Edukhabar
विहीबार, ०५ भदौ २०८२
अन्तैवाट

दुर्गमका सामुदायिक विद्यालयमा अंग्रेजीमा पढाइ

सोमबार, १९ चैत्र २०७४

काठमाडौं १९ चैत / गुल्मी जिल्लाको दुर्गम क्षेत्रमा पर्ने सरस्वती माध्यमिक विद्यालय मुसीकोट नगरपालिका–१ थाम गुल्मीमा अंग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ। नगरपालिका भए पनि उक्त विद्यालय विकट क्षेत्रमा पर्ने गरेको छ। विद्यालयले आफ्नै मिहिनेतले १ देखि ८ कक्षासम्म अंग्रेजी माध्यममा पढाइ सञ्चालन गरेको हो। ८ वर्षदेखि अंग्रेजी माध्यममा पठनपाठन गराउँदै आइएको विद्यालयका प्रधानाध्यापक रोमाकान्त खरेलले जानकारी दिए। ‘अहिलेसम्म अंग्रेजी माध्यममै पढाउँदै आएका छौं, सफल पनि भएका छौं,’ उनले भने, ‘अभिभावकहरूको सहयोगले अघि बढ्न धेरै मद्दत मिलेको छ।’

१ देखि ८ कक्षासम्म १ सय ७० जना विद्यार्थी अध्ययनरत रहेको उनले जानकारी गराए। ‘गाउँमै अंग्रेजी माध्यममा पढाइ हुने भएपछि विद्यार्थीहरू निजी स्कुल जानुपर्ने बाध्यता आएको छैन’, खरेलले भने, ‘शिक्षक विद्यार्थी कुराकानी गर्दा पनि अंग्रेजीमै बोल्नुपर्ने भनेका छौं।’ गाउँमै दक्ष जनशक्ति उत्पादन गर्न २०६६ सालदेखि यस्तो व्यवस्था गर्दै आइरहेको उनले जानकारी दिए। कक्षा १० सम्म हाल २ सय ५० जना विद्यार्थी भर्ना भएका उनले बताए। आकस्मिक कामबाहेक विद्यार्थीहरू विद्यालयमा अनुपस्थित नहुने पनि खरेलले जानकारी दिए। ‘फाट्टफुट्टबाहेक विद्यार्थीहरू सबै भर्ना हुन्छन्’, उनी भन्छन्, ‘घण्टौं लगाएर भए पनि विद्यार्थी नियमित उपस्थित हुँदा शिक्षकहरूलाई हौसला मिल्ने गरेको छ।’ यसअघि दर्लिङ स्रोतकेन्द्रअन्तर्गत रहँदा विद्यालय केन्द्रमै नमुना र उत्कृष्टमा पर्ने गरेको समेत उनले जानकारी दिए।

आधा घण्टाको दूरीमा पाँच कक्षासम्म निजी विद्यालय सञ्चालन भए पनि अधिकांश विद्यार्थी यसै विद्यालयमा पढ्न आउने गरेका विद्यालयले जनाएको छ।

‘८ कक्षासम्म निजी स्कुलसरह छोराछोरी पढाउन पाउँदा धेरै खुसी छौँ’, शिक्षक अभिभावक संघका अध्यक्ष योगेन्द्र खरेलले भने, ‘दुर्गममा भए पनि गुणस्तरीय शिक्षा पाए हाम्रा सन्तानले।’ विगतका वर्षदेखि निजी स्कुलका विद्यार्थीलाई समेत फर्काएर यसै विद्यालयमा भर्ना गराएको उनले जानकारी गराए।

विद्यालयमा हाल १४ जना शिक्षक शिक्षिकाहरू कार्यरत छन्। निजी स्रोतबाट पाँच जना शिक्षक कार्यरत रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ। विद्यालयको आर्थिक व्यवस्थापन भने घाटामा रहेको समितिले जनाएको छ। कक्षा १ का विद्यार्थीबाट अभिभावकको सहयोगमा २ सय ५० र प्रतिकक्षा ५० रुपैयाँ थप गरी ८ कक्षासम्म रकम संकलन गर्ने गरेको विद्यालयले जनाएको छ। अभिभावकहरूबाट मासिक ४५ हजार रुपैयाँ रकम संकलन हुने गरेको छ। ‘तिहारमा देउसीभैलोबाट पनि रकम जुटाउछौँ’, व्यवस्थापन समिति अध्यक्ष गोकर्ण केसीले भने, ‘आर्थिक समस्याबाट गुज्रिए पनि अंग्रेजी माध्यमको पढाइ सञ्चालन गर्न रोकेका छैनौं।’ हरेक चौमासिकमा करिब डेढ लाख रुपैयाँ आर्थिक भार पर्ने गरेको विद्यालयले जनाएको छ।

शैक्षिक गुणस्तर वृद्धि गर्न अतिरिक्त क्रियाकलापमा जोड दिइने विद्यालय परिवार बताउँछ। प्रत्येक दिन ४ बजेपछि १५ मिनेट शिक्षक बैठक बस्ने गरिएको छ। दिनभरका कमीकजोरीका विषयमा गहन छलफल हुने गरेको प्रअ खरेलले बताए। विद्यालयमा निजीस्तरका विद्यालयले अपनाएका केही शैक्षिक अभ्यासको पनि नक्कल गरिएको छ। उत्कृष्ट विद्यार्थीलाई मासिक रूपमा पुरस्कृत गरिने गरिएको खरेल बताउँछन्। विद्यालयमा पौदीअमराई, च्यानडाँडा, थामडाँडा, कोटकोटेरीबाट विद्यार्थीहरू पढन आउँछन्। अभिभावकहरूको सल्लाह सुझावका लागि विद्यालयले अभिभावक भेलालाई विशेष प्राथमिकता दिएको छ।

गंगा खड्काले अन्नपूर्ण पोष्टमा लेखेको खबर ।

प्रतिक्रिया