Edukhabar
विहीबार, ०५ भदौ २०८२
अन्तैवाट

ओएसिस कलेजद्वारा गल्ती स्वीकार

विहीबार, २२ चैत्र २०७४

काठमाडौं २२ चैत / चितवन भरतपुरको ओएसिस मेडिकल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरले स्नातक तहको नर्सिङ कक्षा सञ्चालन गर्दा मापदण्ड नपुगेको स्विकारेको छ। मापदण्ड नै नपुगेको कलेजलाई सम्बन्धन दिने पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति भने सम्पर्कविहीन भएका छन्। ओएसिसले नर्सिङ काउन्सिलले तोकेको मापदण्ड नपुर्‍याई नर्सिङ कक्षा सञ्चालन गरेको खुलासा अन्नपूर्ण पोस्ट्ले गरेपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छानबिन सुरु गरेको छ। छानबिन क्रममा मन्त्रालयमा उपस्थित भएका कलेजका अध्यक्ष एवं प्रबन्धनिर्देशक मनोजकुमार चौधरीले आफूहरूबाट गल्ती भएको स्विकारेका थिए।

शिक्षा मन्त्रालय, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम शाखाका उपसचिव लक्ष्मीकुमार खड्कासँग कलेज अध्यक्ष चौधरीले गल्ती स्विकारेको स्रोतले बतायो। ‘हामीबाट गल्ती भएको छ। तपाईंहरू जे गर्ने हो, गर्नुहोस्’ चौधरीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘विद्यार्थीको भविष्य पनि हेरविचार गरी समस्या सल्टाउनुपर्‍यो।’ मन्त्रालय गएका नर्सिङ काउन्सिलका पदाधिकारीले भने मापदण्ड नै नपुर्‍याएको कलेजलाई सम्बन्धन दिएर त्रिभुवन विश्वविद्यालयले गल्ती गरेको बताएका थिए।

कलेजका अध्यक्ष र नर्सिङ काउन्सिलका पदाधिकारीबीच प्रारम्भिक छलफलपछि मन्त्रालयले विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासलाई सम्पर्कको प्रयास गरिरहेको छ। मन्त्रालयका प्राविधिक शिक्षा महाशाखाका सहसचिव सूर्यप्रसाद गौतमले शिक्षण संस्थालाई मान्यता दिने काम नर्सिङ काउन्सिलको भएको बताए।

तर, मापदण्ड पूरा नगरेको दाबी गर्दै काउन्सिलले कलेजलाई मान्यता दिएको छैन। काउन्सिलका पदाधिकारी पटक –पटक अनुगमनमा जाँदा पनि मापदण्ड पूरा नगरी कलेजले चारबर्से बीएससी नर्सिङ र तीनबर्से बीएनको कक्षा सञ्चालन गरिरहेको हो। काउन्सिलले तोकेको सर्त अनिवार्य रूपमा पूरा गर्ने सर्तसहित ०६९ सालमा कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन पाएको थियो। नर्सिङ परिषद् ऐन, २०५२ को दफा ९ अनुसार शिक्षण संस्थालाई मान्यता दिने अधिकार काउन्सिलको हो।
उपकुलपति सम्पर्कविहीन हुँदा प्रक्रिया रोकियो

कलेजलाई सम्बन्धन दिने पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दास सम्पर्कविहीन हुँदा कलेजलाई कारबाही गर्ने प्रक्रिया नै रोकिएको छ। शिक्षा मन्त्रालय, प्राविधिक महाशाखाका सहसचिव गौतमले पटक–पटक सम्पर्क गर्दा पनि उपकुलपतिको फोन नउठेको बताए। उनले अन्नपूर्ण पोस्ट्सँग भने, ‘पटक—पटक सम्पर्क गर्दा पनि फोन उठाउनुभएको छैन।’

उपकुलपति सम्पर्कविहीन भए पनि कलेजमा अध्ययन गरिरहेका ७० भन्दा बढी विद्यार्थीको भविष्य झन् अन्योलमा परेको छ। कलेजबाट बीएससी नर्सिङ गरेका दुई विद्यार्थी शोभा अर्याल र तनुजा श्रेष्ठले नाम दर्ता ९लाइसेन्स ० परीक्षामा सहभागी हुन पाएका छैनन्। मान्यता नपाएको कलेजबाट उत्तीर्ण भएकालाई नाम दर्ता परीक्षामा सहभागी गराउन नमिल्ने अडान काउन्सिल बोर्ड बैठकले गरेको छ। कलेजले मंगलबार प्रेस विज्ञप्ति प्रकाशन गरी सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षणको माग गर्दै विद्यार्थीको भविष्य सुनिश्चित गर्न आग्रह गरेको छ। कलेजबाट पास गरेका विद्यार्थीलाई लाइसेन्स परीक्षामा सामेल गराउन र काउन्सिलले कलेजलाई परामर्श दिने विश्वास गरेको विज्ञप्तिमा जनाइएको छ।

यसअघि, कलेजले मापदण्ड नपुर्‍याएको काउन्सिलको स्थलगत निरीक्षण टोलीले प्रतिवेदन दिएको थियो। ०७० पुस २१ गते काउन्सिलले विश्वविद्यालयलाई पत्राचार गरी सो जानकारी गराएको थियो। सोको बोधार्थ कलेजलाई समेत गराइएको थियो। काउन्सिलले पुनः २०७१ असोज १२ मा पनि ओएसिस कलेजलाई मान्यता दिन नसकिने पत्र पूर्वाञ्चल विश्वविद्यालयलाई गराएको थियो। तर, कलेजले विद्यार्थी भर्नासम्बन्धी सूचना प्रकाशन गरेपछि काउन्सिलको बोर्ड बैठकले तेस्रो पटक विश्वविद्यालयसँग जानकारी माग गर्दै पत्राचार गरेको थियो।

मापदण्ड नपुर्‍याएकोले कारबाहीका लागि सिफारिस गर्ने निर्णय गर्दै ०७२ साल पुस २९ गते विश्वविद्यालयलाई जानकारी गराइएको थियो। तर, विश्वविद्यालयले सोबारे बेवास्ता गरेको काउन्सिलले जनाएको छ। काउन्सिलको बोर्ड बैठकले ओएसिसमा अध्ययनरत विद्यार्थीको व्यवस्थापन गर्न ०७३ साल असोेज ७ गते पनि पत्राचार गरेको थियो। तैपनि, विश्वविद्यालयले अटेर गरेको थियो।

काउन्सिलका अध्यक्ष गोमादेवी निरौला श्रेष्ठ र रजिस्ट्रार लक्ष्मी राईले मौखिक जानकारीसमेत उपकुलपति दासलाई गराएका थिए। उपकुलपति दासले अटेर गरेको जानकारी भएपछि शिक्षामन्त्री गिरिराजमणि पोखरेलले पनि यसबारे चासो दिएका छन्। उनले स्वकीय सचिवमार्फत सम्पर्क गर्ने प्रयास गरिरहेको स्रोतले बतायो।

अन्नपूर्ण पोष्टमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया