममा समेत आफू अनूकुलका ब्यक्तिलाई नै रोज्नुलाई अर्थ पूर्ण रुपमा हेरिएको छ ।
यस अघि विगत ४ बर्ष देखि सहसचिव डा. हरीप्रसाद लम्साल मन्त्रालयका प्रवक्ता थिए । प्रवक्ताको जिम्मेवारीबाट अलग भएपछि उनले सञ्चारकर्मीहरुलाई ईमेल मार्फत् धन्यवाद ब्यक्त गरेका छन् ।
'प्रवक्ताको भूमिकामा रहदाँ मन्त्रालय र मलाई पुर्याउनु भएको सहयोग एवम् सदभाव प्रति म सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु' लम्सालले ईमेलमा लेखेका छन् 'अबका दिनमा पनि मन्त्रालय र नयाँ प्रवक्ताको भूमिकामा रहनु भएका योजना महाशाखाका सहसचिव श्री बैकुण्ठ प्रसाद अर्यालज्यूलाई विगतमा जस्तै सहयोग गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दै यसको लागि अनुरोध समेत गर्दछु ।'
प्रतिक्रिया